लक्ष्मण अर्याल
‘कागजपत्र पटक्क मिलेन मिलाएर ल्याउनुस् ।’ हाकिमले भन्यो ।
‘के मिलेन र सर, भन्दिनस् न मिलाएर ल्याउँछौं ।’— सेवाग्राहीले नरम मिजासमा सोध्यो ।
सुब्बाले कुरो उधारयो — ‘तपाईंहरू हामीलाई रेस्पोन्स नै गर्नुहुन्न । तपाईंको कागज मिल्दैन ।’
‘काम गर्नुपर्छ र गरिन्छ पनि । हामी कामकै लागि हौं तर तपाईंहरू कुरै बुझ्नुहुन्न । हाकिम साबले कसरी सही गर्ने पचास लाखको कागजमा ?’ — यसपल्ट पापी पेटका कारण न्यून वेतनधारी खरदार बोल्न विवश भयो ।
सेवाग्राहीले सोच्यो — आखिर यो अनुदान नै त हो । अनुदान अलिकति कम होला के फरक पर्छ र । प्राप्ति त हुन्छ नि ।’
अनि बोल्यो, ‘सर, हामी कहाँ घुम्ने ठाउँ छ, आइदिनुहोला । आउँदा यहाँहरूले अन्त बस्ने सोच्नुभएन । हामी स्वागतका लागि आतुर छौं । यही मेसोमा हामीलाई अनुगमन गर्दिनुस् ।’
लेखाप्रमुखले कागज पल्टाएजस्तो गरयो र भन्यो — ‘ठीक छ दर्ता गर्नुस् ।’
सेवाग्राहीको काम बन्यो । एक सातापछि हाकिमका जम्मो टोली अनुगमनका लागि कार्यालयमा आए । कार्यालयका हाकिम उही सेवाग्राहीले अनुगमन टोलीलाई धीत फुकाएर आतिथ्य प्रदान गरयो । आतिथ्यमा रातो खसी ढलेको र विदेशी सोमरसका बोतलहरू खुलेका जस्ता कुराहरू गौण भए । यी कुरा उठ्नु र उठाउनु भनेको अतिथि देवो भव भन्ने हाम्रो पारम्परिक विश्वासमा आघात हुन्थ्यो जुन हुन पाएन ।
अन्ततः सदाझैं यसपल्ट पनि काम लिन र मिलाउन जान्नेहरूले भ्रष्टाचार हुन दिएनन् ।
प्रकाशित: १० श्रावण २०७७ ०७:४४ शनिबार