७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

भानुको झुटो जन्ममिति र फोटो

भानुभक्त आचार्य सानैदेखि बौद्धिक चेतनाका धनी थिए। उनी खरोमा खरो, नरममा नरम र अव्यावहारिकमा अव्यावहारिक थिए। उनी स्वतन्त्रताप्रेमी पनि थिए। सबैभन्दा ठूलो कुरा उनी लेखेर थाक्दैनथे। त्यस जुगमा यिनले जति लेखे, धेरै लेखे। तर यिनलाई चम्काउने काम भने मोतीराम भट्टले नै गरे।

नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउन मोतीराम भट्टले धक फुकाएर भानुभक्तलाई उच्च सम्मान दिएका थिए। नेपाली भाषासाहित्यलाई उन्नतिको शिखरमा पु-याउने हेतु मोतीरामले भानुभक्त आचार्यको सिर्जनात्मक देनको यथेष्ट कदर गरेका थिए। उनले भानुभक्तलाई आफ्नो चरित्रनायकका रूपमा काँधमा बोके। वास्तवमा भानुभक्तलाई नेपाली भाषा–साहित्यको शिरताज बनाउन मोतीरामले नै कठोर प्रयत्न गरेका थिए। कतिसम्म भने यिनको प्रसंगमा मोतीरामले लेखे ‘इन्को जन्मवर्ष विक्रमीय सम्वत् १८६९ साल हो। हाम्रा गोर्खा भाषाको उन्नतिको उदय पनि यसै वर्ष भयो भनी जान्नु।’

रत्नाकर भन्ने ‘डाँकु’ पनि वाल्मीकि बने। तिनैले संस्कृतमा ‘रामायण’ लेखे। त्यही लेखेबापत उनी संस्कृत साहित्यका ‘आदिकवि’ पनि भए। त्यसैगरी हिन्दी भाषाको रामकथामा आधारित ‘रामचरितमानस’ नाउँको काव्य लेखेबापत तुलसीदास पनि हिन्दी भाषा–साहित्यका ‘महाकवि’ बने। वास्तवमा ‘रामचरितमानस’ लेख्नुपूर्व उनी पनि विषयमोह अथवा भनुँ विशेष गरेर स्त्रीमोहमा लम्पट थिए। यो बेहोरा पनि मोतीरामले अध्ययन गरेका थिए। त्यसैले हेपाहा, रिसाहा र एकोहोरो प्रवृत्तिका भानुभक्तलाई पनि घाँसीमार्फत सच्याएर मोतीरामले आदिकविमा रूपान्तर गर्न पहल गरेको दृष्टान्त पाइन्छ। संस्कृतपरम्परामा ‘रामायण’ लेख्नेलाई आदिकवि भन्ने प्रचलन गाँसेर पनि मोतीरामले सहज रूपमा भानुभक्तलाई नेपाली भाषाका ‘आदिकवि’ लेखिदिए।  

वाल्मीकिकै आदिकवित्वकै परम्परामा भानुभक्तलाई गाँस्ने प्रयोजनबारे मोतीरामले धेरै नै चिन्तन गरेका थिए। त्यसैले घाँसी नाउँको अनाउँलाई उनले भानुभक्तका छेउमा लगेर राखिदिएका थिए। यो उनले भानुभक्तका कविताको अडेस लिई गरेका सिर्र्जनात्मक चलाखीमध्ये निकै आकर्षक चलाखी थियो। बनारस र कोलकातामा बसेर हेरेको, देखेको र बुझेको कुरा तनहुँमा जोडेर मोतीरामले अनेक जुक्तिबाट भानुभक्तलाई सम्मानित गराउने कसरत गरेको देखिन्छ।  

रामदत्त आचार्यसँग मोतीरामले भानुभक्तको मुहार सोध्दै सामान्य चित्र तयार गर्ने जमर्को गरेका थिए कि भन्न सकिन्छ। तर, कविराज पंं. नरनाथ शर्मा आचार्यले ‘आदिकवि कविसम्राट भानुभक्त आचार्यको सच्चा जीवन चरित्र’ (२०१७—२०१८) लेख्ता मोतीरामद्वारा निर्मित काल्पनिक भानुभक्तको फोटोलाई ‘भानुभक्तको सक्कली फोटो यही हो’ भनेर समर्थन गरेका छन्।

भानुभक्तको जीवनीमा अनेक फूलबुट्टा हालेर पनि मोतीरामले उनलाई प्रसिद्धिको शिखरमा चढाइदिएका थिए। त्यतिमात्र होइन, भानुभक्तका लोकगर्भमा भएका थुप्रै रचनालाई पनि धेरै ठूलो कष्टपूर्वक खोजेर प्रकाशनमा ल्याउने काम मोतीरामले नै गरे। उनी आठ–दश वर्ष यसै काममा खटिए। मोतीरामकै सत्प्रयासका कारण भानुभक्त त्यसै बेलादेखि नेपाली समाजमा बढी चिनिएका थिए। मोतीराम एकोहोरो भानुभक्तको जयजयकारमा लागेकै थिए, तर भानुभक्तमा अन्तर्निहित कतिपय मानवीय कमजोरीलाई पनि मोतीरामले लुकाएनन्।

मोतीराम भट्टले भानुभक्तबारे तथ्यगत जानकारी विभिन्न स्रोतबाट फेला पारे, मुख्यतः भानुभक्तका भतिजा रामदत्तमार्पmत। बनारसबाट नेपाल आएर होस् या बनारसमै बसेर होस्, उनको मुख्य ध्येय भानुभक्तद्वारा रचित कृतिको खोज गर्नु मात्र थियो। उनी त्यसै परिवेशमा डुबेर लागिपर्दा भानुभक्तका कृतिहरू जनमाझ आउन थाले।

मोतीराम भट्टका जीवनीकार नरदेव पाण्डेले उल्लेख गरेअनुसार भानुभक्तका कान्छा काका इन्द्रविलास आचार्यका नाति रामदत्त(भानुभक्तका भतिजा)सँग मोतीरामको परिचय काठमाडौंमा धर्मदत्त ज्ञवालीका घरमा १९४७ सालमा भएको थियो, त्यसै कारणले मात्र मोतीरामले भानुभक्तको जीवनी लेख्न सके।

०००
भानुभक्त आचार्यको भौतिक मुहार जनमाझ आउन सकेकै थिएन, किनभने त्यस बेलासम्म सर्वसाधारणले फोटो खिच्ने प्रचलन पनि थिएन। त्यसैले रामदत्त आचार्यसँग मोतीरामले भानुभक्तको मुहार सोध्दै सामान्य चित्र तयार गर्ने जमर्को गरेका थिए कि भन्न सकिन्छ। तर, कविराज पंं. नरनाथ शर्मा आचार्यले ‘आदिकवि कविसम्राट भानुभक्त आचार्यको सच्चा जीवन चरित्र’ (२०१७—२०१८) लेख्ता मोतीरामद्वारा निर्मित काल्पनिक भानुभक्तको फोटोलाई ‘भानुभक्तको सक्कली फोटो यही हो’ भनेर समर्थन गरेका छन्। वास्तवमा मोतीरामले भानुभक्तको तस्बिरलाई काल्पनिक ढंगबाट स्थापित गरेको व्यहोराको हिसाब नै गरिएन। बरु अन्धानुकरण गर्दै मोतीरामले प्रस्तुत गरेको भानुभक्तको तस्बिरलाई नै पछिपछिका लेखकले पनि मान्यता दिइरहे।

भानुभक्तीय युगमा दौरा–सुरुवाल, टोपी लगाएर पटुका बाँधी साफा अर्थात् फेटा वा पगरी, कँधौरी या काँधे लगाउने चलन थियो। बाहुन जातिले आफ्नो जनै लगाएझैँ गरेर देब्रे काँधबाट दाहिने हाततिर त्यो साफा (पगरी) झार्ने चलन थियो। तर, मोतीराम भट्टद्वारा प्रस्तुत गरिएको चित्रका अनुसार भानुभक्तले चाहिँ तस्बिरमा त्यो साफा दायाँ काँधबाट बायाँतिर झारेको देखिन्छ। भानुभक्तले काँधे वा साफा लगाएको शैलीले हिन्दू शास्त्रीय परम्परासँग मेल खाँदैन। यति हुँदाहुँदै पनि पं.नरनाथ आचार्यले ‘मोतीरामले नै प्रस्तुत गरेको तस्बिर ठीक हो’ भनेका छन्। अनि यस कुराको पुष्टि गर्न खोज्दै उनले लेखेका छन्,‘कवि भानुभक्तको चित्र मोतिरामले खडा गरेको कृत्रिम हो कि भन्ने कसैकसैले आशंका गरेको पनि बुझिन्छ, तर त्यो कृत्रिम हैन। माझमा भानुभक्तका भिनाजु अर्जेल पण्डित, उनका बायाँतिर कविकी दिदी महाविद्यादेवी, दायाँर्फत कवि यति तीनजना भएको फोटो काठमाडौंमा कविकी दिदीको घर पत्ता लगाई त्यसैबाट गुण अनुसारको कविको मात्र फोटो मोतीरामले ठीक गरेका हुन् भनी दाजु यज्ञनिधिले भन्नुहुन्थ्यो। त्यो कुरा साँचो हुनु मनासिब छ।’

पं.नरनाथको यस धारणासँग भानुभक्तको त्यो फोटो मेल खाँदैन। नेपाली पहाडी ब्राह्मण ग्रामीण परिवेशमा फेटा बाँध्ने तत्कालीन चलनको सन्दर्भमा र विशेषतः मोतीरामले छपाएको रेखाचित्र वास्तविक फोटो हो भन्ने धारणासँग सहमत हुन नसकिने दरो अभिमत छ। यति हुँदाहुँदै पनि भानुभक्तका पनाति मुक्तिनाथ आचार्यले यसै फोटोको समर्थनमा आफ्नो मत दिएका छन्।

ठूलाबडाको ‘पोट्रेट’ बनाइनेबाहेक जनसाधारणका लागि फोटो सर्वसुलभ नभएको तत्कालीन समयमा भानुभक्त आचार्यको आधिकारिक मुहार कसैले प्रस्तुत गर्ने कुरै थिएन। कल्पनामा बनाइएको सो तस्बिरलाई साँच्चै भानुभक्तकै स्वरूपको छायाप्रति भन्न उपयुक्त छैन। रामदत्त आचार्यको बयानका आधारमा मोतीरामले भानुभक्तको आकृति निर्माण गरेका थिए भन्नु चाहिँ तर्कसंगत र न्यायिक समेत हुनेछ। त्यतिखेर भानुभक्तको व्यक्तिगत या सामूहिक फोटो नेपालमा खिचिएको भन्न नसकिने आधार पनि स्पष्ट नै छ।

मोतीराम भट्टद्वारा प्रस्तुत भानुभक्तको काल्पनिक चित्रलाई आचार्यवंशीले वास्तविक फोटो भनेर सरासर झुटो बयान दिए। त्यतिमात्र नभएर मोतीरामले ‘भानुभक्तको जन्म १८६९ सालमा भयो’ भनी लेखेकामा पनि भानुभक्तकी नातिनी विष्णुमायाले सुब्बा रंगनाथ शर्मामार्फत १८७१ असार २९ गते भानुभक्त जन्मेका हुन् भन्नेझुटो बेहोरा पेस गरिन्।अनि यिनै दफाहरू नेपाली संसारमा चल्दै पनि आए। तर, पछिल्ला दिनमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीदेखि नरेन्द्रराज प्रसाईंसम्मले यसबारेको सत्यतथ्यबुँदा प्रस्तुत गरे। आचार्यवंशीहरूबाट यस्ता र यस्तै अरु कुराझुटो नभइदिएका भए उनीहरूमार्फत पनि भानुभक्तका नाउँमा प्रदत्त अन्य बेहोरालाई सत्य नै हो कि भन्ने ठाउँ हुने थियो।

प्रकाशित: २७ असार २०७७ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App