म गुलाफको फूल
कसैले भने
तिमी गुलाफको फूल हौ!
के म त्यही
कोमल गुलाफको फूल हुँ त?
रक्तिम लाली अंगभरि फिँज्दै
पत्रपत्रमा मग्मगाउँदै
निश्छल र स्निग्ध प्रारूप जस्तै
कसैको मनभरि फुल्ने
के म गुलाफ हुँ त?
सृष्टिको अनुपम कला रे
प्रकृतिको लालित्य छटा रे
भन्नेले त खै केके भनेभने
तर म !
कहिले काँडाहरूसँग पौँठेजोरी खेल्दै
कतै भमराको कामुक वासना छल्दै
घामपानी र असिनाको कठोर नियतिलाई
भोग्दै फूल बनेकी हुँ।
मेरो सौन्दर्यलाई सुम्सुमाउँदै
केही सुकोमल हातहरू
केही दरफराउने हातहरू
स्पर्सको लालसाले
बाटोभरि नजर बिछ्याउँछन्
र प्यास मेटाउन खोज्छन्।
हो म त्यहीँ कोमल गुलाफ हुँ
श्रद्धाले हेर्दा म सुन्दर हुन सक्छु
विश्वासले हेर्दा कोमल हुन सक्छु
सुन्दर प्रकृतिलाई बुझ्न खोज्दा
जीवनको सार हुन सक्छु।
तर
तर कामुक हेराइमा
वासना देखिन सक्छु
र त पटकपटक साटिन्छु म
कहिले देवालयमा
कहिले विजयोत्सवमा
कहिले पर्व, कहिले हर्ष
कहिले आश कहिले लाश
सबैतिर म साटिन्छु
शुभकामनामा होस् या प्रणयमा
निसर्त म साटिइरहन्छु।
के थाहा?
फूल चुँडेर लानेहरूलाई
कोपिलादेखि फूलसम्मको यात्रामा
कतै तापमा छटपटिँदै
कतै ठिहीमा कठाँग्रिदै
तप तप आँसुका शीतहरू
पोखेर हरबिहानी
फुलेको हुन्छ
गुलाफ पनि !!
अन्तिम चिठी
प्रिय संसार!
जुन दिनदेखि तिमीले
धर्ती छाडेर आकाश छुने संकल्प ग¥यौ
र मेरो भरिभराउ काखलाई
क्षणभरमै रित्तो बनाएर
मबाट मुक्त हुने बाटो रोज्यौ
हो, त्यही दिनदेखि
मेरा बाँच्ने आधारहरू पनि
भासिदै गएका हुन्
तिम्रा उचाइ छुने पाइलाहरूसँगै।
तिमी सानै छँदा
हाम्रो फाटेको जीवनलाई
आशाका किरणहरूले जसोतसो सिलाउँदै
तिम्रो सपाट भविष्यको रक्षार्थ
जुधेका ती समयका आँख्लाहरू
आज पनि साक्षात्कार गर्छन्
मैले फेरिरहने हर श्वाससँग।
याद छ तिमीलाई
ती दिनहरूमा
तिम्रा लरबराएका आवाजहरूलाई
मेरै आत्मविश्वासका आडले बुलन्द बनाएका थिए
तिम्रा धर्मराएका पाइलाहरूलाई
मेरा पौरखी हातहरूले उभ्याएका थिए
तिम्रो एकपछि अर्को पाइलाको सफलतामा
सिँढी बनेका मेरा त्याग र समर्पण
आज तिमीबाट नै अर्थहीन बनाइदिँदा
लाचार, विवश र दुःखी भने अवश्य छैन म।
किनकि पखेटा लागेका बचेराले
एक दिन त अवश्य गुँड छाडेर जानु नै छ भने
मैले तिम्रो बाटोमा तगारो बन्नु त अवश्य हुन्न।
त्यसै पनि समाजका धारहरूसँग
कैयौंपटक रेटिँदै, मुर्छा पर्दै
बिउँतेका मेरा हरेक धड्कनले
तिमीलाई कहिल्यै कहीँ कतै खुम्चिन दिएन
र त आज निस्फिक्रीसित फैलिन सकेका छौ
आफैले रोजेर खनेका गोरेटाभरि।
मेरो प्रिय सन्तान!
मात्र अफसोस यहाँनिर छ कि
यतिखेर तिमीलाई असन्तुष्टिको कीराले टोकिरहेको छ
तिम्रो ब्रह्माण्डलाई रोगी बनाइरहेको छ
जसलाई निको पार्न
कुनै त्यस्तो औषधिको आविष्कार भएकै छैन।
मैले तिमीलाई जीवनको पाठ
सिकाएको समय पनि निकै पर छुटिसकेको छ
अहिले त तिमीसँग तिम्रै समय छ
जसको गुरु पनि आफैँ हौ।
मसँग त तिमीबाट छुटिसकेका
केही थान समयका अंशहरू मात्र छन्।
जुन अंश मातृत्वले भिजेका
सुकुमार सम्झनाका कोसेली हुन्।
र यहीँ नै पर्याप्त छन्
मेरा जीवन काट्ने बहानाहरू।
अन्तिममा, जाँदाजाँदै तिमीलाई
मेरो एउटै प्रश्न
मेरो प्रिय संसार मेरो सन्तान
यो धर्तीलाई सधैँ धूलो मात्र देखेका
तिम्रा मन र मस्तिष्कले
तिमीले छुन खोजेको
आकाशको मूल्चाहिँ कति हो?
कंक्रिटको पहाड
वर्षौंदेखि धूलोको च्यादर
ओड्दै बसेको कङ्क्रिटको पहाडले
हिजोआज आफूलाई पोत्न
सकेको छैन सुनौलो बिहानीले
र त उजाड उजाड छ
मरुभूमिझैँ उराठ उराठ छ
फुङ्ग उडेको बेरङ्गको
वर्षौंदेखि थला परेको दीर्घरोगीजस्तो ।
छन त हिमाली चिसो
सुसेली गाउँदै रुमानी शीतलता छर्न
झरिरहेको छ हरजीवमा प्राण भर्न
तर खबरदारी गर्दै कंक्रिटको पहाडले
एकै स्वासमै सलक्क निलेर
बाफिलो बनाइदिएको छ
हिमाली चिसोको अस्तित्व।
जगत सिंञ्चित गर्दै मानव सभ्यता बसाल्न
आफ्नो बाटो आफैँ बनाउँदै हिँडेकी बाग्मती
मानवबाटै निर्ममतासाथ मारिएकी छ
उसका अवयवहरू कुहिएका छन्
र त कंक्रिटको पहाड
झन्झन् डुङ्डुङ्ती गन्हाएको छ।
जसरी यहाँको धरातल
दिनदिनै विषाक्त बनाइँदै छ
त्यसरी नै विषालु बन्दै छन्
मानवरूपी खम्बाहरू
त्यसैले यहाँ सबै यसरी नै
अमानुसिक ढंगले मादैछन् आफ्ना मनहरू
अर्जाप्दै छन् सैतानी दिमागहरू।
कंक्रिटको मनले चलाएको राज्य
कंक्रिटको पहाडमा
बेचेर मानवता गुमाएर अस्तित्व
अर्थहीन जिउँदो लास भई बाँच्न
कहिलेसम्म सक्छौँ हामी।
यस्तो विषम परिस्थितिमा
धरमराएको विश्वास बटुलेर
बाग्मती शिरमा लिएर
बचाउन खोज्यौँ भने
कंक्रिटको पहाड
भानुभक्तले देखेजस्तै
बन्न सक्छ अमरावती कान्तिपुरी नगरी
बन्न सक्छ अलकापुरी कान्तिपुरी नगरी
बन्न सक्छ शिवकी पुरी कान्तिपुरी नगरी।
प्रकाशित: २० असार २०७७ ०१:४६ शनिबार