२३ फाल्गुन २०७७ आइतबार
कला

कपाल काट्ने सेलिब्रेटी

फेशन टक

तस्बिर : कृष्पा श्रेष्ठ

हेयरस्टाइलिष्ट निलडेभिड कटुवालको वास्तविक नाम निलेन्द्र कटुवाल हो । झापामा जन्मिएका निलेन्द्र अहिले बाबुआमाले दिएको नामका कारण भन्दा आफूले आफैँलाई दिएको नामले चर्चित छन् । नेपालमा मात्रै होइन, भारतमा पनि निलडेभिड कपालको फेशनका लागि ब्रान्ड नाम हो । उनै निलडेभिडसँग पुष्पा थपलियाले गरेको फेशन टक :

तपाईंको नाम विदेशीको जस्तो कसरी भयो ?

डेभिड भएकाले होला धेरैले मलाई विदेशी सोच्छन् । अझै कति त अंग्रेजी र हिन्दी भाषामा अन्तर्वार्ता लिन आउनेहरु पनि छन् । एउटा घटना अझै पनि याद आउँछ, मैले पहिलो अन्तर्वार्ता दिएको थिएँ, समाचारपत्रको बिदुर गिरीलाई । उहाँले हिन्दी भाषामा प्रश्न सोध्नुभयो । मलाई अन्तर्वार्ता भनेको अंग्रेजी या हिन्दी भाषामा दिने रहेछ भन्ने लाग्यो र त्यहीअनुसारको जवाफ फर्काएँ । पछि उहाँले आप कहाँ रहनेवाले हे, भनेर सोध्दा झापा भनेको अनि मात्रै नेपालीमा कुरा गर्न सुरु गर्नु भो ।

मेरो नाम निलडेभिड हुनुका कारण मेरो गडफादर डेभिड हो । सुरुदेखि नै म फेशनप्रति आकर्षित थिएँ । अझैँ त्यो भन्दा अगाडि कलाकार बन्ने सपना थियो तर पछि आफैँलाई रियलाइज भयो कि रहर भए पनि कलाकार बन्न नसक्ने रहेछु । अनि एक्टरले लगाउने फेशन डिजाइनिङ कोर्स गर्छु भन्ने सोचेँ । जब १२ कक्षा पास गरेँ, फेशन डिजाइनिङ नै पढ्नका लागि विदेश जाने कोसिस गरेँ । लगातार सात ओटा देशले मलाई रिजेक्ट गरिदियो । मेरा साथीहरु सबै विदेश गए, नेपालमा म एक्लै भएँ । त्यही समयमा पासपोर्ट हराएका डेभिडलाई भेटेँ । उनी लण्डनका थिए । मैले धेरै दिन लगाएर उनलाई स्वदेश फर्कने वातावरण मिलाइदिएँ । त्यसबापत उनले मलाई पैसा दिएका थिए, त्यो मैले लिइनँ । 

हलिउड बलिउडको कुरा गर्ने हो भने, हेयर स्टाइलाई निकै जोड दिइएको पाइन्छ, हाम्रोमा भने गाउँको मान्छेले सहरको जस्तो हेयरस्टाइल, सहरको मान्छेले गाउँको जस्तो हेयरस्टाइल देखाइरहेको हुन्छ ।  

आफू आर्थिक रुपमा कमजोर हुँदा पनि विनास्वार्थ पाहुनालाई सहयोग गरेकाले उनी मबाट निकै प्रभावित भएछन्, र जुत्ता उपहार पनि दिएका थिए । उनी लण्डन फर्किए पनि हाम्रो कुराकानी कहिले ल्याण्डलाइन त कहिले चिठीबाट भइरहन्थ्यो । उनी पनि उता एक्लो रहेछन्, मलाई अंकल भन्नु पर्दैन, ड्याडी भने हुन्छ भने र मलाई छोरा बनाए । उनैले तिमी कुन देशमा पढ्न चाहन्छौ म पढाउन तयार छु, भनेपछि मैले भारतमा फेशन डिजाइनिङ पढ्छु भनेँ, उनी आफैँ आएर भर्ना गरिदिए ।  

फेशन डिजाइनिङ पढेँ भन्नुहुन्छ तर हेयरस्टाइलिष्ट भनेर चिनिनुहुन्छ नि ?

मैले रहरले फेशन डिजाइनिङ त पढेँ तर फेशन डिजाइनर भने बन्न सकिनँ ।  १८ महिना फेशन डिजाइनिङ पढेर मैले यसलाई छाडेँ र कपाल काट्ने पेशा अँगालेँ । घरमा त छोरा डाक्टर इन्जिनियर बनोस् भन्ने चाहन्थे, त्यसैमाथि मेरो बुवा त झन् प्रधानपञ्च हुनुहुन्थ्यो । एकपटक सिंगापुर जाँदा, म पनि कपाल काट्न त्यताको शैलुनमा गएको थिएँ । त्यहाँ, जेन्सहरुले लेडिजको कपाल काटिरहेको देखेँ ।  अचम्म लाग्यो । हाम्रा त ब्युटिपार्लरमा दिदीहरु कपाल काट्न जाँदासमेत हामीलाई बाहिरै राख्ने चलन थियो । त्यो देखेर नेपाल नै याद आयो । मैले पनि नेपालमा यसैगरी कपाल काटेर सोच परिवर्तन गर्छु । सुरुमा मैले लण्डनमा ड्याडलाई नै भनेँ । सुरुमा त कति चेन्ज गर्ने भनेर पनि भन्नुभयो अनि ल ठिक छ, दिस इज योर लाष्ट चान्स भन्नुभयो । कपाल काट्ने काम पनि सफल नभए झापामा गएर खेती गर्ने भन्ने सल्लाह पनि दिनुभयो । यो कुरा बुबालाई भन्दा उहाँ मान्नुभएन । 

हामी हेयर स्टाइलले फेशन बेचेर पेट पालिरहेका छौं । मेरा लागि फेसन बरदान हो, नेपाल मात्रै होइन, अन्य देशमा पनि मेरो नाम हेयरस्टाइलिष्टका रुपमा चिनिनु मेरा लागि निकै ठूलो कुरा हो ।

सम्झाउने बेलामा मैले हेयर स्टाइलिष्ट भनेको त डाक्टरहरु जस्तै हुन्छ भनेँ । उहाँले ल ठिक छ, यस्तो काम गर्ने भए, उतै गएर बस्नु भन्नुभयो । धेरै देशमा पुगेर मैले आफ्नो पढाइ पूरा गरेँ । मेरो तार्गेट त नेपाल नै थियो, त्यसैले काठमाडौं मलमा २ स्क्वायर फिट एरियामा मात्र मैले यो व्यवसाय सुरु गरेँ । अहिले इन्डियामा ३० ओटा र नेपालमा ३० ओटा त शैलुन मात्रै छ । त्यो बाहेक इन्टरनेसनल एकेडेमी पनि बनाएको छु, जहाँबाट धेरै विद्यार्थीलाई दक्ष जनशक्तिमा रुपान्तरण गरिसकेको छु । चीनमा पनि हाम्रो काम भइरहेको छ, यदि लकडाउन हुन्थेन भने हाम्रो फ्रेन्चाइजको उद्घाटन गरिसक्थ्यौं ।

अब तपाईंको नजरमा फेशन के रहेछ भन्ने पनि बुझौं न ?

सबैको दिमागमा फेशन भन्ने बित्तिकै नराम्रो सोचाइ राख्ने चलन छ । फेशन गरेको छ भन्यो भने बिग्रेको छ भन्ने सेन्समा लिन्छ नेपाली समाजले । छोटो लुगा लगाउने, बारमा जाने, चुरोट रक्सी खानेलाई फेशनका रुपमा लिइरहेका छन् तर त्यो गलत हो । फेशनकै कारण हाम्रो देश चिनिइरहेको हुन्छ । हामी हेयर स्टाइलले फेशन बेचेर पेट पालिरहेका छौं । मेरा लागि फेसन बरदान हो, नेपाल मात्रै होइन, अन्य देशमा पनि मेरो नाम हेयरस्टाइलिष्टका रुपमा चिनिनु मेरा लागि निकै ठूलो कुरा हो ।

फेशनमा हेयरस्टाइलको भूमिका कत्तिको रहन्छ ?

अहिले त हेयरस्टाइल फेशनको एउटा पार्ट हो । कम्प्लिट मेक ओभर गरेर मात्रै त्यो फेशन पनि पूरा हुन्छ । कम्प्लिट मेक ओभरमा सबैभन्दा ठूलो भूमिका हुने भनेकै हेयर स्टाइलको हो । कपालमा पहिले त धेरै ध्यान दिइँदैनथ्यो, अहिले भने उनीहरुले यसको महत्व बुझेका छन् । तपाईं आफैँ विचार गर्नुस् न, एउटा कपडा डिजाइनरले निकै सुन्दर लेहेंगा डिजाइन गर्‍यो, तर कपाल भने लथालिङ्ग छ भने त्यो सुन्दर लेहेंगाको केही अर्थ भयो र ? भएन नि । फेरि पूरा ब्राइडल मेकअप गरेको छ, कपाल पनि त्यस्तै स्टाइलको बनाएको छ तर लगाएको छ, हाफ पाइन्ट, सुहायो त, सुहाएन नि । त्यही भएर, विथ आउट हेयर स्टाइल फेशन फेशनै रहँदैन ।

हाम्रा नेपालीहरु हेयर स्टाइलको मामिलामा कत्तिको सजग छन् त ?

पहिलेको तुलनामा त निकै सजग छन् । तर हामीलाई भने गाह्रो छ । कतिलाई कस्तो स्टाइल बनाउने भन्ने थाहा हुँदैन, उक्त व्यक्तिको व्यक्तित्वअनुसार हेयर स्टाइल हामीले बनाइदिँदा उनीहरुलाई मन पर्दैन । एउटा घटना अहिले पनि याद आउँछ, एकजना महिला कपाल काट्न आउनुभयो । कत्तिको छोटो बनाउने भन्दा तपाईंको इच्छाले काटिदिनुस् भन्नुभो । मैले पनि उनको व्यक्तित्वलाई सुट गर्ने गरेर अलि छोटै कपाल बनाइदिएँ । पछि त उहाँ रोएर फकाउनै गाह्रो भयो । उनको आमाले बरु यत्तिको सुहाएको छ, मिलेको छ भन्नुभयो तर उनलाई सम्झाउन गाह्रो । त्यही भएर हामीले आफ्नो क्रिएटिभिटी देखाउन पाउँदैन । थोरै तलमाथि हुने बित्तिकै क्लाइन्टको मुड अफ भइहाल्छ । हेयरस्टाइलमा फ्रिडम हुन पाइँदैन । अझ कहिलेकाहीँ त गु्रपमा आउँछन् र एउटाले छोटो, अर्कोले लामो काट भन्छन् कस्को कुरा सुन्ने सुन्ने तनाव हुन्छ ।

तपाईं आफैँ पनि सेलिब्रेटी हेयरस्टाइलिष्ट । नेपालका सेलिब्रेटीहरुको हेयर स्टाइल पनि गर्नुभयो । अहिलेसम्म सबैभन्दा मन परेको काम कुन हो ?

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ बिरामी भएका कारण कपाल एकदमै झरेको थियो । ‘कहाँ भेटिएला’ फिल्म निर्माणको क्रममा उहाँ म भए ठाउँ आउनुभयो र कपाल ठिक गर्नका लागि भन्नुभयो । मैले करिब एक महिना लगाएर उहाँको कपाल निकै सुन्दर बनाएको थिएँ । त्यस्तो झरेको अनि नराम्रो कपाललाई म आफैँले यति सुन्दर बनाएको हो र भन्ने हुन्छ अहिलेसम्म । मेरो कामले गर्दा श्रीकृष्ण दाइ पनि निकै खुसी हुनुभएको थियो, यसो कार्यक्रमतिर जाँदा पनि उहाँले मेरो नाम लिने, निकै सम्मान गर्ने गर्नुहुन्थ्यो । सम्मानको कुरा किन गर्दैछु भने अहिले पनि मानिसको नजरमा मैले जति सम्मान पाउनुपर्ने थियो त्यति पाएको छैन । जेजस्तो भए पनि कपाल काट्ने मान्छे भनेर तल झारेरै हेर्ने, बोल्ने रहेछन् । एकचोटी टेलिभिजन अन्तर्वार्ताका लागि बानेश्वरमा रहेको इन्द्रेणी बेङक्वेटमा गएको थिएँ । त्यहाँ मेरै अगाडि लाइट म्यान होला सायद, यति धेरै इन्सल्ट गरेर बोल्यो नि, एकछिनसम्म त मेरो मुखबाट बोली फुट्नै सकेन । रेष्ट रुम गएर कुल हुनुपर्‍यो । अनि प्रश्न सोध्ने मान्छेले पनि यस्ता कुरालाई इग्नोर गर्नुपर्छ भनेर सम्झाउनुभयो ।  

कलाकारहरु हेयर स्टाइलमा कत्तिको सौखिन छन् त ?

खासै छैनन् । कार्यक्रम या पार्टीतिर जान परे मात्रै अलिकति मिहिनेत गर्छन् नत्र फिल्ममा खासै क्रिएटिभिटी देख्न सकिन्न । हलिउड बलिउडको कुरा गर्ने हो भने, हेयर स्टाइलाई निकै जोड दिइएको पाइन्छ, हाम्रोमा भने गाउँको पात्रमा सहरको जस्तो हेयरस्टाइल, सहरको मान्छेमा गाउँको जस्तो हेयरस्टाइल देखाइरहेको हुन्छ  । फिल्ममा अरुका लागि बजेट छुट्याए पनि हेयरस्टाइलका लागि बजेटै छुट्याइन्न । धन्न मेकअप गर्ने मान्छे भने ल्याउँछन्, यसैले चिम्टीसिम्टी लगाएर हेयर मिलाइदिन्छ । नामै लिने हो भने, करिष्मा मानन्धर दिदीले भने कपालमा पनि खर्च गरेको देखिन्छ ।

‘फेशन सो’हरुमा कत्तिको जानुहुन्छ ?

फेशन सोमा भन्दा ब्युटी प्याजेन्टहरुमा भने जजका लागि गइरहेको हुन्छु । त्यसमा पनि गुणस्तरमा त्यति ध्यान दिएको पाउँदिन । मान्छेहरुको संख्याको पछि, यो जात, त्यो जात भन्दै सुन्दरी प्रतियोगिता गरिरहेको मन पर्दैन । नेपालमा फेशन सो नाम मात्रैको हो । इन्डियामा टप डिजाइनर सेलेक्ट गरेर, उनीहरुको डिजाइन राखेर मात्रै फेशन सो गरिन्छ त्यही भएर हामीले अहिलेसम्म गरेका फेशन सोहरु फेशन सो हुनै सकेको छैन ।

फेशन गर्न रुचाउनेमा केटा भन्दा केटी धेरै हो ?  

हैन, अहिले त बराबर नै भइसक्यो । हामी पनि कम छैनौं । (हाँस्दै) अहिले त केटाले धेरै खर्च गर्छन्, आफूलाई अप टु डेट राख्नका लागि । केटीहरु त पछि पर्न थालिसकेका छन् । केटीको छनोट धेरै हुन्छ भने केटाको छनोट कम हुन्छ त्यही भएर त्यस्तो लागेको हुन सक्छ । जन्मेदेखि नै हामी छोराको भेराइटी नै छैन तर छोरीलाई टन्नै भेराइटी हुन्छ । केटीको एक्सपोज छ, हाम्रो छैन, फरक त्यत्ति हो । नेपालीको कुरा गर्ने हो भने, सेलिब्रेटीभन्दा आम मान्छे बढी फेशनेवल छन् । त्यही भएर एभ्री ह्वेर फेशन, एनी ह्वेर फेसन हो ।

सबैभन्दा धेरै फेशनेवल सहर ?

पोखरा, धरान, अहिले बुटवल, झापालगायतमा पनि फेशन उत्तिकै छ । गाउँगाउँमा पनि फेशन पुगिसकेको छ । सबै जमघट हुने भएकाले काठमाडौंलाई भने पहिलो नम्बरमा राख्नुपर्ला ।

तपाईंलाई मनपर्ने क्याजुअल, अफिसियल र पार्टी वेयरहरु के–के हुन् ?

घरमा बस्दा मलाई टिसर्ट र पाइन्ट लगाउनै मनपर्छ । पार्टीमा जाँदा भने इन्डोवेष्टन वेयरहरु मनपर्छ । पढाउन जाँदा भने कोट पाइन्टहरु नै लगाउँछु ।

कस्तो रंग मनपर्छ ?

सेतो र निलो

घडी गहनाहरु कत्तिको लगाउनुहुन्छ ?

अहिले मलाई घडी, मेटलहरु केही पनि लगाउन मन पर्दैन । त्यही भएर त्यस्ता कुरालाई खासै वास्ता गर्दिनँ ।

अनि कस्ता कुराहरु कलेक्सन गर्न मनपर्छ ? 

जुत्ता र चस्मा । अहिले सन ग्लास कलेक्सन गर्न छाडेँ तर जुत्ता भने जारी छ । पहिलेजस्तो २ सय, ३ सय छैन, त्यही २५ देखि ३० जोरसम्म होला ।  

ब्रान्ड कन्सियस कत्तिको हुनुहुन्छ ?

म पहिले त ब्रान्ड कन्सियस नै हो तर यो लकडाउनका लागि ब्रान्ड स्राण्ड केही हैन रहेछ भन्ने अनुभव गरिरहेको छु । फेरि, फेसनेवल कुराहरु ब्रान्डमा भन्दा नन्ब्रान्डमा पाइने रहेछ ।  

कुन–कुन ब्रान्ड प्रयोग गर्नुहुन्छ ?

जुत्ता एडिडस या नाइसको, पफ्र्युम पर्लको प्रयोग गर्छु । अरु भनेको मिक्स किन्छु । मेरो डिजाइनर हुनुहुन्छ भारतमा उहाँको कपडा लगाउँछु । म ब्रान्ड किन्छु तर पिक गरेर किन्छु । एउटै ब्रान्ड भन्ने छैन ।

ट्याटुहरु पनि बनाउनुभएको रहेछ ?

उमेरको कारणले होला । सबैले गरेको देखेर बनाइयो । अहिले भने यस्ता कुरामा इन्ट्रेष्ट छैन । त्यो बेलामा बनाइयो, खुसी थिएँ त्यतिखेर अहिलेसम्म नि ट्याटु बनाएकोमा दुःख लागेको छैन । एउटा पार्टीमा गएको बेला, टेम्पोररी बनाएको थिएँ, सबैले मन पराए, अनि बनाएँ । ट्याटु लभर पनि हैन, हेटर पनि हैन । 

प्रकाशित: १० श्रावण २०७७ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App