१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

तामाकोसीको फन्कोले दिएका यादहरू

यात्रा संस्मरण

खेमराज पोखरेल

खेमराज पोखरेल

यो एउटा सूचना मात्र हो कि म यति बेला सात समुद्र तरेर अमेरिकामा बसेको छु । ती सामुद्रिक घेरबार नाघेर यादहरू नेपाल पुग्छन् । नेपालमा छँदा नपुगेका र नगुदानेका नेपाली यादहरू झन् यहाँ पो आइरहन्छन् । त्यो बेला देशको अघोरै माया लाग्छ । यी यादहरूले, यी मायाहरूले  कहिले रोमाञ्चक बनाउँछन् । कहिले स्तब्ध बनाउँछन्  र कहिले पिरोलो पनि बनाउँछन् । डायस्पोरिक जीवनमा यो याद सायद सबै नेपालीलाई सामान्य नै हो । जीवन भोगाइका गल्छेँडामा भेटिएका रोमाञ्चकअरोमाञ्चक मानव सम्बन्धहरूले एउटा यादको भुमरी त पारिहाल्छ । त्यसमाथि प्रकृति पनि लस्करै दिमागमा आइदिनाले त्यसमा हराउने क्षण पनि आइहाल्दो रहेछ । ती यादहरूले मन भने एकतमासको बनाउँछन् । त्यसैले म नेपालका मानव र मानवेत्तर सम्बन्धका दर्बिला यादहरूमा वशीभूत  भएको छु । यो बेला मलाई यो  वशीभूत बनाउन संयोगका कार्यकारणका रूपमा मेरा मानसपटलभरि तामाकोसीको फन्कोले दिएका अस्मेल यादहरू सललल आइरहेछन् ।

मेरा समयबिहीन योजनामा तामाकोसीको एकफन्को लगाउने उत्कट अभिलाषा धेरै पहिलेदेखि नै थियो । तर जीवनका अस्मेल पहाडहरू छिचोल्दा छिचोल्दै त्यो लुते यात्रा पनि मलाई ‘कमिलालाई मुतको पहिरो’ भएको थियो । अथवा काठमाडौँबाट जहिले पनि पुग्न सकिने सुगम यात्रा ठानेर ‘नजिकको तीर्थ हेला’ भनेझैँ भएको थियो । जे भए पनि धेरै पहिलेदेखि मेरो र मेरी श्रीमतीको आकर्षणको केन्द्र दोलखाको भिमेश्वर दर्शन थियो । मेरी श्रीमती धार्मिक सोचकी भएकाले र दोलखाका भीमसेनको पसिना आउने र अनिष्ट हुने महिमा सुनेकाले त्यहाँ पुग्न उनी पनि चाहन्थिन् । म पनि चाहन्थेँ  तर उनी यसलाई तीर्थयात्राको नाम दिन्थिन् । म भने पर्यटन नाम दिन्थेँ । जे नाम भए पनि आखिर पुग्नु दोलखा थियो । तर पनि हाम्रो यो चाहना लामो समयसम्म दिमागभित्र खुम्चिएर बसेको थियो । नेपाल छउञ्जेल आफ्नै जीवनका स्याँसाहार र फुस्याँहारले फुर्सद निकालिएन । फुर्सद भएन  र यसरी जिन्दगीका  जिजीविषाहरू सँगेल्दासँगेल्दै तामाकोसीको फन्को लाउने हाम्रो पारिवारिक चाहना पूरा भएको थिएन ।

मेरी माइली छोरीको बिहे रामेछाप खनियाँपानीका भण्डारीसँग भयो । हुनत रामेछाप भन्नु मात्र थियो । छोरी ज्वाइँ दुवै अमेरिकामा थिए । सम्धी रामेछाप काठमाडौँ गर्नुहुन्थ्यो तिनताका । सम्धी भरत भण्डारी लामो समय रामेछापकै बेथानको हाइस्कुलमा हेड मास्टर भएर रिटायर्ड हुनुभएको थियो । तर लामो समयको रामेछाप बसाइलाई माया मार्न सक्नु हुन्नथ्यो सायद । रामेछाप पुगिहाल्नु हुन्थ्यो । किनकि रामेछापले उहाँलाई जब्बर माया गरथ्यो । चिन्थ्यो । आफन्त ठान्थ्यो । नमस्ते गरथ्यो । काठमाडौँमा घर थियो । घरपरिवारले तान्थ्यो ।तर काठमाडौँले त उहाँलाई ‘कौन पुछे खेसडीका दाल’ ठान्थ्यो । त्यसैले उहाँ एउटा बहाना बनाउनु हुन्थ्यो र जतिबेला पनि रामेछाप नै पुग्नुहुन्थ्यो । अनि हामी दुई सम्धी भेट हुन पाएकै हुँदैनथ्यौँ रामेछापसहित तामाकोसीको फन्को सँगै लाउने कुरो भइहाल्थ्यो । तर त्यो यात्राको दिन भने कसैगरी जुरेन ।

म अमेरिकाबाट केही महिनाका लागि नेपाल आएको बखत थियो । यो बेला मेरो स्वार्थी दिमागले मलाई भन्यो ‘अब समय भट्किँदै छ । घुँडा कमजोर भएका छन् । आँत कमजोरी महसुस गर्न थालेका छन् । अमेरिकामा बसेकी श्रीमती र रामेछाप काठमाडौँ पानी पँधेरो गर्ने सम्धीलाई पर्खेर भ्यागुताको धार्नी हुने भयो तेरो यात्रा ।’

कान्छी छोरीको घर बूढानिलकण्ठमा बसेको थिएँ । मैले जे त होला एक्लै तामाकोसीको फन्को लाउने विचार गरेको थिएँ ।संझिरहेको छु कि त्यो दिन २०७५ साल बैसाख १९ गते थियो । जाहिर छ, गर्मी याम थियो । एक्लै यात्रा गर्छु भन्ठानेर मन्थली जाने टिकट काटेको थिएँ । बूढीलाई ‘फेरि भिमेश्वर जाऊँला नि बूढी’ भनेर फकाउन सफल भएको थिएँ । र सम्धीलाई औपचारिकताका लागि टिकट लिएर मात्रै फोन गरेको थिएँ । संयोग सम्धीले पनि त्यसैदिन रामेछाप जाने योजना बनाउनुभएको रहेछ र रामेछापमै भेट्ने सल्लाहअनुसार म हिडेको थिएँ । मैले मन्थली पुगेर सम्धीलाई फोन गर्दा गर्दा गरेँथेँ । उठ्तै उठेको थिएन । उठेन । उठ्दै उठेन । जिरी पुगेर फोन गरेको थिएँ । उठेन । याने कि धेरैपल्ट फोन गरेको थिएँ । त्यो १९ गतेको रात जिरीमै बसेको थिएँ । सम्धीसँग सम्पर्क हुन नसकेकाले म  दूरसंचारलाई गाली गर्दै २० गते बिहानै चरिकोटतिर लागेको थिएँ जिरीबाट । जिरीबाटै लघुकथाकार डिबी जिरेल सरले चरिकोटका साहित्यकारहरूलाई फोन गरिदिनुभएको थियो । मैले चरिकोटको यात्रा सुरु गरेको थिएँ  जिरीबाट ।

जिरी जाने र चरिकोट जाने बाटो छुट्याउने तामाकोसी बसपार्कबाट चरिकोट तिरको उकालोमा म चढेको सार्वजनिक गाडी उकालिएको थियो,लामोसाँघु राजमार्गबाट । बाटोमा बूढा भीमसेन मन्दिर रहेछ । बस यस्तो भीड थियो कि त्यहाँ झर्ने र हेर्ने सम्भावना थिएन । खासमा बस गुड्दैनथ्यो, हिँड्थ्यो । मैले बस यस्तो देखेको भनेको सुर्खेतबाट दैलेख जाँदा हो । तर यो त भीडको  पनि बाउ थियो । मेरो हालत ‘ज्यान जोगिए त लाख उपाय’झैँ भएको थियो । 

तर बसका मान्छे भने मजाले हाँसिरहेका थिए । कस्तो छ हगि यो नेपाली जात । कहरमा पनि हाँस्न सक्छ । बसका ढोकामा एकहातले समाएर पनि तुक्का हान्न सक्छ । यसबेला पनि ऊ रमाउँछ । हुनत यो विकास नै होला । नत्र त कति दिन हिँडेर सदरमुकाम आएको गएको अुनभव होला दोलखालीलाई पनि । यसकारण परम्परागत आस्था मानेर ढोग्नुबाहेक अरु केही उपाय थिएन मसँग । बूढा भीमसेन भनिएकाले निकै पुरानो मन्दिर होला भन्ने बाटो कटाइ लख काटेको थिएँ। 

२०बैसाख २०७५ को दिउँसो नै चरिकोटको निउ नमस्ते होटल पुगेको थिएँ । म होटल पुग्दा बिहानको ११ बजेको हुँदो हो । त्यही होटलमा मलाई चरिकोटका साहित्यकारले बस्न भनेका थिए । मजा के थियो भने होटलको ठूलो नाम ‘निउ नमस्ते’ भए पनि ब्राइकेटभित्र सानो नाम ‘थकाली’ थियो तर होटलवाला बाहुन थिए । धन्य छ यो नेपाली ‘थकाली’ ब्राण्ड । होटल वाला पाति पढ्ने संस्कार बोकेका बाहुन थिए । त्यसैले थकालीको जस्तो प्रोफेसनल हुने त सम्भावना नै थिएन । होटल र होटल मालिक दुवै सामान्य थिए ।

यसै बेला मेरा सम्धीको फोन लागेको थियो । मैले त फोन गर्न नै छोडिदिएको थिएँ । तर सम्धीले गर्नुभएको फोन चरिकोटमा लागेथ्यो । उहाँलाई हनहनी ज्वरो आएको कारणले रामेछापको यात्रा गर्न नपाएको दुःखेसो गर्नु भएको थियो । एकदुई घण्टा चरिकोट बजार घुमेपछि फेरि होटलमा पुगेको थिएँ । बजार त सकिइहाल्यो । चरिकोटको मेरो गन्तव्य भनेको भीमेश्वरको दर्शन गर्नु थियो । अनि मौका मिले चरिकोटका साहित्यकारसँग भेटघाट पनि गर्नुथियो ।

 केही साहित्यिक कुराकानी गरेर मनलाई खुसाउनु पनि थियो । किनकि कुनै वेला प्रख्यात कवि प्रह्लाद पोखरेल त्यो जिल्लाको सिडियो हुँदा दोलखाको बारेमा काव्य नै लेखेको सम्झना थियो । दोलखाको साहित्यिक विशेषता सुनेको थिएँ । अनि म होटलमा भात खाइसकेर भीमेश्वरका लािग सार्वजनिक बस चढन चौक पुगेको थिएँ । जतिवटा बसलाई सोध्छु ‘भिमेश्वर जाँदैन’ मात्र उत्तर आउँथ्यो । अनि मैले एउटा दोकानमा गएर यो कुरा भनेपछि दोकानदारले मलाई भनेका थिए ‘सिकुटे जाने भन्नु न, अनि भिमेश्वरमा उत्रिनु । भिमेश्वर भन्यो भने त कहाँ चढाउँछन् त ?’यसरी म ढाँटेर भिमेश्वर पुगेको थिएँ । जिन्दगीभरि ढाँट्न हुन्न भनेर पढाइएको, शास्त्रले सिकाइएको र पढाउँदै गरेको प्राध्यापक थिएँ म । तर यो बेला मेरो आदर्श तातो पानी लागेर खुइलिएको थियो । मान्छे भन्थे –नढाँटी पनि जीवन चल्छ र !हो रहेछ । यसरी म भिमेश्वरतिर पुगेको थिएँ । खासमा भन्ने हो भने हिँडेरै गएको भए पनि केही समयमा पुगिने रहेछ । जम्मा साढेचार किलो मिटर टाढा त रहेछ । व्यर्थै बिनाबित्थामाढाँट भएँ भन्ने मलाई लागिरह्यो । तर सिकुटे नाम सुन्ने बित्तिकै २०७२ सालले विदीर्ण बनाएको सिकुटेलाई सिम्झेँ । मनमनै कठै भनेको थिएँ । सिकुटेसम्म पुग्ने बाटोको निर्माण र सिकुटेको पुनरनिर्माण भने निकै द्रुतगतिमा भएको छ भन्थे दोलखाली मान्छे ।

भीमेशवर पुग्नु अघि एउटा पार्करहेछ । त्यो दोलखाका राजा इन्द्रदेव सिंहको सालिक राखिएको रहेछ । नेपालकै इतिहासमा चाँदीको मुद्रा चलाउने प्रथम राजाका रूपमा इन्द्रदेव सिंहको नाम लेखिएको ठूलो फ्लेक्स साइनबोर्ड पनि राखिएको थियो । यहाँनजिक म टक्क अडिएर फोटो खिचेको थिएँ । सायद मेरो मोबाइल क्यामरा पनि खुसाएको थियो । यसबेला मैले दोलखालीको चेतलाई सलाम गरेको थिएँ । किनभने नेपालीहरूको एउटा सरदर चेत सार्वजनिक जग्गा भेट्यो कि मन्दिर बनाइहाल्ने र धर्म कमाइहाल्ने हुन्छ । तर दोलखाले एउटा  सुन्दर पार्कको निर्माण गराएको देखेर मन नै रोमाञ्चित भएको थियो । दोलखाले आफ्नो इतिहासलाई सुरक्षा गरेको देखेर इतिहास चेतलाई सलाम गर्न मन लागेको थियो । इतिहास भन्छ कि नेपालका राजा यक्ष मल्ल (सन १४२८ देखि १४४२)ले आफ्नो जीवनको उत्तरार्धतिर आफू धार्मिक काममा लागेर राजकाज नहेर्नाले उनका छोराहरूको महत्वाकांक्षा बढ्यो । उनका सामन्तहरूको मनोवल बढ्यो । र उनको शेषपछि उनका छोराहरूको वैमनस्यताले गर्दा जेठा राय मल्लले पुस्तौनी भक्तपुर,  अन्य भाइहरूले काठमाडौँ र पाटन राज्य लिए । यसैगरी यक्ष मल्लका साहिँला छोरा रण मल्लले भानिज भीम मल्लको सहयोगमा बनेपा राज्य कब्जा गरेका थिए । यो बेला केन्द्रीय नेपालमा अनेकीकृत रुझान सुरु भएको थियो । यही मौकामा पौरखवाला दोलखाका सामन्त उद्धव देवले आफूलाई राजा घोषित गरी ठाकुर र देव वंशको शासन व्यवस्था दोलखामा चलाए । यो मैले इतिहासमा पढेको कुरा थियो । यो पार्कमा सालिक बनाएर राखिएका इन्द्रलेव सिंह यही उद्धव देवका वंशज भएको अनुमान गरेको थिएँ मैले ।

भीमेश्वर पुगेर हेर्दा मैले सोचेभन्दा धेरै फरक थियोमन्दिर । भीमेश्वरको महिमा सुनेको हुनाले यो मन्दिरबारे एउटा काल्पनिक धारणा बनाएको थिएँ । मैले सोचेको थिएँ मन्दिर निकै ठूलो होला । मूर्ति निकै ठूलो होला । कम्पाउण्ड निकै होला । मन्दिर परिसर सफा होला । तर मेरो सोचभन्दा फरक रहेछ परिवेश ।मन्दिर पनि धेरे ठूलो रहेन छ । मूर्ति पनि आकारका हिसाबमा धेरै ठूलो रहेनछ  । कम्पाउण्ड त झन सानो । बली दिइने भएकाले सफाइमा झन् असर परेको प्रष्टै देखिन्थ्यो । मन्दिरका वरिपरि रहेका शिवलिङ्गलगायत धेरै देवी देवताका मूर्तिहरू व्यवस्थाभित्र पनि अव्यवस्थित देखिएका थिए । देवी देवताका मूर्तिहरू कट्कटिएका  अबिर र रङले पोतिएका थिए । नेपालका मूर्तिहरूलाई अबिर, अक्षता र चन्दनले पोतेर विरूप बनाउने नेपाली परम्पराको त्यहाँ पनि अनुशरण गरेको देखिएको थियो । यसले मूर्तिको सुन्दरतालाई निकै धेरै ह्रास गरेको थियो । म नेपालका जुन मन्दिरमा जान्छु, त्यहाँका देवीदेवतालाई अबिराम्य, राताम्य र पहेँल्याम्म बनाएको देखेर मन खिस्स हुन्छ मेरो ।

तर जब मैले खुट्किलामा बसेर मन्दिरलाई एकोहोरो भएर हेरेँ, एउटा भावना मनभित्र आयो । एकपल्ट दोलखा राज्यका राजाहरूलाई सम्झेँ । त्योबेलाको परिवेश र आवश्यकतालाई बुझ्ने प्रयास गरेँ । त्यो बेलाको मान्छेको आवश्यकता र चेतलाई सोचेँ । त्यो बेला काठमाडौँमा त असनका गल्ली बनाउने युग थियो । त्यसैले यो मन्दिर मलाई चिटिक्कको लाग्यो । सर्वगुण सम्पन्न लाग्यो । शक्तिशाली लाग्यो । त्यो बेलाका राजाको चेतको म मनमनै तारिफ गर्न थालेको थिएँ । 

मेरो त पूजा गर्नुपर्ने भाकल पनि थिएन । भाकल गरेर काम फत्ते हुन्छ भन्ने विश्वास पनि थिएन । चन्दा बाकसमा केही रुपियाँ हालिदिएर म मन्दिरभित्र पसेँ । विचरा पूजारीका हातमा पनि आशिर्वचन दिने गरी केही पैसा हालिदिएँ । मन्दिरबाट बाहिरिएँ  र पनि म मन्दिर परिसर वरिपरि लगभग दुई घण्टा बसेँ । त्यहाँबाट देखिने दोलखा बजार र चरिकोट बजारलाई नियालिरहें । यही यात्राबाट मलाई थाहा भयो कि चरिकोट बजार भन्नु र दोलखा बजार भन्नु अलग रहेछ । दोलखा बजार दोलखाली राजाहरूले निर्माण गरेको सदरमुकाम थियो । जहाँ एकाछेउमा दरवार थियो । त्यो दरवारका भग्नावशेष पनि छन् भन्थे मन्दिर पर्तिरको एउटा पाखोमा । त्यो नजिकै भिमेश्वर मन्दिर निर्माण गरिएको थियो । चरिकोट बजार भने आधुनिक रहेछ । आधुनिक सदरमुकाम । दोलखा बजार ऐतिहासिक थियो । चरिकोट आधुनिक थियो । यसरी जोर थुम्का भएर यी बजारहरू बसेका रहेछन् । भीमेश्वरबाट देखिने चरिकोट बजार एकदम मनमोहक थियो । चारैपट्टि डाँडाले बनाएको भञ्ज्याङमा रहेछ चरिकोट बजार । चारैतिर देखिने मनमोहक । भीमेश्वरबाट देखिने हिमाल र वारिपारिका पाखाहरू निकै मनमोहक थिए । 

मन्दिरबाट बाहिरिन त्यति मन लागेको थिएन । किनकि चरिकोटमा पनि मेरो कुनै काम थिएन । अनि झन् मन्दिरका बारेमा मान्छेहरू के भन्छन् भनेर सोध्न थालेको थिएँ । प्राय मान्छेहरू भीमेश्वरका भक्त थिए । धार्मिक कुराबाहेक कसैलाई केही थाहा थिएन । मचाहिँ मन्दिरका बारेमा केही पुराना कुराहरू थाहा पाइन्छ कि भनेर यताउता भौँतारिएको थिएँ । केही किम्वदन्तीहरू सुनाए मान्छेले । जस्तो कि पाँच पाण्डबका माइला भाइ भीमको मूर्ति हो यो । १४ वर्ष वनवास गएका बखत भीम दोलखामा पुगेका थिए । त्यहाँ शासन गर्न थालेका थिए । उनले नेवारी भाषा बोल्थे । त्यसैले नेवारहरू भीमसेनलाई आफ्नो कुलदेवता मान्दछन् । यो मन्दिरमा छाना छैन रहेछ । मूर्ति त्रिकोणात्मक आकारको ढुङ्गाको रहेछ । यो मूर्तिलाई भीम, देवी तथा शिव भनी तीन रूपमा पूजा गर्दारहेछन् । यसको धार्मिक तथा सांस्कृतिक महत्व वास्तवमै निकै धेरै रहेछ । 

साँझमा म बसेकै होटल निउ नमस्तेमा चरिकोटलाई मुकाम बनाउनुभएका साहित्यकारहरू जीत कार्की, मृदु मुरारी, डम्बर चौँलागाई आउनु भएको थियो । मैले उहाँहरू कसैलाई चिनेको थिएन । भेट भयो सौहार्द कुराकानी भयो । साहित्यका कुराकानी भए । म त लघुकथाको मान्छे भएकाले लघुकथा लेखनबारे कुराकानी भए । कथा, छोटा कथा र लघुकथाका भेदका बारेमा कुराकानीहरू भए । मैले मेरा केही पुस्तकहरू उपहार दिएँथेँ  । कफी खाएर छुटिटएका थियौँ । फेरि एउटा घच्चीको साहित्यिक कार्यक्रमसहित भेट्ने वाचा गरेर छुट्टिएका थियौँ  तर समयले फेरि भेट भने गराएको छैन । आफूले सोचेजस्तो समय त कहाँ हिँड्छ र !

भोलिपल्ट याने कि बैसाख २१, २०७५दिन मेरो कालिन्ञ्चोक भगवतीको दर्शन गर्न जाने कार्यक्रम थियो । म एक्लो थिएँ । तर लगातार पानी परेको र म एक्लै भएका कारणले चरिकोटका साथीहरूले कालिञ्चोक जान मलाई सुझाउनु भएन । म दोमन भइहालेँ । अर्कोतिर त्यसै दिनदेखि यातायात व्यवसायीको सिण्डिकेट खारेजीका विरुद्धमा अनिश्चितकालीन यातायात बन्द सुरु भयो । अनि त चरिकोटमै दिनहरू बित्लाझैँ हुने भयो । त्यसो भएर म आफ्नो कुम्लो बोकेर जे पाइन्छ त्यसैमा काठमाडौँ जान भनी चोकमा पुगेको थिएँ । चोकमा त मेला लागेका जस्ता मान्छेहरू काठमाडौँ जाने जोगाड लगाउँदै थिए । म त अलमल्ल भएँ । बन्द कति दिन भन्ने पनि थाहा थिएन । चोकमा दोलखाभन्दा बाहिरका देखिने दुई जना चेलीहरू पनि मजस्तै काठमाडौँ जान कुम्लो आधुनिक झोला बोकेर उभिएका थिए । उनीहरूले मलाई पनि सायद दोलखा बाहिरका ठाने होला र मलाई आएर भने  ‘बुवा, कुनै गाडी रिजर्भ गरेरै भए पनि काठमाडौँ जाऊँ न । यहाँ त कति दिन हो कति दिन बन्द ।’ अनि हामीले ट्राफिक प्रहरीलाई आफ्नो कुरा अवगत गराए पछि उनले पनि लाचारी व्यक्त गरेका थिए । एकैछिनमा एउटा बलेरो भ्यान आयो । त्यो भ्यानसँग काठमाडौँसम्मको प्रतिव्यक्ति भाडाको व्यवस्था गरेर झोला लिन जाँदा त मान्छेले गाडी भरिए छ । हामी त हिस्स बुढी खिस्स हरियो दाँत भएका थियौँ । तर हामीलाई जसरी भएपनि काठमाडौँ जानु थियो । नत्र चरिकोटको होटलमा कतिदिन बस्नु पर्ने हो टुङ्गो थिएन ।

त्यसपछि त्यही सडकमा गिट्टी बोक्ने एउटा टिपर आयो । त्यही टिपरमा अरनिको राजमार्गसम्मका लागि हामी अर्थात म र ती दुई चेली बस्यौँ । त्यो टिपरको अगाडिको सिटमा ड्राइभर हुने भइहाल्यो । अनि बोनेटमाथि एक जना बस्न मिल्ने ठाउँमा हामी तीन जना खाँदियौँ । मरता क्या नही करता भनेझैँ भयो । परिचय हुँदै जाँदा मलाई उनीहरूले बुवा सम्बोधन गरे । मैले जेठी छोरी र कान्छी छोरी साइनो लाएँ । जेठी छोरी उदयपुर बेल्टारकी गीता थापा थिइन् । र कान्छी छोरी काठमाडौँकी उर्सुला सिंह थिइन् । यी दुवै छोरी कुनै एनजिओमा काम गर्दारहेछन् । डाटा कलेक्सनका लागि दोलखाको कुनै गाउँ गएका रहेछन् । यी दुवै छोरीको साहस देखेर म कायल भएँ ।मेरा जम्मा तीन छोरी छन् । म मेरा छोरी यस्तै साहसिला हुन् भन्ने चाहन्थेँ । भए भएनन् मलाई थाहा छैन । तर यी दुई नयाँ छोरी त ठ्याक्कै मैले कल्पना गरेका साहसी छोरी थिए । हाम्रा जीवन दृष्टिकोणहरू मिल्न गए । हामी गफिँदै, चेप्टिँदै, हाँस्दै, कहर खेप्दै टिपरको यात्रा सुरुगरेका थियौँ ।

चरिकोटबाट अरनिको राजमार्ग निस्कने यो बाटो फराकिलो थियो । तर बाटो बढाउने कामले गर्दा खाल्डा खाल्डीको त कुरै गर्नु परेन । त्यो कहरपूर्ण रोमाञ्चक यात्रा हुन पुग्यो । पुवाँले, मकैबारी, डोबाटे, खरिढुङ्गा, सिन्धुपाल्चौक, आहालडाँडा, निगालेबजार, मुडे, शैलुङ्गेश्र, शिलढुङ्गा, ठुलो पोखर, थुमपाखर, स्वार्नामा अरनिको हाइवे भेटियो । सायद मुडेमा खाना खान गाडी रोकियो । मैले फलफूल खाएर छाक टारेँ । तर ती दुई छोरी भने एउटा होटलमा पसेर चना खाने विचार गरे । गीता अण्डा मात्र खाने माछामासु नखाने तर चनामा कुखुराको छेस्को भेटियो अनि झण्डै बान्ता गरिन् उनले । मैले पनि जीवनका २४ वर्षहरू मासु खाइनँ । त्यो पीडाको याद आयो ।मासु खाने र मासु नखानेका  बीचमा  बिहे भएका जोडीको मनोवैज्ञानिक पीडा जस्तै लाग्यो मलाई ।

अरनिको राजमार्ग आइपुगेपछि दोलखामा किन यति आकर्षण भयो राजाहरूको भन्ने कुरा मेरा मनमा आयो । माथिपट्टि हिमाल देखिने । ठूला ठूला हरिया फाँटहरू ।आँखालाई हरियो परियो । खानलाई रसिलो पोसिलो । पाखाभरि आकासमा ताराजस्ता टिनका छानाहरू टल्किएका । बादल लुकामारी गरिरहेका । हावाको झोँकामा कुहिरोको कुदाइ निकै मनमोहक । पुरानो बेला त तिब्बतसँगको व्यापारको बाटो आदि र पूर्वकै ठूलो व्यापारकेन्द्र ।

मैले यात्रा गरेका पहाडी जिल्लामा यो दोलखा सबैभन्दा रोजा थियो मेरा लािग  । निकै राम्रो र गजब । त्यसै भएर दोलखा सबैको केन्द्र बनेको थियो । अरनिको राजमार्गबाट अँधेरी, कोठे, बलेफी आइपुगिएको थियो । बलेफीबाट जलबिरे जाने कच्ची बाटो छुट्दोरहेछ । हामी भने अनिको हाइवेमा सुकुटे, चेहेरे हुँदै दोलालघाट पुग्यौँ । दोलालघाटमा इन्द्रावती र सुनकोसी मिसिने रहेछ । चौतारा जाने सडक पनिदोलालघाटबाट नै छुट्टिने रहेछ । फुरसाङबाट हेलम्बु जाने बाटो । फुरसाङ्सम्म हामीलाई टिपरले जसोतसो ल्याइदिएको थियो । हामी त्यहाँ आर्लेर चिया खान थालेका थियौँ । म भने बास बस्ने होटल कहाँ होला भनी नियाल्न थालेको थिए । तर कान्छी छोरीले काठमाडौँमा आफ्ना बुवालाई फोन गरेर पत्ता लगाइन कि फुरसाङबाट मयुर यातायातले बन्द नमानेर प्रहरी सुरक्षामा काठमाडौ कोटेश्वरसम्म चलेको छ । नभन्दै मयुर आयो । यसपछि फुरसाङबाट पाँचखाल, दुलाल थोक, ख्वव बसपार्क, भट्टेडाँडाहुँदै धुलीखेल । त्यसपछि काठमाडौँ । धन्य मयुर यातायात । धन्यवाद मयुर यातायात । अहिले पनि मयुर यातायातलाई देख्दा मेरा मनमा यो चाहि मेरो बस हो भनेझैँ लाग्छ । यो चाहिँ जनताको बस हो भन्ने लाग्छ ।

यसरी विभिन्न कहर खेप्दै काठमाडौँ आएपछि पनि सम्धीसँग भेट भएन । न उहाँले मलाई खोज्नुभयो, न मैले उहाँलाई खोजे । दिनहरू यथावत बित्न थाले । म यायावरीय मान्छे केही समयपछि नै मलाई अमेरिका फिर्नु थियो । २०७५ जेठ १२ को रात थियो । माइली छोरी मनूशीलाले अमेरिकाबाट फोन गरेर भनेकी थिइन् कि सम्धी त रामेछापमै बित्नुभयो ।

अहिले जब म एक्लो तामाकोसीको फन्को मार्ने यात्रालाई सम्झन्छु, सम्धीको नाकका प्यालमा रुवा कोचिएको श्वासबिनाको अनुहार मेरा  समीपमा आउँछ र भन्छ  यो जुनी त त्यत्तिकै भयो सम्धीज्यू, अर्को जन्ममा मिल्यो भने तामाकोसीको फन्को सँगै लगाउँला है !

प्रकाशित: २१ असार २०७७ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App