coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

भर्चुअल संस्कृत कवि सम्मेलन सम्पन्न

प्राचीन भाषा संस्कृतका कविहरु प्रविधिको प्रयोग गरेर भर्चुअल कवि सम्मेलन सम्पन्न गरेका छन् ।  जयतु संस्कृतम् संस्थाले आयोजना गरेको दुई दिने कवि सम्मेलनमा ६० जना कवि एवं कवियत्रीले संस्कृत भाषामा लेखिएका आफ्ना रचना पाठ गरेका थिए । राष्ट्रिय भावना, स्वसंस्कृति, कोरोना भाइरस लगायत समसामयिक विषयका कविताहरू सम्मेलनमा वाचन गरिएको संस्थाका अध्यक्ष डा बद्री पोखरेलले बताए ।  

उनका अनुसार संस्कृतका विद्वानले आधुनिक प्रविधिलाई उपयोग गर्न सक्दैनन् भन्ने टिप्पणीलाई जवाफ दिँदै कवि एवं कवियत्रीले शास्त्रीय छन्दमा लेखिएका मीठा कविता सुनाए ।

कोरोना भाइरसको माहामारीका कारण देश नै लकडाउनमा छ । यस्तो बेला विभिन्न जिल्लामा रहेका कवि एवं कवियत्रीहरूको भर्चुअल कविता सुन्ने र सुनाउने अवसर जुराएको थियो । सम्मेलनमा अमेरिका, जर्मन, बेलायतमा रहेका संस्कृतका कवि एवं कवियत्रीले पनि रचना पाठ गरेका थिए ।  

जयतु संस्कृतमले विगत २३ वर्षदेखि संस्कृत कवि सम्मेलनको आयोजना गर्दै आएको पोखरेलले जानकारी दिए । । उनले संस्कृत भाष ब्रह्माण्डलाई समेट्ने भाषा भएको बताउँछन् । नासाले समेत संस्कृत भाषामा कम्प्युटर सफ्टवेयर बनाउन लागेको उनले सुनाए । अन्तरिक्षमा समेत ध्वनि परिवर्तन नभई पुग्ने विश्वको एकमात्र भाषा प्रमाणित हुँदा यसका विद्यार्थीले गौरव गर्नुपर्ने उनको भनाई थियो ।

दुई दिने गोष्ठीमा वाचन भएका कविता प्रकाशन गरिने समेत उनले बताएका थिए । गोष्ठीलाई सम्बोधन गर्दै नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलले सम्मेलनले संस्कृत भाषाको महत्व र विशेषता र यसको संरक्षणमा योगदान पुर्याएको बताए ।  

विश्वका धेरै भाषाको जननी संस्कृत संस्कारित र परिमार्जित भाषा भएकैले पछिल्लो समय विकसित देशसमेत यसतर्फ आकर्षित भइरहेको उनले जानकारी गराए । नेपालमा पनि संस्कृत भाषालाई अनिवार्य विषयका रुपमा समावेश गरिनुपर्ने सुझाव दिए ।  

७४ औँ जयतु संस्कृतम् दिवसका अवसरमा असार १ गते दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम् स्तम्भमा माला अर्पण सहित विश्व शान्तिको संकल्पले स्वस्ति वाचन गरिने संस्थाका महासचिव डा नवराज कट्टेलले जानकारी दिए ।  

विगत वर्षमा पदयात्रा र उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने गरिएको समेत जानकारी दिए । उनले लकडाउनले गर्दा यस वर्ष कार्यक्रमहरू स्थगित भएको बताए ।  

विसं २००४ सालमा तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका साथै आधुनिक विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै जयतु संस्कृतम् आन्दोलन गरेका थिए । यो आन्दोलन नेपालको पहिलो विद्यार्थी आन्दोलन हो ।

प्रकाशित: २९ जेष्ठ २०७७ १९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App