५ वैशाख २०८१ बुधबार
कला

कला शिक्षाको पाठ्यक्रम परिवर्तन गर्न विज्ञहरूको सुझाव

कोरोना कहरका कारण चैत ११ गतेदेखि मुलकमा ‘लकडाउन’ छ । सरकारले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द गरेको छ । प्रायःजसो मानिसहरु घरभित्रै छन् । कला साहित्यप्रति रुची राख्नेहरू साहित्यिक पुस्तकको अध्ययन गरेर समय बिताइरहेका छन् । त्यस्तै कला क्षेत्रमा लागेका व्यक्ति भने चित्र, गीत संगीतलाई आफ्नो दैनिकी बनाएका छन् ।  

कोरोना कहरकै कारण अहिले कुनै पनि कार्यक्रम प्रत्यक्ष रुपमा हुन सकेको छैन । समय र परिस्थिति अनुसार नाटक प्रदर्शनीदेखि लिएर चित्रकलाको प्रदर्शनीसम्म अहिले भर्चुअल माध्यमबाट हुने गरेको छ । नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले कोरोना कहरको समयमा पनि अनलाइनमार्फत कला, सिर्जना र साहित्यलाई मध्यनजर गर्दै ‘कलाका कुरा’ शीर्षकमा नियमित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  

सोफाजले नियमित रुपमा सञ्चालन गर्दै आएको ‘कलाका कुरा’ कार्यक्रमको ३९ औँ शृंखला बिहीबार सम्पन्न भएको छ । जसमा ‘कला शिक्षाको अवस्था र चुनौती’ विषयमा बहस गरिएको छ । उक्त बहसमा कला शिक्षालाई माटो सुहाउँदो बनाउन ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

समाजका महासचिव देवेन्द्र थुम्केलीको सहजीकरणमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस ललितकला क्याम्पसका प्रमुख डा.रमेश पोखरेल र कला विभागका सहप्राध्यापक सुजन चित्रकारले एक आपसमा बहस गरेका थिए ।  

बहसमा काठमाडौं विश्वविद्यालय नेपालमा कला शिक्षालाई समयापेक्षसँगै प्रविधिमैत्री बनाउनुपर्नेमा विज्ञले जोड दिँदै नेपालको कला शिक्षाको वर्तमान अवस्था, यसका चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाका बारेमा आ–आफ्ना धारणा राखे ।  

डा.रमेश पोखरेलले पछिल्लो परिस्थितिलाई ध्यानमा राखी आगामी दिनमा पठनपाठन बनाउनुपर्ने चुनौती थपिएको बताए । नेपाली माटो सुहाउँदो कला शिक्षा हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले कला विषय अध्यापनको पाटो निकै चुनौतीपूर्ण बनेको छ । प्राक्टिकल विषय भएकाले यसलाई कसरी अनलाइन तथा अन्य माध्यमबाट अध्यापन गराउने भन्ने बारेमा हामीहरु छलफलमै छौं ।’  

आगामी दिनमा नेपालमा मौलिक कला र संस्कृतिका विषयलाई समेत पाठ्यक्रममा समावेश गरिनुपर्ने धारणा राख्दै डा.पोखरेलले विश्वविद्यालयसँगै केन्द्र, प्रदेश तथा स्थानीय सरकारले कलाको महत्वलाई ध्यान दिइ कार्यक्रम ल्याउनुपर्ने जिकिर गरे । उनले नेपालमा खुलेका सबै विश्वविद्यालयले कला विषय अध्यापन गराउनुपर्ने बताए ।

त्यस्तै, सहप्रा. चित्रकारले कला शिक्षा समयापेक्ष हुनुपर्ने भनाइ राख्दै नेपालमा कला शिक्षालाई जटिल नबनाई सरल र दक्ष बनाउनुपर्ने बताए । उनले कला शिक्षालाई पहिलेको जस्तो जटिल नबनाई सहज र व्यवहारिक बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘अब कला शिक्षकभन्दा पनि फेसिलेटरका रुपमा विद्यार्थी उनीहरुको रुचिलाई मार्ग निर्देशन गर्नुपर्छ ।’ चित्रकारले काठमाडौं विश्वविद्यालयले दक्षिण एसियाली कला त्यसमा पनि नेपाली कलाका विविध शैली र धारालाई बढी जोड दिएको जानकारी दिए । उनले भने, ‘पश्चिमी तथा पूर्वीय मान्यतामा आधारित कलाका विविध पक्षलाई ध्यान दिएर पाठ्यक्रम बन्नुपर्छ । जसले हामीलाई सीमित नराखी खुल्ला र दक्ष बनाउन महत्वपूर्ण मद्धत पु¥याउँछ ।’

नेपालमा कला शिक्षाका बारेमा खासै बहस नभइरहेका बेला समाजले बहसको थालनी गरेको अध्यक्ष केशव राज खनालले बताए । उनले कला शिक्षालाई विद्यालय तहदेखि लागु गर्न सकिए त्यसले नेपालको मौलिक संस्कृति र सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण सघाउँ पुर्याउने बताए ।  

त्यस्तै विज्ञहरूले भने समय सान्दर्भिक रुपमा विश्वविद्यालयले कला शिक्षाको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरे । उक्त कार्यक्रमलाई आर्ट नेपाल र प्रोसी सोलुसनले प्राविधिक सहयोग गरेका थिए ।

‘कलाका कुरा’ को ३८औँ शृंखलामा अग्रज कलाकार कृष्ण मानन्धरको सहभागीता रहेको थियो । उनले नेपाली कलाक्षेत्रको विकासका लागि राज्यले पहल गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

प्रकाशित: २२ जेष्ठ २०७७ १८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App