१६ चैत्र २०८० शुक्रबार
कला

मुलुकलाई चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखनकार्य प्रारम्भ

नेपाली वाङ्मयका क्षेत्रमा युगीन महत्वका अनेकौँ कामहरू सम्पन्न गरिसकेको नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको ६२ औँ वर्ष पूरा गरी ६३ औँ वर्षमा प्रवेश गरेको अवसरमा संघीय गणतन्त्रअनूकुल मुलुकलाई चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखन कार्य प्रारम्भ गरेको छ । प्रतिष्ठान ६३ औँ वर्षमा प्रवेश गरेको अवसरमा मुलुक चिनाउने बृहत् ग्रन्थ‘ नेपाल दर्पण’ लेखन कार्यको प्रारम्भ गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीका अनुसार हरेक प्रदेशका सम्पूर्ण पक्षहरू समेटिएका एक एक ग्रन्थ र ती सबैको एउटा सिङ्गो रूप ‘नेपाल दर्पण’ तयार गरी त्यसलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशन गरिनेछ । 

त्यस्तै महाकवि देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने, ‘नेपाली बृहत् शब्दकोश’लाई युगानुकूल प्रविधिमुखी बनाउन एपमा लैजाने, ‘नेपाली बृहत् शब्दकोश’को परिमार्जित दशौँ संस्करण प्रकाशन गर्ने, नेपालका सम्पूर्ण साहित्यकारहरू र कलाकारहरूको परिचयात्मक ग्रन्थ साबिकको ‘साहित्यकार–कलाकार परिचयकोश’ लाई परिमार्जनसहित ‘लेखक–कलाकार परिचयकोश’ का रूपमा प्रकाशन गर्ने, लगभग डेढ लाख शब्दहरू समेटिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशन गर्ने, नेपाली भूमिमा उत्पत्ति भएका सम्पूर्ण दर्शनहरू समेटिएको ‘नेपाली दर्शन’ ग्रन्थ प्रकाशन गर्ने प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

नेपालका भाषा, साहित्य, कला, दर्शन, इतिहास, संस्कृति, पुरातत्त्व, सङ्गीत, समाजशास्त्र, मानवशास्त्र, विज्ञान आदि विषय र तिनका विभिन्न विधा–उपविधाहरूको अध्ययन–अनुसन्धान, विमर्श र प्रकाशन गर्ने र नेपालको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार समेत गर्ने उद्देश्यले स्थापित यो नेपाल प्रज्ञा–प्रतिष्ठान हाल भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र जस्ता पाँचओटा विषय क्षेत्रमा विशिष्टीकृत भएको कुलपति उप्रेतीको भनई छ । उनका अनुसार पाँचओटा विषय क्षेत्रका ११ ओटा विभागहरू क्रियाशील छन् । 

यी प्रत्येक विभागअन्तर्गत वार्षिक रूपमा अध्ययन–अनुसन्धान, गोष्ठी, कार्यशाला, अन्तरक्रिया एवम् प्रकाशनका कार्यहरू भइरहेका छन् । उप्रेतीले वर्तमान परिवेशमा विश्वव्यापी रूपमा देखापरेको कोरोना भाइरस (कोभिड १९) को महामारीबाट वाङ्मय क्षेत्र पनि निकै प्रभावित भएको उल्लेख गर्दै यसै बिचमा पनि सुरक्षाका विधिहरूलाई अपनाउँदै अनुसन्धान, सम्पादन र प्रकाशनका कामहरूलाई निरन्तरता दिइरहेको जानकारी गराएका छन् । 

कोरोना भाइरसका कारण नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सव समारोह र राष्ट्रिय कविता महोत्सव– २०७७ सहज अवस्था नआएसम्मका लागि स्थगन गरेको प्रतिष्ठानले सार्वजनिक सूचनामार्फत पहिले नै जानकारी गराएको थियो । २०१४ साल असार ९ गते नेपाली साहित्य कला एकेडेमीका नामबाट यस नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएको थियो । पछि ऐन जारी हुँदा नेपाल एकेडेमीको नाम पाएको यो प्रज्ञा–प्रतिष्ठान बिचमा रोयल नेपाल एकेडेमी र नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै २०६२÷०६३ को लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनको सफलतापछि जनभावनाअनुरूप २०६४ मा जारी ऐनअनुसार हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका रूपमा सञ्चालित छ ।

प्रकाशित: ९ असार २०७७ ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App