सिम्माको गुराँस सपना
आफ्नै शिरैमाथिबाट
उडि गएको जहाजसँगै
पाखा, पर्वत, समुद्र नाघ्दै
मनचरी भुरुरु उडेर
आफ्नो प्यारो मान्छे
हर्केपा भेटी सक्दा नसक्दै
सिरीसे डाँडाको चिसो बतासले
झसङ्ग झस्किन्छे सिम्मा र
बजाउन थाल्छे पिपीरी
विलिम्सी पात चुँडेर
‘मैजस्तो दुःखी त्यो सूर्यमुखी फुलेछ लर्केर
बिरानो देशमा गयौ नि प्यारा चाँडै आऊ फर्केर...’
सिम्मा कति बजाउँछौ पिपीरी पात ?
खै तिम्रो बिनायो मुर्चुङ्गा
खै हेम्बारी, सेकुमारी बुङ
खै तिम्रो पोल्टाको भूmलो चक्मक् ?
जसले बिगतको इतिहास सम्झाउँथ्यो
जसमा विचारको आलोक सल्कन्थ्यो
सिम्मा, विगतको विरासत बिर्सिएर
तिमी समयको त्यो मोडमा उभिएकी छौ
जहाँ, मदनलाई भोट पठाएर
विरह गाउँथिन मुनाहरू
युगौंदेखिको यो सिलसिला
अनवरत चलिरहेछ यसरी नै
जसरी, गुञ्जिरहेछ पिपीरीको धून
काफल पाक्यो चरीको क्रन्दन
वीऊ छर–वीऊ छर चरीको आह्वान
को–हो, को–हो कोइलीको प्रश्न ?
सिम्मा उता हर्केपाहरू
आगोको फिलुङ्गासँग
पौठेजोरी खेल्दै
कल्पिन्छन् घर, गोठ र आँगनहरू
स्निग्ध हिमाल र हिमालजस्तै
आमाको ममता
कपिलको कहरमा कुँजिएर
आँसुको सितनसित चबाइरहेछन्
खस्रो खब्बुस्हरू
सिम्मा एउटा मुटु दुई फक्ल्याँटो पारेर
हुरीले तछारेको सिमल झैँ
आशाको लट्टाई समातेर
उडाइरहेछौ सपनाको चङ्गा
उमार्दै भस्मे भरि गुराँस
जो तिम्रो अनुहार जस्तै रातो छ
र फुल्नुछ रातै गुराँस ।
०००
किरातीम्मा बोजु
मानव उद्गम थलो
मेहेन्जोदारो हरप्पा
सिन्धुघाँटी सभ्यता
अलाप्दै मुन्धुमी ऋचा
बोजु कसरी रचायौ ?
थि, आराखाको प्रयोगशाला
र बनायौ मर्चा ?
कुन–कुन जडीबुटी कहाँ–कहाँ पाइन्छ ?
कुन जडीलाई कुन अन्न चाहिन्छ ?
बोजु कसरी पत्ता लायौ
यस्तो अचुक औषधी
जसले कुहिन्न अन्न
बदलिन्छ अर्कै रुप
बोजु न गयौ विद्यालय
न पढ्यौ रसायनशास्त्र
कसरी रोप्यौ कपास
कसरी लायौ तान
कसरी बुन्यौ खाँडी
कसरी जान्यौ ज्ञान
बोजु, उपभोक्तावादी बजारमा
कसले खोज्ने तिम्रो इतिहास
मेडम क्यूरी अमर बनिन्
जित्नेको घोडा हो इतिहास
इतिहासमा बाँचिरहन्छन्
हार्नेहरू मेटिँदै जान्छन्
समयको भेलहरूमा
तर बाँचेकै छ एउटा प्रश्न
बोजु किन रोइरहेछ
नदी किनारमा थिबिप्मा चरा ।
०००
छिमेकी
एउटै आकाश ओढेर
एउटै धर्तीको विछ्यौना विच्छ्याएर
एकै कुवाको पानी पिएर
हामी हुर्कियौं सँग–सँगै
हामी अर्थात् मेरो छिमेकी
उसँग मेरो वेंशी, टारी, घरवारी जोडिएको छ
तर उसँग मेरो मन जोडिएको छैन
म अनवरत सद्भावको भाव पालिरहन्छु
ऊ हरदम कपट पालेर कुटिलता मुस्कुराउँछ
मेरो दुःखमा दुःखी भएजस्तो
मेरो सुखमा खुसी भएजस्तो
सुदामाको अभिनयमा
खुर्किरहन्छ मेरो कलेजोका किनारहरू
लाययित ऊ आतुर छ
मौकामा चौका शकुनी दाऊ हान्न
ढुकिबस्छ मेरो गल्ली र गल्छेँडो
गोहो पहिल्याउँदै कदमहरूको
एक झप्को लोलाउनु हुन्न
मेरो खेतको आली तास्न थाल्छ ऊ
मेरो पूर्खाले आर्जेको भूमि
र साँध किल्ला
उखालेर मास्न थाल्छ ऊ
ऊ मान्छे हो कि भोको अजिंगर ?
उघारेर सुरसा मुख
पल्टिरहेछ गौंडा ढुकेर
हेर्दा–हेर्दै निल्यो घुमाउने खेत
निल्न खोज्दैछ फेरि लिपुलेक कालापानी
कदापी सहन्न म
छिमेकीको मिचाहा प्रवृत्ति
बस्, खुट्टा टेक्नुछ दह्रोगरी
ठड्याएर स्वाभिमानी शिर
लाएर सान खुँडा, खुकुरीमा
गाउनुछ स्वतन्त्रताको गीत ।
०००
अचेल गाउँमा गाउँ छैन
अचेल गाउँमा गाउँ छैन
सहर पसेको छ
तराई झरेको छ
मुग्लान तरेको छ
खेतमा खमार खला छैन
वस्तुको गोठ थला छैन
दुधेरोमा ओलन छैन
टोलममा मोही छैन
डालो र फुर्लुङ छैन
पिरा र गुन्द्री छैन
अचेल गाउँमा गाउँ छैन ।
थुन्चे र पेरुङ्गो छैन
कचिया र कर्द छैन
दुना र टपरी छैन
सिन्की र गुन्द्रुक छैन
चुक, मह, चुर छैन
अचेल गाउँमा गाउँ छैन
गाउँ–गाउँमा डेरी छ
चाउचाउ र बिस्कुट छ
पेप्सीकोला, रेडबुल छ
टुवोर्ग, ह्वीस्की, ब्रान्डी छ
सबैकुरा रेडीमेड छ
मुस्कान पनि कृतिम छ
व्यवहारमा निश्छल, हार्दिकता छैन
अचेल गाउँमा गाउँ छैन ।
पटुकी, चोली, फरिया छैन
ढुङ्ग्री, बुलाकी, तिलहरी छैन
चन्द्रहार, रेजी, कलली छैन
कछाड, अस्कोट, ज्वारीकोट छैन
राडी, पाखी, काम्लो छैन
डोको, घुम, भुने छैन
ढिकी, जाँतो, घट्टा छैन
गुलेली, भाला, लिसो छैन
कोक्रो, पानस, सोते छैन
अचेल गाउँमा गाउँ छैन
गाउँबाट गाउँ हराएपछि
मनबाट मन विरानो छ ।
प्रकाशित: १२ श्रावण २०७७ ०३:१० सोमबार