३० श्रावण २०७७ शुक्रबार
कला

सम्झनाका दियो कहिल्यै ननिभ्ने घाम रहेछन्

पाँच मुक्तक

राजबाबु श्रेष्ठ ‘सागर’

 

गाउँहरू मासेर मेरा शहर बनाउँछन् उनीहरू ।

बेचेर  मेरा नदीहरू नहर बनाउँछन् उनीहरू ।

गाउँका साँढे जति सबैलाईै खसी पारेर यहाँ

कुकुर र स्याललाई  बहर बनाउँछन् उनीहरू ।

 

सम्झनाका  दियो  कहिल्यै  ननिभ्ने  घाम  रहेछन् ।

मुटुमा बसेपछि कहिल्यै  मेट्न नसकिने नाम रहेछन् ।

बाटाघाटाका मन्दिरको के अस्तित्व भयो र हजुर !

मनमन्दिरभित्र बस्ने मान्छे पो सीता र राम रहेछन् ।

 

मलाई जलाउने आगोले तेरो घमण्ड पनि जलाउँछ ।

भूकम्पले मेरो झुपडी त के तेरो महल पनि ढलाउँछ ।

सावधान ! नथुक कसैले महलबाट मेरो झुपडीलाई

हेर्दै गर ! कोइलाले सुन त के पाषाण पनि गलाउँछ ।

 

जुन  जोगी आए  पनि रहेछन् सबै कानै चिरेका ।

कुनै यस्ता प्वाल रहेनछन् जहाँ सर्पहरू नछिरेका ।

बाघको  राज्यमा  बसी  रमाउँदैछन्  बाँदरहरू

राख्दैन हिसाब कलमले जन्तुहरूले कर नतिरेका ।

 

कोहीकोही यहाँ पुस्तकालयमा  गीता बेच्छिन् ।

मजबुरीले  होला आफ्नै  छोरी  सीता बेच्छिन् ।

दलित फूलमाया पहिला मन्दिरमा फूल बेच्थिन्

दिएन बेच्न फूल अहिले उनी अस्मिता बेच्छिन् ।

प्रकाशित: १७ श्रावण २०७७ १७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App