१६ चैत्र २०८० शुक्रबार
कला

पुस्तकहरुको परित्राण

‘निर्दोष डेरावाल’

परीक्षा अवधिभर सञ्चार माध्यमबाट टाढा बस्ने निधो गरेँ। त्यो त फगत मेरो एकल निर्णय न थियो। नन्दीको म्यासेजको कदम्ब बढेर साँझमा मलाई व्यस्त बनाउँथ्यो।

हो, एकदिन नन्दी मेरो बसेरामा आएकी थिई। हामी बीचमा परीक्षाभर नभेट्ने सल्लाह हुँदाहुँदै पनि नभेटि रहन नसक्ने भन्दै रोईकराईसहितको चीत्कार सुनाई। उसको चीत्कार सुन्नेबित्तिकै मैले बोलाइहालेँ। केहीबेरमै ऊ हाजिर थिई। सायद ऊ दगुर्दै आएको हुनुपर्छ। उसको सास केही बढेको थियो। स्वाँस्वाँ र फ्याँफ्याँ गर्दै आइपुगेकी थिई। जे होस्, आऊ भनेको दसै मिनेटको अवधिमा उसको आगमन भयो मेरो कोठामा। हप्तादिनपछिको भेट थियो त्यो।

नन्दी आइपुग्नेबित्तिकै चुपचाप मलाई एउटा झोला दिई। निकै गह्रौँ थियो झोला। म अवाक् भएँ। मैले उसलाई हेर्न पनि भ्याएको थिइनँ। झोला समाउँदै उसको अनुहारतिर गौर गरेँ। ऊ निसास्सिएकी जस्ती देखिन्थी। अनुहारमा चमक छँदै थिएन। सुकेर खण्डहर भएकी देखिन्थी।

आखिर के भयो नन्दीलाई फेरि ? के लिएर आएकी हो यो ? मेरो मनले धेरै प्रश्न गरिरह्यो। मैले हत्तपत्त झोला खोलेँ। दर्जनभन्दा बढी उपन्यासहरू पाएँ ! आश्चर्यमा पर्दै सोधेँ, ‘किन यो सबै ? कसरी यहाँ ? उसले थरथरिएको आवाजमा सुँकसुँकिँदै भनी, ‘खै के भनुँ ! गुण्डकहरू नै शत्रु भएपछि कसको के लाग्छ र ? आफ्नो मुखबाट यत्ति आवाज खसालेर ऊ जोडले सुँकसुँकिन थाली।

मैले बुझिहालेँ नन्दीको आशय। म केही बोल्न सक्ने अवस्थामा थिइनँ। मौन बसेँ। नन्दी धुरूधुरू रुन थाली। सायद ऊ घरमा रुने ठाउँ नभेटेर उपयुक्त ठाउँ खोज्दै आएकी थिई।

‘मेरो इच्छाअनुसार मेरो भविष्य बनाउन दिइँदैन भने म यस संसारमा बाँच्नुको के अर्थ ? के फगत संसारमा सास फेर्नका लागि मात्र बाँच्ने हो र ? आफ्नो क्षमताअनुसारको देन दिएर संसारबाट बिदा हुने होइन ? मेरो परिवारले मेरो ईच्छा र क्षमता कहिल्यै बुझेनन्। खालि पढ्नुपर्छ भन्छन्। के पढ्नुपर्छ, किन पढ्नुपर्छ, थाहा छैन उनीहरूलाई।’ उसले सुकसुकाउँदै यति भनी। मैले केही बोल्नु उपयुक्त ठानिनँ। उसलाई सुनिरहेँ। उसले फेरि भन्न थाली—

‘म साहित्यमा लाग्छु, यसैमा केही गर्न सक्छु भनेर बारबार भनिरहेँ। अहँ, मेरा आमाबाबाले मेरो कुरा सुन्नै चाहेनन्। मैले रातभर जिद्दी गरेँ। रातभर झगडा गरेरै बसेँ। हजुरको नाम बारबार आइरह्यो बीचमा। खालि बाहुन–साहुन १ त्यै बाहुन केटो। खराब केटो। मैले हजुरको केही दोष छैन भनिरहेँ। तर मेरी आमाले सबै दोष हजुरको भनिरहनुभयो। धन्न त्यो दिन तपाईं हिँडिहाल्नु भएछ, यदि ममीले देखेको भए त तपाईंलाई मार्नु नै हुनेरहेछ। बाबा पनि पछिपछि हुनुहुँदोरहेछ। मैले बाबा र ममीसँगै अबदेखि तपाईंसँग नभेट्ने भनेर कसम खाइसकेँ।’

अझै पनि म केही बोलिनँ। एकोहोरो सुनिमात्र रहेँ। मैले बुझिसकेको थिएँ— ऊ मनको भडाँस पोख्न यहाँ आएकी हो। त्यसैले उसलाई सुनिरहेँ। सुनिरहनु नै उचित ठानेँ। ऊ फेरि अगाडि बढी—‘त्यति नगरी मैले हुँदै भएन त के गर्नु ? माया गर्न झूटो बोल्नुपर्दो रहेछ। मैले पढ्दै जाँदा धेरै कथाहरूमा यस्तो पनि भेट्टाएकी छु।’  

ऊ साहित्यतिर जोडेर आफ्नो वर्तमानको प्रेमलाई हेरिरहेकी थिई। उसका कुराहरू सुन्दासुन्दै मलाई अत्यास लाग्छ। हृदयभित्र एकैचोटि खैलाबैला भएर म आयलकायल हुन्छु। पछिल्लो समय त म उसको कुरा सुनेर डराउँछु पनि।म गम्न पुग्छु, मलाई केही त हुने होइन यहाँ ?

घरीघरी ऊ छिनभरमै हर्षित हुँदै भन्छे, ‘साहित्य लेख्न थालेपछि त सजिलो हुँदोरहेछ नि। नथालिन्जेल त के हो, के हो जस्तो भएथ्यो। जब सुरुवात गरेँ, तब धाराप्रवाह लेख्न आइरहेको छ मलाई।’

मलाई कौतूहलता जाग्छ र सोध्छु, ‘केको बारेमा लेख्न सुरु गर्यौ त ?’

‘त्यो त कहाँ भन्न मिल्छ र’ ऊ हाँस्दै भन्छे।

‘खै हेरूँ।।। !’ म भन्छु। ऊ पहिलेझैँ लजाउँछे। उसको ओठमा मुस्कान छल्कियोस् भन्दै म भन्छु, ‘उही त हो नि तिम्रो लेखाइ, भावना वा प्रेमपत्र।’ऊ मेरो भणकलाई निफर ठान्दै भन्छे, ‘छ्या त्यो त मेरो स्वचालित पहिलो भावना थियो। मैले लेख्छु भनेर पनि लेखेकी होइन त्यो। आफसेआफ आएथ्यो मलाई। तपाईंकै बारेमा आइदियो, त्यस्तै आइदियो त म के गरूँ ?’

‘ठीकै छ त। राम्रो थियो प्रेमपत्र।’ म हौसला दिन्छु। तर नन्दी लजाउँछे।

मलाई उसको पछिल्लो मुस्कानले भन्दा पनि त्यो पहिलेकै पोखिएको संवेगले अत्याइरहन्छ। ऊ बिस्तारै त्यही विषयमा फर्किन्छे, ‘हजुरले अनुमति दिने भए म मेरो घरमा भएका सबै कथा तथा उपन्यास यही कोठामा ल्याएर राख्छु। मलाई ती उपन्यासको खूबै माया लागेर आउँछ। ती महान् कृतिहरू मेरै आँखाअगाडि जलेको हेर्न म सक्दिनँ। बेहकमै दनदनी बल्दैछन् ती निर्दोष उपन्यासहरू, केही दिनमा।’

ऊ हाँस्दाहाँस्दै रुन थालेको देखेर म पनि स्तब्ध हुन्छु। मलाई निकै पोल्छ त्यो उसको रोदनले। उसले हप्तौँ, महिनौँदेखि जम्मा भएका कुण्ठाहरूलाई एकैचोटि पोखाएर मेरो हृदयलाई पनि रुवाउँछे। त्यही भएर म सहमति जनाउँदै हौसला दिन पछि हट्दिनँ—‘साहित्य नबुझ्ने मानिसलाई साहित्य के हो भन्ने कुरा थाहै हुँदैन नन्दी १ यो तिम्रो घरमा मात्र हैन, धेरैको घरमा यस्तै हुन्छ। तिम्रो इच्छाअनुसार काम गर। यो उमेरमा कसैले विचारअनुसार डोहोरिने भन्दा पनि आफ्नो क्षमतालाई चिनेर अघि बढ्ने हो। आफ्नो क्षमता चिन्न आफैँ उतरदायी हुनुपर्दछ।’

मलाई धर्मसङ्कटको भुङ्ग्रोमा राखेर ऊ निस्की। भन्दै थिई, ‘आमाको आँखा छलेर सबै पुस्तक आजै ओसारिसक्छु।ु यति भन्दै कोठाबाट बाहिर निस्की। म ऊ गएको बाटो एकोहोरो हेरिरहन्छु।

दोस्रोपटक आउँदा उसले दुई झोला किताब बोकेर आई। एकछिन बसी। कुराकानी गरी। कहिले खितित्त हाँस्थी, कहिले आँसु झारिहाल्थी। उसको अनुहारको मौसम ठीक ठाउँमा थिएन। कहिले बर्सिन्थ्यो आँशु त कहिले उखरमाउलो गर्मी हुन्थ्यो। फेरि लामो शीत्कार छाड्दै थ्याच्च बस्थी। म उसको त्यस किसिमको भावभङ्गीमा देखेर झन् डराउथेँ। अन्तिमपटक आउँदा ऊ सानी फुच्चीलाई लिएर आएकी थिई। ‘शेखर अङ्कल’ भनेर पहिला खूब झुम्मिने त्यो फुच्ची चुपचाप थिई। मेरो अनुहारमा पनि हेरेकी थिई। उसको भाव गम्भीर थियो। सायद फुच्चीले पनि केही त बुझिसकेकी थिई।

झोलामा र हातमा तीनचोटि गरेर लगभग पचासजति अङ्ग्रेजी र नेपाली आख्यान, गैरआख्यान, कविताहरूको थुप्रो लाग्यो मेरो कोठामा। उसले लामो सुस्केरा हाल्दै भनी—‘मैले मेरो घरमा भएका सबै कृति ल्याएँ। तर एउटा कृति चैँ मैले ल्याउन सकिनँ। त्यो मेरो दैनिकी बनेको छ। मलाई पढिरहन मन पर्छ त्यो।’ उसले भनिनसक्दै मलाई थाहा भइसकेको थियो, कुन कृति हो भनेर।

नन्दीले मेरोमा ल्याएका किताबहरूमध्ये सबैभन्दा धेरै थिए— उपन्यासहरू। सबै नयाँ थिए ती। उसले फुच्चीलाई बाहिर राखेर मलाई केही सुनाई, ‘म अबदेखि मोबाइल पनि चलाउँदिनँ। मलाई मोबाइल र फेसबुक चलाउन बन्देज भैसक्यो।’

उसले यति भनी नसक्दै उसका आँखाबाट फेरि सघन अश्रुधारा प्रवाहित हुन थाले। मैले आँसु पुछिदिँदै छातीमा टसाएँ। एकछिन छातीमै टाँस्सिरही नन्दी। मेरो आलिङ्गनमा बाँधिन पाउँदा ऊ हर्षविभोर थिई।  

भक्कानो आवाज निकालेर थाम्न नसक्ने गरी रोइरहेकी थिई अँगालोमा पनि। उसले आलिङ्गनमै टाँसिएको बखत धेरै दहकस मान्दै बडो चैनसाथ ओठ खोली, ‘मलाई छिट्टै बिहे गर्नु हजुर !’ उसले आत्तिएर एकैचोटि यसो भन्दा म निर्वाकताको स्थितिमा पुगेँ।

अँगालोबाट तानेर उसको अनुहार हेर्दै मैले भनेँ, ‘मेरो केही छैन नन्दी १ यही कोठाबाहेक। मेरो सम्पत्तिको नाममा यिनै पुस्तकहरू हुन्। म निर्धन हुँ। तिमीलाई भनेको छैन मैले, म ऋण काढेर पढ्न आएको हुँ। घरमा भाइबहिनीहरूको भविष्यको साँचो मेरो हातमा छ।’

मैले त्यसो भन्दा ऊ सुँक्कसुँक्क गर्दै भनिरहेकी थिई, ‘मलाई अचेल घरबाट पहिलेजस्तो खर्च नै दिनुहुन्न। उपन्यास किन्न पनि पैसा हुन छोड्यो। म तपाईंकै रुममा आएर लुकीलुकी अबदेखि उपन्यास पढ्छु।’

मैले यसको जवाफ केही फर्काइनँ। म उसलाई मेरो बसेरामा आऊ पनि भन्न सक्दिनथेँ र नआऊ भन्न पनि।

पछाडिपट्टि घरीघरी सानी पर्दा तानेर हेरिरहेकी थिई। मैले नन्दीलाई सुनाएँ त्यो कुरो। हत्तपत्त नन्दी सतर्क भई र टेबुलमा भएको रुमाल तानेर आँसु पुछी। एक घुट्की पानी खाई अनि हात हल्लाउँदै बिदा भई।

नन्दी हिँडेपछि म गुमजतिर लम्किएँ। ऊ तलबाट फुच्चीलाई लिएर छिटछिटो पाइला चाल्दै जाँदै थिई। माथि हेर्छे कि भन्ने आश त लागेथ्यो मलाई पनि। तर हेरिन उसले। छिटछिटो पाइला लम्काइरहेकी थिई। म त्यो परिचित शरीर देखिन्जेलसम्म हेरिरहेँ। करिब पाँच मिनेटपछि म्यासेज आयो— चिन्ता नलिनु हजुर ! म घर आइपुगेँ। अनि मात्र म आफ्नो धुनमा रमाउने प्रयास गर्न थालेँ। 

सिटौलाको प्रकाशोन्मुख उपन्यासबाट

प्रकाशित: २४ जेष्ठ २०७७ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App