निमेषले हाई काढ्दै भन्यो, ‘कोरोनाले जताततै ज्यान लिँदै छ । लकडाउनको म्याद थपिएको थपियै छ । यस्तै हो भने के खाएर बाँच्नु होला ?’
अभिषेकले सामान्य लिँदै भन्यो, ‘साँच्चिकै कोरोनाले लासको बिस्कुनै हुने भयो । तर, जे हुँदै छ , मेरो विचारमा राम्रै हुँदै छ ।’
निमेषले छक्क पर्दै सोध्यो, ‘तपाईं किन यस्तो महामारीलाई पनि राम्रो भन्दै हुनुहुन्छ ? यसले त देशको अर्थतन्त्र डावाँडोल हुँदैछ त ।’
अभिषेकले भन्यो, ‘यति नभई कहाँ मान्छेले चेत्छन् र ! यस्तो पीडाले मान्छेलाई शालीन र शिष्ट बनाउँछ ।’
निमेषले अविश्वास पोख्दै भन्यो, ‘पूरै पृथ्वी पल्टिए पनि मान्छेहरू सुध्रिँदैनन् । भूकम्प जाँदा कतिले रासनपानी बाँडे, सगोलमा बस्नेझैं गरे तर केही दिनमै बिर्सिहाले ।’
अभिषेकले भन्यो, ‘अरू जेसुकै गरून्, हामीलाई के मतलव ! दुनियाँमा रोएर हुनेवाला केही छैन ।’
निमेषले सोध्यो, ‘तपाईं किन अचम्मको कुरा गर्दै हुनुहुन्छ ?’
अभिषेकले आँखाभरि आँसु पार्दै भन्यो, ‘मेले यस्ता पीडा धेरै भोगेको छु । मेरो छुट्टै पीडा छ । मलाई कुनै प्रकोपले छोडेको छैन । बहिनी अन्भ्याएर पठाएको बसलाई पहिरो खसेर किच्दा जुवाइँ र तीन जना जन्ती ठहरै भए । भूकम्पले पनि हाम्रो घर भत्काएर आँसु दिएर गयो । मेरी श्रीमतीको तीन महिने गर्भे तुहायो । गाउँका अस्पतालमा जँचाउन जाँदा पाठेघरमा लुँदो छ । त्यो क्यान्सर या छ जे पनि हुन सक्छ भनेर रेफर गरे । यही उपचारको क्रममा दुवैले जागिर नै छोड्नु पर्यो ।’
निमेषले असहज मान्दै भन्यो, ‘अभिषेक, मलाई क्षमा गर्नुस् । तपाईंको विगत कोट्याएर रुवाउने मेरो नियत हैन ।’
एक्कासि शीर उज्यालो बनाउँदै अभिषेकले भन्यो, ‘फरक यत्ति छ कि पहिले कडा देसान मेरो जीवनमा आयो । तर, अहिले विश्वका धेरै ठाउँमा कोरोना आएको छ । यो विश्वका मान्छेले थाहा पाएको नयाँ देसान हो ।’
प्रकाशित: ३१ असार २०७७ ०७:३१ बुधबार