१५ असार २०८१ शनिबार
image/svg+xml
कला

जीवन के हो नसोध्नु सानुमायालाई

कविता

रञ्जना थापा

सानो छिँडीको चिया पसल
सानो छानो भएको घर
जहाँ उनी पकाउँछिन् र बेच्छिन्–
चिया, मालपुवा, अन्डा र अरु के के।

अनि पकाउँछिन् आफैँलाई खान
सानो प्रेसर कुकरमा भात
छेवैमा छ मान्छेले पुज्ने देउता थान
तर उनी भन्छिन्–  
भगवान त मेरो हृदयमा छन्
यो पसल र त्यसले चर्चेको सानो परिधि
घर त स्वर्गमा छ रे।

सानुमायाको सानो संसार
र, उनको दार्शनिक उत्तर
सोध्ने मन थियो  
सानुमाया ! जीवन के हो ?
के हुन् तिमीले बाँचेका तमाम घामपानी र वर्षात्हरू
के माग्छन् मान्छेहरु देउतासँग
सोध्न धेरै प्रश्न थिए सानुमायासँग  
के यौवनमा तिमीले पनि
देउतासँग केही माग्यौ, कोही माग्यौ ?
सानुमाया !  
के तिमीले पनि आफ्नो सानो संसारको सपना माग्यौ ?
आफू बसेको घरलाई घर नभन्ने तिमी
नदेखिएको स्वर्गलाई घर बताउने तिमी
प्रश्न बग्रेल्ती थिए तर सोधिनँ
सानुमाया, जीवन के हो ?

प्रकाशित: १० श्रावण २०७७ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App