६ कार्तिक २०७८ शनिबार
कला

अस्तित्व

साहित्य

‘आकाश, आकाश...’

‘.....’

‘सुन न, आज मलाई एकछिन बाहिर जानु छ ।’

‘.....’

‘छोरा कसले हेरिदिन्छ ? भनन के ! प्लिज भन न !’

‘.....’

‘घर बस्दाबस्दा वाक्क  भैसकेँ म ।... म पनि त मान्छे हुँ ! मलाई पनि त घुम्न मन लाग्छ ! सपिङ गर्न मन लाग्छ । साथीभाइहरुसित घण्टौँ गफ गरेर बरालिन मन लाग्छ । आफ्नो खुसीको लागि केही गर्न मन लाग्छ ।’

‘....’

‘आकाश भनन । म कसरी मिलाऊँ समय ? मलाई रेखा दिदीको डान्स प्रोगाम हेर्न मन छ क्या ! जम्मा तीन घण्टाको मात्र त हो !’

‘....’

‘आज त मलाई जानै छ बुझ्यौ । हेर त आकाश, रेखा दिदीलाई परिवारका सबैले कत्ति साथ दिएका छन् ! छोराछोरी, घरपरिवार, सासू–ससुरा, देवर, नन्द अनि श्रीमान्ले पनि सघाइरहेका हुन्छन् । तिनीहरु त देशविदेश पनि गइरहेका हुन्छन् ।’

‘.....’

‘आखिर मभन्दा धेरै पढेको पनि हैन ! कस्तो राम्रो भाग्य ! आफू खुसी आफ्नो चिनारी बढाउँदै अघि बढिरहनु भएको छ । आकाश सुन न !’  

‘....’

मैले पनि त नर्सरीबाट मास्टर्स गरुञ्जेल धेरै सपना देखेँ होला । मेरो पनि त धेरै इच्छा–आंकाक्षा थिए होलान् तर कहिल्यै आफ्नो इच्छा जाहेर गरेकी थिइनँ । पाँच वर्ष भयो यही घर संसारमा आमाबाबाले भन्नुभएझैँ हाँसीखुशी जीवनयापन गरिरहेकी छु । आज एक दिन रेखा दिदीको प्रोगाम हेर्न मन लाग्यो क्या !’

आकाशले खै कुन्नी के बुझ्यो उसले केही बोल्न मुख खोल्न आँट्यो ।

‘मलाई थाहा छ, अब तिमी के भन्छौ । थाहा छ, अफिस नगएर बाबु हेरी बसौं भन्छौ । बूढी आमा जो आफैँलाई स्याहार्न सक्नुहुन्न, उहाँलाई बाबु जिम्मा दिऔँ ? यो तिम्रो घर हो, तिम्रो आफ्नै तरिकाले काम चलाउ, सहयोग चाहिए माग भन्छौ । मलाई के पनि थाहा छ भने तिमीले आजदेखि अफिस जान्नँ, घरै बस्छु, तिमी अफिस जाऊ, कमाएर ल्याऊ, खुशीसाथ घर स्याहार्छु, छोरा र आमालाई हेर्छु । मलाई त्यसमा कुनै आपत्ति छैन । तिमी नै सोल्युसन निकाल भन्छौ तिमीले ।’

आकाश फन्किँदै कोठाबाट बाहिर निस्कियो । कोठाबाहिर निस्कँदा ढोका जोडले ढप्काउँदाको आवाजले बाबु आत्तिएर रुन थाल्यो । अञ्जलीले बाबुलाई काखमा लिई र छोरालाई नर्मल बनाउन काउलो पार्दै हँसाउँदै भान्सातिर गई ।

सासू–बुहारीको आँखा जुध्यो । सासू निर्मलाले लोग्ने–स्वास्नीको कुरा सुनिरहेकी थिइन् । निर्मलालाई अञ्जली कहिल्यै पनि गलत लागिन । त्यसैले छोराबुहारीको झगडामा कहिले अगाडि परेर आकाशको पक्ष लिइनन् । बुहारीका माग पनि उनलाई जायज नै लाग्थ्यो । पढेलेखेकी घरकै पर्खालभित्र अडिनुपर्ने अवस्थाले गर्दा उसको क्षमता कुँजिएको छ भन्ने उनलाई नलागेको होइन । अञ्जलीले नातिलाई भुल्याउन थालेको देखेपछि भने निर्मलालाई अलि सन्तोष भयो ।

‘तिमी कता जान खोजेकी ?’ निर्मलाले अञ्जलीलाई सोधिन् र केही सम्झेझैँ गरी भनिन्, ‘जाऊ घुम । रमाइलो गर । एक डेढ घण्टाले त मलाई पनि त्यति गाह्रो पार्दैन नि ! फेरि आज त ऊ पनि छिटो आउला ।’

अञ्जलीको अनुहारको कृतज्ञताको भाव दौडियो र मुस्कुराउँदै भनी, ‘हजुर कस्तो मनकै कुरा बुझ्ने ! यु आर सो स्वीट ! बाबुलाई सुताउँछु र निस्किन्छु नि त !’

०००

उज्यालो र हँसिलो अनुहार लिएर अञ्जली घरभित्र छिरी । आकाशले तलदेखि माथिसम्म हेर्‍यो र मुस्कुरायो ।

‘रेखा दिदीकै गाडीमा उहाँको कार्यक्रम हेर्न गएकी, भेट्ने बित्तिकै तलदेखि माथिसम्म हेर्नुभयो । तिमीले अहिले हेरेजस्तै...।’

‘.....’

‘मलाई त रेखा दिदीको जीवनशैली देखेर ईष्र्या नै लाग्यो । कति बुझ्ने भिनाजू । मैले भनेँ पनि, दिदी तपाईं त कति भाग्यमानी ! दिदीले केही भन्नुभएन । उल्टै पो भन्नुभयो, बुझ्यौ अञ्जली तिमी चाहिँ भाग्यमानी छ्यौ ।’

‘....’

‘आकाश, सुन न...। थाहा छ ? दिदीको कार्यक्रम हेर्न कत्ति धेरै मान्छे आएका !’

‘....’

‘दिदीको घरका सबै थिए । मलाई पनि दिदीले परिवारै बसेको लहरमा राख्नुभयो । जब दिदी स्टेजमा आउनुभयो, पूरै हल तालीको गडगडाहटले गुञ्जियो । दिदीका सासू–ससुराले उठेर हुटिङ गरेको देख्दा त म छक्कै परेँ ।’

‘....’

‘दिदीको गायन प्रतिभाबाट सबै प्रभावित देखिन्थे । घर फर्कने क्रममा हामी सबै चुप थियौँ । रेखा दिदीले मलाई केहीबेर घर जाऊँ केही गफ गर्नु छ भन्नु भयो । म पनि यही मौकामा दिदीसँग गफिन चाहन्थेँ ।’

‘....’

‘सुन न आकाश, दिदीले त मलाई आश्चर्यमा पारिदिनुभयो । जाँदा दिदीको भाग्यमा ईष्र्या लाग्छ भनेको थिएँ, दिदीले सम्झिरहनु भएको रहेछ । उहाँले पछि भन्नु भयो, ‘ईष्र्या त मलाई तिमीप्रति लाग्छ अञ्जली !’ लौ ! लाग्छ केही ? किन नि भनेर सोधेको त, उहाँले भन्नुभयो, ‘मभन्दा राम्री छ्यौ, पढेलेखेकी छ्यौ, सानो र सुखी परिवार छ । मायालु अनि बुझ्ने सासू हुनुहुन्छ । तर तिमी असन्तुष्ट देखिन्छ्यौ । तर थाहा छ, हाम्रो जीवन कस्तो बनाउने हो, त्यो त हाम्रै हातमा छ ।’

आकाशले गरिरहेको काम छाडेर अञ्जलीतिर हेर्‍यो, छक्क परेझैँ ।

‘हेर न आकाश, हामी दुवै एकै क्लासमा पढ्यौँ, एकै पटक टप गर्‍यौँ तर तिमी अफिस जान्छौ अनि म चाहिँ घरभित्रै बस्छु । त्यसैले मलाई दिक्क लागिरहेको सुनाउँदा दिदी त हाँस्नुभयो तर मलाई त उहाँ हाँसेको मन परेन ।’

‘.....’

‘रेखा दिदीले पुराना कुरा कोट्याउनुभयो । उहाँ त सानै उमेरमा बिहे भएको थियो । उहाँ त्यो बेला बिहेको पक्षमा हुनुहुन्थेन । राम्रो खान्दान भन्नेबित्तिकै सबैले जोड दिए, विवाह भयो । रेखा दिदी त एक समय यत्ति धेरै फ्रस्टेट हुनुभयो कि माइत आएर झगडै गर्नुभएछ । ‘मेरा एक से एक साथीहरु आइएनजिओ, बैंकमा काम गर्छन्, म भने गृहिणी मात्र !’ उहाँकी फुपूले पछि सम्झाउनु भएछ ।’

‘.....’

‘आकाश सुन न, फुपूले जे भनेर सम्झाउनु भएको थियो, रेखा दिदीले मलाई त्यही कुरा सम्झाउँदै हुनुहुन्थ्यो । के भन्नुभयो थाहा छ ?  

‘......’

‘हामी महिलाहरुको यो दयनीय अवस्था अरुले होइन, हामी आफैँले निम्ताएका हौँ रे ! विगतदेखि नै महिलालाई शक्ति शक्ति भन्छन् किन थाहा छ ? किनभने त्यो हामीलाई सम्झाइएको हो कि हामी कति शक्तिशाली छौँ तर पनि हामीले शक्ति चिन्न सकेका छैनौं ।’  

यो सुनेपछि आकाश गरिरहेको काम छाडेर अञ्जलीतर्फ मोडियो र अनुहारमा ट्वाल्ल परेर हेर्‍यो ।

‘छ्या... के ट्वाल्ल पर्‍या होला...। आकाश, सुन न रेखा दिदीले के भन्नुभो थाहा छ ? समाजले हामीलाई बनाउने होइन, हामीले समाज बनाउने हो । हामी घरपरिवारमा मात्र होइन, समाज अनि देशको आवश्यक जनशक्ति बनाउँछौं । एउटा बच्चा जन्मेपछि सफल नागरिक बनाउन पहिलो शिक्षा हामीबाट शुरु हुन्छ । एउटी आमाले आफ्नो सन्तानलाई राम्रो संस्कार, शिक्षादीक्षा दिएर देशका लागि एउटा असल नागरिक तयार पार्नु भनेको ठूलो काम हो । यसलाई तिमीले कसरी सानो भन्ठान्योै ? महिला सशक्तीकरण भनेको अफिसमा गएर १०–५ सम्म काम गर्नु मात्र होइन । शिक्षाको महत्त्व घरबाट शुरु भएर समाज अनि देश सेवामा लाग्छ भने त्यो जस्तो ठूलो कुरा अनि सन्तुष्टि केही होइन । तिम्रो हातमा तिम्रो भविष्य छ । त्यसैले यसलाई जतन गरेर लैजाऊ यसरी आफूलाई सानो नबनाऊ ।  

आकाश केही नबोली सुनिरह्यो तर के सम्झ्यो कुन्नी, ऊ ल्यापटपतिर फर्कन खोज्यो ।

अञ्जलीले काँधमा प्याट्ट पारी र भनी, ‘आज मलाई बोल्न मन छ । केहीबेर सुन ।’ यसपछि अञ्जलीले लामो श्वास तानी ।

‘हुन त रेखा दिदीलाई फुपूले कति सामान्य कुरा सुनाउनु भएको थियो । यो कुरा रेखा दिदीले मलाई सुनाउँदा पनि कुन नयाँ कुरा हो र भन्ने लागिरहेकै थियो । तर पनि कुनै आफूले मान्ने मान्छेबाट तिनै कुरा सुन्दा पनि आनन्द लाग्ने के !’

‘हो कि होइन भन त आकाश..!’

‘.....’

‘महिलाले चाह्यो भने समाज, घर मात्र होइन देश नै बनाउन सक्छन् । हामी महिलाहरुको जीवनमा जिम्मेवारी, कर्तव्य र संघर्षहरु आउँछन् । दिदी, बहिनी, आमा, काकी यी सारा कर्तव्यपथ हिँड्दै  र पार गर्दै केही वर्षपछि फेरि हाम्रो जीवनमा नयाँ मोडहरु आउँछन् । अनि हामीले आफ्नो व्यावसायिक वा बाहिरी भविष्यलाई फेरि स्ट्रङली अगाडि बढाउन सक्छौँ ।’

आकाश मुस्कुरायो ।‘यही संसारमा धेरै दिदीबहिनी ३०/३५ वर्षको गृहस्थ जीवनपछि बाहिरी संसारमा आत्मविश्वासका साथ निस्किएको पनि देखिन्छ । दृढशक्ति भयो भने हामीले आफ्नो सपना अनि अस्तित्व कायम गर्न सक्छौँ नि ! जुन बेला जाग्यो, बिहानी पनि त्यै बेला हो । आफ्ना सन्तान त आफ्ना सृष्टि हुन् । तिनलाई हुर्काउन पाउनु, मातृत्वमा रम्न पाउनु हामीले पाएको सबैभन्दा ठूलो बरदान हो । यो त एक किसिमको अलौकिक जीवन दर्शन पनि हो कि यी सारा कुराको साक्षी हुन हामी महिलाले मात्र पाउँछौँ । त्यसैले अञ्जु तिमी घरका कुरामा झिँजो नमान । यससँगै आफ्नो अस्तित्व पनि बनाउने कुरामा ती दृढ निश्चयी भयौ भने तिमीलाई अघि बढ्नबाट कसैले रोक्दैन ।’

आकाश मुस्कुरायो ।

‘कति राम्रो कुरा है ?’

आकाशले टाउको हल्लायो ।

‘त्यसपछि मैले के गरेँ थाहा छ ?’

अञ्जली आकाशको छेउमा गई, आकाशलाई अँगालो हाली र भनी, ‘रेखा दि, तपाईंले मलाई कति सरलसँग कुरा बुझाउनुभयो । वास्तवमा कहिलेकाहीँ आँखा खुलेकै भए पनि आँखामा पट्टि बाँधिएसरी हुन्छौँ ।’

अञ्जलीले आकाशको निधारमा चुम्बन गरिदिई र भनी, ‘थ्याङ्क्यु रेखा दि !’

आकाश ट्वाल्ल परेर अञ्जलीलाई हेरिरह्यो । अञ्जली चल्तीको गीत गुन्गुनाउँदै लुगा फेर्न थाली ।

प्रकाशित: ८ श्रावण २०७७ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App