१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

'जुधेर भएपनि सिनेमा हल खोल्ने बेला भयो'

शनिबार पोखरामा भएको ‘लकडाउन पछिको नेपाली चलचित्र : चुनौति, यथार्थ र सम्भावना’ विषयक विशेष बहस कार्यक्रममा निर्देशक अनुप बराल, अभिनेता माओत्से गुरुङ र हल सञ्चालक निकेश द्वासहित कार्यक्रम सहजकर्ता अपिल त्रिपाठी । तस्बिर : नागरिक

नेपाली चलचित्रका अगुवाहरुले अबपनि कोरोना कोरोना भन्दै बस्न नहुने बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको ‘लकडाउन पछिको नेपाली चलचित्र : चुनौति, यथार्थ र सम्भावना’ विषयक विशेष बहस कार्यक्रममा बोल्दै उनीहरुले कोरोना महामारीका बाबजुद चलचित्र निर्माणको क्रम र सिनेमा हल सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

सञ्चारकर्मी अपिल त्रिपाठीले सहजीकरण गरेको कार्यक्रममा मुख्य वक्ताका रुपमा रहेका निर्देशक अनुप बरालले कोरोनाका कारण ठप्प रहेको चलचित्र निर्माण र सिनेमा हल खोल्नुपर्ने बेला आएको बताए । कोरोनाको महामारी कहिलेसम्म जान्छ भन्ने कसैले भन्न सक्दैन,‘उनले भने,‘त्यसैले कोरोनासँग जुधेर भएपनि हल खोल्ने बेला भयो, सिनेमा निर्माण गर्ने बेला आयो ।’ उनले चलचित्र प्रदर्शनका लागि मापदण्ड बनाउनुपर्ने भए त्यो बनाएर भएपनि हल सञ्चालनमा भन्दै अगाडि थपे,‘यो कसको काम हो ? सरकारको भए सरकारले गर्नुपर्छ, हैन हल सञ्चालक वा अरु कसैले भए जसले हो त्यसले अब त्यो काम गर्नुपर्छ ।’ 

अब पनि हल सञ्चालनमा नल्याउने हो भने त्यसले नेपाली चलचित्रको अर्थतन्त्र र कलाकारलाई दुरगामी असर पर्ने चेतावनी दिए । उनले नेपाली चलचित्रलाई पहिलेकै अवस्थामा फर्काउनका लागि कोरोनाको कारण उत्पन्न डर हटाउनु आवश्यक रहेको औंल्याए । डरलाई कसरी हटाउने भन्ने अहिलेको सबैभन्दा ठूलो चुनौति हो,‘उनले भने,‘किनकी डरसहित हलमा पुगेकाले चलचित्र हेरेर मनोरञ्जन (ईञ्जोय) लिन सक्दैन ।’

निर्देशक बरालले हल सञ्चालनमा आउनुअघिसम्म डिजिटल रिलिज विकल्प हुनसक्ने बताए । यद्वपी लगानीको जोखिम भने यसमा रहने उनको भनाई छ । तत्काल हल सञ्चालनमा ल्याउन नसक्ने हो भने डिजिटल रिलिजमा जानुपर्छ,‘उनले भने,‘तर यो तत्कालको विकल्प मात्रै हो, किनकी हलमा गएर चलचित्र हेर्नुको छुट्टै मज्जा छ ।’

बरालले नेपाली चलचित्र उद्योगमा परिवारबाद भन्दापनि समूहबाद (ग्रुपिज्म) रहेको बताए । नाताबाद नै त म देख्दिन,‘उनले भने,‘बरु समूहबाद भने देखिन्छ, आफ्नो समूहकालाई प्राथमिकतामा राख्ने र काम गर्ने ।’

अभिनेता माओत्से गुरुङले पनि कोरोनाको कहरका कारण कलाकार र प्राविधिक संकटमा परेको बताए । सँधै कोरोना कोरोना भनेर बस्नु हुँदैन,‘रोगले भन्दा भोकले सताउने बेला भो, अब चलचित्र निर्माण पनि र हलपनि सञ्चालनमा ल्याउनुपर्छ ।’

चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले व्यवसायीक चलचित्र उत्पादन र प्रदर्शनको पुरानै अवस्थामा फर्किनु अहिलेको प्रमुख चुनौति रहेको बताए । भिडियो सन्देश पठाएका उनले चलचित्रलाई पुरानै अवस्थामा कसरी फर्काउन सकिन्छ भन्ने मार्गचित्र बनाउनका लागि एक समिति बनाएको बताए । निकासको मार्गचित्र बनाउन हामीले एक समिति बनाएका छौं,‘उनले भने,‘सो समितिले दिएको सुझाका आधारमा विकास वोर्ड अगाडि बढ्छ ।’

मिडटाउन चलचित्र हल पोखराका सञ्चालक निकेश द्वाले सामाजिक दुरी कायमसहित मास्क लगाउने र सेनिटाइजर प्रयोग गरेर हल सञ्चालन गर्न सकिने बताए । तर त्यसका लागि मापदण्ड कायम गर्नुपर्ने उनको भनाई छ । उनले हलको विकल्प खोजिहाल्ने बेला नभएको जिकिर गरे । चलचित्र हल सँधैका लागि र सबैका लागि उपयुक्त छ,‘उनले भने,‘कोरोना कहर भएपनि अहिले नै हलको विकल्प खोजिहाल्ने बेला भएको छैन ।’

 

 

 

प्रकाशित: ६ असार २०७७ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App