१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

प्रवासबाट संगीत सिर्जना

युरोप कर्मथलो बनाई साहित्यिक तथा सांगीतिक गतिबिधि गरिरहेका स्रस्टाहरुले कोरोना महामारीको समयमा विभिन्न सिर्जनाहरु गरेका छन्। स्विडेन निवासी डा. ब्रिजेश र शोभिताले हालसालै ‘किन हो किन कुन्नि सपनीहरुमा उनी’ नामको लिरिकल म्युजिक भिडियो सार्वजनिक गरेका छन्। 

म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा ब्रिजेशको शब्द , दिपक शर्माको संगीत र गायक अमित बरालको स्वर रहेको छ। स्वीडेनमा सहायक प्राध्यापकको रुपमा कार्यरत डा. ब्रिजेशको यसअघि पनि दिपक शर्माकै संगीतमा ‘यो देश बनाउने जिम्मा कसको हो ..’ बोलको गीत सार्वजनिक भएको थियो। त्यस्तै डेनमार्क कर्मथलो भएका कथाकार तथा गीतकार प्रभात किरणको शब्द शिव परियारको स्वर, कोशिष क्षेत्री र उदय राज पौडेलको संगीत संयोजन रहेको गीत ‘नानी’ पनि  युट्युबबाट सार्वजनिक भएको छ। प्रवासमा रहेर पनि नेपाली गीत संगीत, कला साहित्यमा कलम चलाई रहेका प्रभात किरणको गत वर्ष मात्र कथा सङ्ग्रह तथा २ वटा गीतहरू सार्वजनिक भएका थिए। डेनमार्कमै रहेर नेपाली संगीत सृजनामा क्रियाशील गायक राजमान तामाङले पनि हालै नयाँ गीत ल्याएका छन्। लिरिकल भिडियोमा रहेको गीत ‘रिमझिम रिमझिम…’ युट्युब मा सार्वजनिक गरिएको हो।  

डेनमार्कमा रहेका कृष्ण पौडेल ‘अञ्जान’को शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। सम्पादन मिन गुरुङले गरेका हुन्। तामाङले गाएको ‘पूर्वमा धरान राम्रो पश्चिममा पोखरा…’ र ‘हल्का हल्का…’ गीत चर्चित छन्। डेनमार्कमै रहेर सामाजिक कार्यमा संग्लग्न रमेश काफ्ले बिदामा नेपाल गएका थिए लक डाउनले उतै अल्झेपछि राजकुमार बगरको संगीतमा सन्जिब बराइलीको एरेन्ज र प्रताप दासको स्वरमा तिम्ले मलाई बुझीनौ भने भन्ने प्रेमिल गीत को रेकर्डिङ गराएका छन्। प्राय सबै गीतहरुमा लकडाउनको बेला आफ्ना प्रियसीहरुलाई भेट्न नपाएर बसेका प्रेमी हुन् वा प्रेमभाव अभिव्यक्त गर्न नसकेका प्रेमीहरुको मनोभाव समेटिएको छ।  

प्रवासमा रहेर पनि अलि फरक खालको नेपाली गीत संगीत, कला साहित्यमा कलम चलाई रहेकी नर्बे निवासी साहित्यकार बिष्णु माया बिभुले पनि युट्युब मार्फत नै 'आउन पाइन घरमा...' भन्ने गीत सार्बजनिक गरेकी छन्। हरि लम्सालको संगीत रहेको उक्त गीतमा सन्जिब पराजुलीको स्वर रहेको छ। राजनैतिक बेथितिले जन्माएका चुनौतिहरुको भेलमा हुत्तिएर परदेश पुगेका कैयौं नेपाली कोरोनाका कारण यतिबेला चाहेर पनि देश फर्कन पाएका छैनन्, फर्काउने प्रक्रियामा पनि झनै अलमल गरिएको छ। सोहिकुरा गीतमा समेटिएको बताउने बिभुले जहाँ सुकै छौं सुरक्षित बसौं भन्दै फर्कन चाहनेले छिट्टै फर्कन पाउनु पर्ने बताइन्।  

 

प्रकाशित: ७ असार २०७७ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App