डा. विदुर चालिसे
निकै ठूलो घना जङ्गलमा घुमिरहेका एक प्रजातीको बँदेललाई अङ्ग्रेजहरू पिग भनेर मान्दथे । पण्डा ब्राम्हणहरू भने संस्कृतमा भुनी ठहर गर्दथे । त्यस्तो भुनीलाई एकदिन प्रसब पीडाले दुख दियो । भयानक भारी जिउ र गर्भिणीको प्रथाले उसलाई धेरै सताएको थियो । एकदिन भुनी गर्भिणीले आफ्नो भाले वीरलाई प्रेमको मोहपासमा अल्झेर भनी ।
‘मलाई एउटा इच्छा पुर्याइदिनु, म गर्भिणी छु, नत्र प्रसब वेदनाले मेरो प्राण हुरुक्कै जान्छ ।’
आफ्नो प्रेमिकाको रूपमा रहेकी गर्भिणी भुनीको यो माग सुनेपछि उसले पनि इच्छा पूरा गरिदिने विचार गरेर सोध्यो ।
‘तिम्रो इच्छा के छ त ?’
‘आफै बुझ्नु न मेरो कुरा, प्रेम गर्दाको सर्त
सम्झनु अनि के बुझ्न पर्छ बुझे भइहाल्यो नि !’
त्यसपछि वीर बँदेल जङ्गलमा आफ्नो प्रेमिकाको इच्छा के थियो ? भन्ने बारे भेटेजति सबैलाई सोध्न थाल्यो । प्रेमिकाको इच्छा बुझ्न उ यति भौंतारियो कि धेरै दिनसम्म उसले गर्भिणी भुनीको इच्छा बारे पहिल्याउन नसके पछि उ दोबाटोमा निरास भएर उभिइरहेको थियो।उसले बाटोमा एक दौरा, कछाड र घेरा फाटेको टोपी लगाएर हिंडिरहेको पहाडियालाई देखेर सोध्यो ।
‘तपाईलाई थाहा छ ? मेरी भुनी गर्भिणी छे, उसको र मेरो पहिला प्रेम थियो। अहिले गर्भिणी भएको बेला मा उसलाई एउटा इच्छा जागृत भएको छ तर उक्त इच्छालाई म आफैले थाहा पाउनु पर्नेछ। थाहा पाउने कसरी दाइ ?’
पहाडिया अलमलमा पर्यो । उसलाई तत्काल खास केही नसुझे पनि उसलाई उत्तर दिनै पर्ने वाध्यता भने थियो । तब उसले जवाफ फर्कायो ।
‘भन्नै पर्ने भए नजराना बापत कति दिन्छौ त ?’
त्यसपछि वीरले आफै बाठो भएर अर्थ लगायो र सो शब्द सम्झँदै गयो । गर्भिणी भुनीलाई प्रेमको धोकाको नजराना दिँदै भन्यो ।
‘लौ तिमो इच्छाका लागि डोरी नजराना लिउ र इच्छाको काम चलाउ !’
‘यस्तो प्रसब वेदनाको बेलामा डोरी दिने असत्ती ! अपराधको पनि हद हुन्छ नि ?’
प्रसब पीडाको वेदनामा थलिएकी भुनीको चित्कारमा भागेको वीर बाहिर निस्क्यो ।
उस्लाई मनमा पोल्न थाल्यो । तब बौलाहा झैं कराउन थाल्यो ।
‘देश दुनिया र समाज नबिगारौँ बरू हामी मिलेर कम्प्रमाइज गरौँ !’
दर्शकहरूलाई रिस उठिरहेको थियो । आवेगमा उनीहरूले भनिदिए ।
‘फौवन्जारी बन्द गर !’
जसरी डोरीको फेरोमा बेरिएकाहरू फुस्कँदै गएका थिए । त्यसरी नै भुनीको गर्भमा रहेका खुनी रङका गोप्यताहरू उजागर हुँदै खुइलिंदै गएका थिए ।
‘मङ्गल सूत्रका जलपहरू !’
प्रकाशित: २७ असार २०७७ १५:५३ शनिबार