२३ असार २०८१ आइतबार
image/svg+xml
कला

सिमसिमे पानीमा ... !

साइकल–दुनियाँ

सुयोग मान सिंह बस्न्यात  

कक्षा–६

विद्या संस्कार विद्यालय

(चेल्सी इन्टरनेश्ल एकेडेमी स्कूल)

गोकर्णेश्वर–८, काठमाडौं ।  

लकडाउनले गर्दा लामो समयदेखि घरमै नजरबन्दमा परियो ।  झन् परीक्षा सकिएपछि मामा घर जाउँला, नयाँनयाँ ठाउँमा घुमौंला, रमाइलो गरौंला भन्ने अनेक यस्ता योजना र इच्छाहरू थियो मनमा । तर कोरोनाको त्रासले गत चैत्र महिनाको ११ गतेबाट लकडाउन सुरु भयो । त्यसपछि सबै सपना चकनाचुर भयो । अनि परियो घरमै नजरबन्दमा । फुर्सद भयो कि साइकलमा यताउता गर्नुपर्ने मान्छे म । लकडाउनको अवधिभरि न कतै हिंड्न पाइयो ? न त कुनै साइकलयात्राको कार्यक्रम नै हुन सक्थ्यो ? लामो समय घरमा कोचिनु पर्दा उकुसमुकुस भयो । ठूलो सकसमा परियो । कोठाबाट निस्केर टाढामा आँगन र घर वरपरको बारीसम्म जान पाइन्थ्यो । वैशाखको केही दिन ठूलो बाबा, बाबाहरूसँग मिलेर बारी खन्ने अनि मकै छर्ने काममा रमाइयो त्यसपछि फेरी उस्तै । जब असार महिना आयो । लकडाउन अलि खुकुलो भयो । अनि थन्किए माकुराले जाली लगाएको, खिया परेर बसको साइकलले पुनर जीवन पाउन थाल्यो । अनि आफूभन्दा साना भाइबहिनी साथ लिएर घर नजिककै यता उता साइकलमा रम्न थालें । त्यतिकैमा एक दिन बाबाले “कोरा हुने भएछ ! तिम्रो नाम पनि दर्ता गरिसकें ।” भन्नुभएको सुनेर म मा खुशीको सिमा रहेन ।

कोरा बौद्धमार्गीहरूले प्रचलनमा ल्याएको शब्द हो रे । जसको अर्थ बौद्ध, चैत्य, स्तुपा आदि जस्ता तीर्थस्थलको परिक्रमा गर्नु हो रे । त्यसैले कोरा साइकलयात्रामा पनि हिन्दू बौद्ध मठमन्दिर, स्तुपा आदि घुमेर साइकलयात्रा सम्पन्न गरिन्छ । नेपालमा विशेष गरी काठमाडौंमा साइकलयात्रीहरूको लागि कोरा एक प्रकारको उत्सव नै हो । सुरुका दिनमा कोरा काठमाडौंमा मात्र सीमित थियो । दुईतीन वर्ष यता देशको विभिन्न ठाउँमा कोराको आयोजना हुन थालेको छ । यस वर्ष  झन् झापा, नेपालगंज, जुम्ला लगायतको ठाउँमा पनि कोराको आयोजना भएको खबर सुन्नमा आयो ।

कोरनाको महामारीले गर्दा यसपालाको कोरा अघिल्लो वर्षहरू भन्दा अलि फरक थियो । सन् २०१५ देखिको मेरो अनुभवमा योभन्दा पहिलाको कोरा मंगलबजारको कृष्ण मन्दिर परिसारबाट सुरु हुन्थ्यो । अन्त्यमा सबै सहभागीहरूलाई पदक लगाएर ससम्मान विदा गरिन्थ्यो । यसपल्ट आयोजकले नाम दर्ता गर्नेबाहेक सम्पूर्ण जिम्मा साइकलयात्रीमा नै छाडेको थियो । सकभर एक्लै यात्रा गर्नु । समूह बनाएर यात्रा गर्ने भए बढीमा १५ जना सम्मको समूह बनाएर यात्रा गर्न सकिने अनुमति थियो । बाँकी यात्राको मार्ग, दूरी तय गर्ने सम्पूर्ण अधिकार साइकलयात्रीलाई नै थियो ।

श्रावण ३ गते शनिबारको दिन बाबा र म काठमाडौं कोरा मनाउने भनेर बिहान ५ बजेतिर उठ्यौं । हामी उठ्दा झमझम पानी परिरहेको थियो । बाबा र म ६ बजे तयार भएर पानी रोकिने प्रतीक्षामा बस्यौं । बिहानको ८ बजिसक्दा पनि पानी रोकिने छाँट थिएन । उता विभिन्न ठाउँबाट बाबाको साथीहरूले फोन गर्न थाल्नुभयो । जसमध्ये बालकोटबाट सन्दिप अंकलले फोन गरेर उहाँको घरतिर ठूलो पानी परेर निक्लन नसकेको । तर साथीहरूचाहिँ उहाँलाई छोडेर हिंडेछन् । त्यसैले “तपाई र सुयोग कता जाने हो ? हिंड्ने बेलामा मलाई पनि खबर गर्नुहोला ।” भनेर फोन गर्नुभयो । बाबाले हुन्छ भन्नुभयो । हाम्रो पनि हालत उहाँको भन्दा खासै फरक थिएन ।

शनिबारदेखि हप्तैभरि पानी पर्छ भन्ने कुरा मैले अघिल्लो दिन नै सुनिसकेको थिएँ । जुन कुरा सम्झेर साइकल चढ्न नपाइने भो भन्ने लागेर मन खिन्न भयो । नौ बजेतिर पानी अलि कम हुन थाल्यो । यही मौका छोपेर बाबा र म घरमा कसैलाई पनि थाहै नदिई साइकल लिएर सुटुक्क निस्कियौं ।  

यात्राको क्रममा ठाउँठाउँमा सानोसानो समूह बनाएर कोराको मजा लिन हिंडिरहेको भेटिन्थे । कतिसँग सामूहिक फोटो खिचियो कतिसँग टाढैबाट अभिवादनमार्फत सद्भाव साटासाट गरियो । यसपल्ट बौद्ध पुग्दा त्यहाँको स्तुपा वरपर बसेका गाइड दाइहरूले हामीलाई छिटो जानु भनी लखेटे । हामी त्यहाँबाट समता स्कुलतिर लाग्यौं । स्कुल बन्द थियो । हामी गौरीघाट हुँदै पशुपतिनाथतिर अघि बढयौं । पशुपतिनाथमा पुग्दा लेखप्रसाद भट्ट अंकलहरूको एक समूह भेटियो । उहाँहरूसँग सामूहिक फोटो खिच्यौं । उहाँहरूले सँगै यात्रा गर्न निम्तो दिनुभयो । तर हाम्रो र उहाँहरूको गन्तव्य फरक थियो । हामी दक्षिण  पूर्व हुँदै पश्चिम यात्रा गर्दै थियौं । उहाँहरूचाहिँ उत्तर पूर्वा । ठ्याक्कै उल्टो । एकछिनको भलाकुसारीपछि हामी छुट्टियौं । हामी तिलगंगा, सिनामंगल, तिनकुने, काटेश्वर, हुँदै शंखमूलको शंखपार्कमा बसेर केहीबेर थकाइ मारेर हामी मंगलबजारको कृष्ण मन्दिर परिसर पुग्दा मलाई खल्लो लाग्यो । पहिलापहिला कोरामा देशीविदेशी गरेर हजारौं साइकलयात्रीहरूको चहलपहल हुने ठाउँ त्यस दिन भने उजाड थियो । शून्यजस्तै थियो । त्यहाँको ठूलो घण्टामुनि फोटो खिच्दै थियौं । त्यतिकैमा ६÷७ जना स्थानीय साइकलयात्रीहरू आइपुगे । केहीबेरको भलाकुसारीपछि हामी आफ्नो गन्तव्यतिर लाग्यौं ।  

विशेष गरी यसपल्ट जसले जहाँबाट यात्रा सुरु गरेर जहाँ यात्राको अन्त्य गरे पनि हुने । जति गरे पनि हुने भन्ने थियो । त्यसैले हामीले डाँडापाखाभन्दा पनि एकदुई ठाउँमा बाहेक प्रायः सुगम क्षेत्र राज्यौं ।

कोरा बारेमा प्रायः  मेरो मनमा एउटा कुरा खेलिरहन्छ त्यो के हो भने सबै कुरा नेपाली झल्किने अनि मितिचाहिँ किन विदेशी झल्कने ? किन होला कोरा २०७७ नभएर कोरा २०२० भएको ?

पानी त अघिल्लो वर्ष पनि परथ्यो  तर यसपल्टको जस्तो पूरै दिनभरि चाहिँ पर्दैन थियो । तर जे होस् सिमसिमे पानीमा कोरा भन्दै हामीले साइकल गुडायौं २०२० को साउने झरीमा ।  

प्रकाशित: ११ श्रावण २०७७ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App