२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

वंश

कथा

सरण राई

सरण राई

....उफ यो कस्तो मान्छे ? मेरो लोग्ने हो, प्रेमी पनि भएको छ । आफ्ना सबै इच्छा , आकाङ्क्षा र कामहरू थाती राखेर पाँच वर्षदेखि निरन्तर मलाई स्याहारिरहेको छ । म बिरामी भएदेखि नै उनले गर्न सक्ने आफ्ना सामरथ्यमा भएका सबसब गरिरहेको छ । मान्छेले यति धेरै त्याग गर्न सक्छ भन्ने मलाई थाहा थिएन । यो मेरो प्यारो मायालु प्रेमिल लोग्नेलाई जति हेर्छु त्यति धेरै माया लागेर आउँछ । म उसैको निम्ति बाँचेर ऊ रमाएकोहाँसेको हेर्न चाहन्छु ।  

मलाई मधुमेह भएको पनि तीस वर्ष भइसक्यो । मुख बार्न उसले मलाई कति कर गरेको थियो । एक बारको जुनीमा मुख किन बार्ने ? ‘हेरेर मर्नुभन्दा छेरेर मर्नु’ मैले भनेँ । उसले कैयौं खाने कुराहरू नखानुभन्दा ‘मलाई खान पनि नदिने’ भन्दै रोएकी थिएँ । त्यसपछि उनले कहिल्यै मलाई मन परेको खान रोकटोक गरेनन् ।

मधुमेहले मलाई च्याप्दै लग्यो । अरू रोगहरू थपिए । थाइराइड पहिला थाहै थिएन । धेरैपछि थाहा भयो । त्यसको पनि दबाई थपियो । मधुमेहले मृगौला बिगार्न मात्र होइन, बिगारिसकेको रहेछ । खाना नरुच्ने । एक महिनासम्म च्याउको सुप खाएर बसेँ । अस्पताल जाउँ भनेर उसले कति कर गरयो । नजाने भनेर अड्डी लिएर बसेँ । दिसापिसाब बन्द भएपछि अस्पताल जान करै लाग्यो । इमर्जेन्सीमा जाँचेर केही दबाई लिएर धर फर्कियौँ । त्यो दबाईले दिसापिसाब नखोलिएपछि फेरि अस्पताल हिँडेर नै गएको थिएँ । अस्पताल भर्ना भएँ । हातखुट्टा सुन्निन थाल्यो, भुँडी फुलिन थाल्यो ड्याम्ड्याम्टी... दुई दिनमा नै म उठ्न हिँड्न नसक्ने सिकिस्त भएँ ।

काठमाडौंंमा रहेका बहिनी र बुहारीहरूले ‘काठमाडौं तुरुन्त आउनु’ भनेर बोलाए । यिनले सिकिस्त बिरामी मलाई हतारहतार हवाईजहाजबाट काड  माडौं लगे ।

काठमाडौंको प्राइभेट अस्पतालको डाक्टरको पहिलो प्रतिक्रिया — ‘कस्ता अस्पताल हो ? दिसापिसाब त गराउन सक्थ्यो !’ त्यस अस्पतालले पहिलो काम दिसापिसाब गराउने काम गरयो । चारपाँच दिनदेखि ड्यामड्याम्टी फुलिएको पेट... दिसापिसाब गराएपछि हाइसन्चो भयो । अहिले पो थाहा भयो घरछेउको अस्पतालमा त नेफ्रोलोजिस्ट (मृगौला विशेषज्ञ) डाक्टर नै रहेनछ । अरू डाक्टरहरूले मजस्ता बिरामीहरूलाई हेर्दै सिक्दै पो गर्दारहेछन् । धन्न ! शिक्षण अस्पताल !

काठमाडौं नआएको भए म त्यति बेलै मर्ने थिएँ । काठमाडौंको प्राइभेट अस्पताल मेडिकेयरले मलाई पुनर्जीवन दियो ।  त्यहाँ दुई वर्षसम्म धायौँ । मृगौलाको समस्या जटिल हुन थालेपछि सुमेरु अस्पताल आएका छौँ ।

यहाँ उपचार गर्न थालेको पनि दुई वर्ष ६ महिना हुन लागेको छ । मृगौला बिग्रेपछि डायलाइसिस नगरी भएन । डायलाइसिस गर्न थालेको पनि दुई वर्षभन्दा धेरै हुँदै छ । शुरूमा हप्ताको दुईपल्ट गरिन्थ्यो भने अहिले हप्ताको तीनपल्ट गर्नुपर्छ । आइतबार, मंगलबार र शुक्रबार डायलाइसिस गर्ने दिनहरू । मलाई भन्दा बढी डायलाइसिस गर्ने यी बार दिनहरूबारे मेरो छेउमा मलाई स्याहादै बस्ने पति काजीलाई राम्ररी याद रहन्छ । मेरो स्वास्थ अवस्थासँग उनको सुखदुःख गाँसिएको छ, म सन्च रहँदा उनी मुस्कुराउँन सक्छन्  ।

म सोच्न पुग्छु— यदि म घरछेउकै धरानको अस्पतालमा नै मरेको भए मेरा पतिदेव उनको के गति हुन्थ्यो होला ?  अझै पनि म मर्ने बाँच्ने दोसाँधमा नै उपचार गराइरहेकी छु  । मन हुँडलिएर आउँछ... बिचरा इमानदार सरल तर विशाल हृदय भएको मेरो मायालु प्रेमी–लोग्ने ! मलाई उनको अग्घोर माया लागेर आउँछ । माया दोब्बरतेब्बर कति हो कति धेरैधेरै माया लागेर आउँछ । म उनैको लागि बाँच्न चाहन्छु । बाँचेर उनलाई धेरैधेरै माया प्रेम दिन चाहन्छु ।

उनलाई म उनको हर कदमकदममा साथ दिन चाहन्छु सुखमा पनि साथै दुःखमा  पनि । स्वाभिमानी उनी । बरु भोकले मर्न तयार हुन्छन् तर आफ्नो स्वाभिमान विवेक त्याग्न चाहदैनन् । मैले भन्दा बढी  उनलाई बुझ्ने यो संसारमा अरू कोही छैन किनकि उनीसित बसेको पनि ४१ वर्ष पुग्न लागेको छ । उनी कति असल छन् । उनलाई जीवनसाथी पाएकोमा म सन्तुष्ट छु ।

मृगौला प्रत्यारोपणबारे उनैले बुझ्दा मलाई मुटुको रोग पनि भएकोले मृगौला प्रत्यारोपण हुन्न रे । हुने भए उनी मृगौला दिन तयार छन् । मेरो मुटु कमजोर हुँदै गइरहेको छ रे ।  मुटुको एन्जिओ प्लाष्टिक सर्जरी पनि मृगौलाका कारण सम्भव भएन ।  नौ महिना पहिला  म आइसियुमा पन्ध्र दिन बस्दा यो मेरो पति कति चिन्तित थियो । त्यो आइसियुम वार्डमा बस्दा मैले काजीकाजी भन्दै होसबेहोसमा कराएछु, उनलाई बोलाएछु कि पछिदेखि त सिस्टरहरूले पनि ‘तपाईँको काजी आउनुभयो’ भन्न थालेका थिए ।

यसपालि पनि तीन दिन आइसियुमा बसेँ । मुटु विशेषज्ञ डा. रमणीले भनिसकेकी छिन्— ‘मैले गर्न सक्ने सबै गरिसकेँ । अब म केही गर्न सक्तिनँ ।’

तिनको त्यो भनाइले मलाई मेरो जीवन सिद्धिन लागेको छ भन्ने बोध गरायो । काजीलाई त्यो कुरा सुनाएर म रोएँ । म मेरो लागि होइन उनका लागि रोएकी थिएँ । उनी कसरी मविना बाँच्लान् ? उनले भने, ‘चित्त सम्भाल । अहिले नै हामी मरयो भने पनि दुःख मान्नु हुँदैन । हामीले गर्नुपर्ने र गर्न सक्ने सबै गरिसकेका छौँ । म लेखक हुँ । म मेरो कृतिहरू बाँचेसम्म बाँच्ने छु । म कृतिहरूसँग बाँचे भने  तिमी मेरो साथमा बाँच्ने छौ । तिमी मेरोबारे चिन्तित छौ । मेरोबारेमा चिन्ता नलेऊ । म आफ्नो जिन्दगी जसरी पनि बेहोर्ने छु ।’ उनको यस्तो भनाइले मन अलिक शान्त भएको थियो ।

म बेडमा नै बिलाउन लागेकी छु । सुकेर हड्डी र छाला भइसकेकी छु । हिँड्ने त कुरै सकियो । उठ्नबस्न पनि अरूको सहायता चाहिने भएको छ । उनैले मलाई चौबिसै घन्टा साथ दिइरहेका छन् । टोइलेट पनि जान सक्दिनँ । टोइलेटदेखि खाना औषधि खुवाउने आदि सबै कुरुवाको काम यिनै मेरा पतिले गरिरहेका छन् । म उनलाई हेर्छु, उनी मलाई नै हेरिरहेका छन् ।

कफी लिएर आएका छन् । पिउँछौँ । यसरी सँगसँगै बसेर कफी पिउने र सँगसँगै बस्ने दिनहरू समाप्त हुँदै छन् । म जति धेरै बाँच्छु सम्पत्ति पनि  सकिने नै भयो । त्योभन्दा बढी संसारमा मैले सबैभन्दा बढी माया गरेको मेरो काजीलाई धेरै दुःख दिने छु । मलाई सबैभन्दा बढी माया गर्ने लोग्नेलाई यस्तो दुःखबाट छुटकारा दिन म के गर्न सक्छु ? अब मैले जतिसक्दो छिटो जीवनको मोह त्याग्ग्र्नुपर्छ, आफूलाई मृत्युमा समाहित गरेर उनको मेरो प्यारो पतिको जीवनमा स्वतन्त्रता उन्मुक्ति दिनु पर्दछ । यस्तै सोचेर कोही बेला उनलाई भनेर कोही बेला नन्द बहिनीबुहारीहरूलाई भनेर चकलेट मगाएँ । कुनै समय मैले भनेको पनि थिएँ— मर्ने बेला दुःख पाउन थाले भने बिष खाने छु । मधुमेहका बिरामीहरू खाश गरेर डायलाइसिस गरिरहेका बिरामीले मुख बार्न छाडेर गुलियो चकलेट खाए भने  विषको काम गर्छ । मैले लुकेर यति धेरै चकलेट खाएँ कि म अहिले सिकिस्त भएर मृत्यु नजिक पुगेको छु ।

जीवनको मोहले भन्दा मलाई उनको मायाले रुवाउँछ  । म उनलाई र उनले मलाई यति धेरै माया गर्दा रहेछौँ... अहिले थाहा भएको छ ।  उनलाई मैले माया गर्ने मायाकै खातिर उनकै लागि यो मेरो निको नहुने बिरामी जीवनको शीघ्र अन्त गरेर मैले उत्सर्ग गर्नु  पर्दछ र गर्छु !

उनी मेरो लोग्ने मात्र नभएर मेरो प्राण रहेछन् । म मरे पनि उनीसँगै म बाँच्ने छु । उनी मविना पनि खुशीसाथ बाँच्न सके भने म पनि खुशी हुने छु । म हुन्नँ, नभए पनि  म उनीसँगै उनकै साथ  रहने छु । उनी मेरा सबथोक हुन् । उनका निम्ति मैले यो तुच्छ शरीर त्याग गर्नै पर्छ । उनलाई उनको स्वतन्त्रता दिनै पर्छ । उनलाई बिरामी स्याहारिरहनुपर्ने दुःखपूर्ण झन्झटबाट मुक्त गर्नै पर्छ ।

भगवान् हुन्छ भने उनी नै मेरा भगवान् हुन् । उनले मलाई दिएका वास्तविक सुखको बदला उनका सुखका लागि मैले  मेरो यो दुःखपूर्ण बिरामी जीवनको अन्त गर्नै पर्छ । मेरो प्यारो काजी ...  मेरो मृत्युपछाडि पनि  म सधैं तिम्रै साथ रहने छु... ‘तिमी कति सुत्छौ ? म मरेपछि जति सुत्न मन लाग्छ सुत । जे गर्न मन लाग्छ गर ।’ म भावावेशमा बगेर भन्छु । मैले भन्न हुने हो वा होइन मलाई थाहा हुँदैन  तर म भन्छु ।

उनी धेरै पढ्न लेख्न चाहन्छन् । मलाई थाहा छ । उनले धेरै पढ्न लेख्न सकून् भनेर पनि मैले सांसारिक मोह त्याग्नै पर्छ । उनले लेख्न सके भने मेरो भौतिक शरीर यो धरतीमा नरहे पनि उनको लेखनीमा म हुने छु । तसर्थ पनि म यो भौतिक शरीर मर्न डराउँदिनँ । उनको सुख र लेखनीको बाटो खुला गर्न यो शरीर छिटोभन्दा छिटो उत्सर्ग गर्नु  मेरो उनीप्रतिको अमर मायाप्रेम हो ।  हामी नरहे पनि उनको लेखनीमा हाम्रो अमर मायाप्रेम बाँचिरहने छ ! म चित्त बुझाउँछु । मन दृढ पार्छु ।  

—  —  —  —

स्वच्छ शान्त सुन्दर तर दुर्गम गाउँमा जन्मिएको केटो म । शारीरिक कारणले म लाहुरे भर्ती लाग्न सक्ने थिइनँ भन्ने सानैमा ज्ञात भएको थियो । पढाइले मात्र मलाई साथ दिन्छ भन्ने अनुभूतिले म एकोहोरिएर पढाइमा निर्लिप्त भएको थिएँ । विए नगरुन्जेल विवाह र प्रेमबारे सोच्ने छुइनँ भन्ने सोचअनुसार मैले पढाइ नसकुन्जेल केटीहरूप्रति ध्यान दिइनँ ।  

म एक्लो छोरो परिवारका सबैले पुल्पुलाएर नै हुर्काएका थिए । पारिवारिक असीम मायाप्रेममा डुबेको मैले केटाकेटी बीच हुने प्रेम अनुभव गरेको थिइनँ एउटा केटालाई केटीले गर्ने प्रेम वा केटाले केटीलाई गर्ने मायाप्रेम ।  

तिनीसँगको विवाहपछि मात्रै मलाई महिलापुरुषको प्रेम, मायामोह घनिष्ट सम्बन्धको अनुभूति भएको थियो । यस्तो अटुट अनुभूति भावानात्मक संवेगको गहिरो मिठासमा म चुर्लुम्मै डुबेको थिएछु । त्यो मिठासयुक्त प्रेम सागरको शीतलताले जीवनको महासमरमा म योद्धा भई हर समस्याहरूसँग निर्भयतासाथ तिनको साथ पाएर लडिरहेको थिएछु ।

मायाप्रेमको संवेग विवाहपछि थपिदै जान्छ । छोराहरू जन्मिए, हुर्किेएबढे । बुहारीहरू भित्रिए, नातिनातिनीहरू जन्मिए । पारिवारिक संसारमा समय व्यतित भएको थाहै भएन । ४१ वर्ष बितेछन् तिनीसँग मेरो सहयात्रा !

जब तिनी थिइन्, तिनी भए मलाई अरू कोही र केही चाहिदैनथ्यो । तिनको साथ पाएर म जीवनसँग पूर्ण सन्तुष्ट थिएँ । तृप्त थिएँ ।

म तिनीसँग बाँच्न यति अभ्यस्त  भइसकेको छु कि तिनका लागि म जे पनि गर्न तयार छु । घडेरी बेचेर उपचार गराइरहेको छु । तिनी बाँच्छिन् भने म आफ्नो मृगौला दिन तयार थिएँ । तर मृगौला प्रत्यारोपण मुटु रोगका कारण नहुने भयो । सँगसँगै बस्दाबस्दै रोगले च्यापेर तिनी सिकिस्त हुँदै गइन् । जब तिनले ‘म अब बाँच्दिनँ’ भन्दै रोइन् । म रुन चाहेर पनि रुन सकिनँ । तिनको अगाडि रोएर मृत्यु झेल्न सक्ने तिनको शक्ति कमजोर बनाउन चाहन्न थिएँ । तसर्थ म रोइनँ । त्यतिबेला नरौएकैले जीवनभरि तिनलाई सम्झदै रोइरहेको छु  ।

तिनले लुकेर कति धेरै चकलेट खाएछिन् भन्ने मलाई तिनको सामान लिन जाँदा पो  झोलाभरि चकलेटको खोलै खोल देख्दा थाहा भयो । किन यति धेरै चकलेट खाई ? म तिनले शान्ति धैर्यसित मृत्युवरण गर्न सक्ने विराङ्गना भएको देख्न चाहन्थे । अन्तिम डायलाइसिस गरेर आएपछि तिनले ‘एउटा मात्र चकलेट खान्छु’ भनेर चकलेट मागिन् । एउटा मात्र भने पछि मैले चकलेट दिएँ । त्यो खाइन् र अति प्रसन्न भएर मलाई हेरिन् । ‘ऐनामा लगाइदिनुस्” भनेपछि ऐनामा दिएर म ट्वाइलेटको सामान लिन गएँ । फर्केर आउँदा तिनी महायात्रामा गइसकेकी थिइन् । मेरो उज्यालो संसार भत्किसकेको थियो । तिनको जीवन त्यति नै थियो ।

मेरो प्राणेश्वरी तिनी मेरो हर स्वास प्रस्वास रोम रोम ढुकढुकी, जीवनको हर क्षण पल प्रसङ्गमा व्यप्त घुलमिल भएकी थिई । मलाई पूर्णता दिने तिनी अकस्मात मेरो जीवनबाट हराउँदा मेरो सबथोक रित्तिएझैँ भएको छु । सबथोक समाप्त भएझैँ लाग्छ । म अपाङ्ग अधुरो निरीह एक्लो विकल...

अब के गर्न सकिन्छ र ? माया तिनको वशमा थियो दिएर गइन्, आयु तिनको वशमा थिएन छोडेर गइन् .. गइन् सदाका लागि !

प्रकाशित: २८ असार २०७७ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App