१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

समाजका ती कुरूप अनुहारहरू

प्रभा बराल

यदि तपाईं सौन्दर्यको परिभाषा सुन्दर अनुहार र धन दौलतले सजिएको भौतिकी जिन्दगीलाई मात्र दिनुहुन्छ भने तपाईंभित्रको चेतनाको बिर्को खुलेकै रहेनछ । जिन्दगी नै बिझाउने विद्रूप कहरका गल्छेडाहरू काट्नु नै भएको रहेनछ । हो म आज त्यस्तै समाजका त्यस्ता कुरूप अनुहारहरूको कुरा गर्दै छु, जुन कुरूप अनुहारको साक्षात्कार गर्न धेरै परसम्मको समय यात्रा गर्नैपर्दैन मात्र एक दिनको दैनिकी काफी छ ।  

बिहान अबेलासम्म सुत्ने मन मलाई पनि हुँदो हो तर कामका फेहरिस्तहरू यति चाङ लागेर बसेका हुन्छन् कि, उठ्ने समय थोरै गडबड हुनेबित्तिकै दैनिकीको लय नै बिग्रिदिन्छ । त्यसैले पूर्र्वमा घाम उदाउनु अगाडि नै मेरो मन उदाइसक्छ । घरको मूल ढोका सखारै खोले मात्र घरमा लच्छिन लाग्छ भन्ने वर्षौंदेखिको संस्कारले ढोका खोल्न केही अबेला हुनेबित्तिकै मेरो मन कसौडीमा भात छड्किएझैँ छड्किन्छ ।  

हातमा कुचो बोकेर जब कम्पाउन्डमा निस्किन्छु, कम्पाउन्डभरि फिल्टरवाला चुरोटका ठुटैठुटा भेटिन्छन् । मलाई थाहा छ, यो चुरोटको ठुटा कुन घरबाट हु¥याइन्छ भन्ने कुरा । उदेकलाग्दो कुरा के छ भने हाम्रो घरभित्र बस्ने कुनै प्राणीले चुरोट तान्दैनन् । तर, चुरोट नै नतान्ने घरको कम्पाउन्डमा हरेक दिन १०–१२ वटा चुरोटका ठुटा भेटिन्छन् । यो दृश्यले मलाई लज्जा बोध गराउँछ । 

प्रभा बराल

बाहिरबाट आउने जो–कोहीले पनि घरको कम्पाउन्डभरि चुरोटका ठुटा देख्दा के सोच्दा हुन् भन्ने लाग्छ, त्यसैले बिहान उठ्नासाथ मेरो पहिलो काम तिनै चुरोटका ठुटा टिप्ने हुन्छ । चुरोटका ठुटा टिप्नलाई गाह्रो भन्दा पनि, यो दृश्य कोही बाहिरबाट आउनेको नजरमा पर्छ कि र कति असभ्य रहेछन् यो घरका मानिस भनेर सोच्छन् कि भन्ने डरले सताउँछ । सुन्दर परिधानमा सजिएर, महँगो गाडी चढेर अफिस जाने बाउ–छोरा दुवै धुम्रपानका चेन स्मोकरजस्ता छन् । चारतले घरको बरन्डामा बसेर बिहान–बेलुका बाउछोरा पालैपालो चुरोट तान्छन् र ठुटो बेपर्वाहसँग मेरो घरको कम्पाउन्डतिर हु¥याउँछन् । आफ्नै आँखाले कैयौँपटक देखेका यी दृश्य देखेको नदेख्यै गरिदिन्छु । अरुलाई सम्झाउनु निकै गाह्रो कुरा हो ।

‘मर्दाका मलामी र जिउँदाका जन्ती’ ठानिने छिमेकीसँग झगडाको वाक्युद्धभन्दा सहनशीलताको तटस्थता मेरा लागि प्यारो भइदिन्छ । मनोमालिन्यको तुषारापात निम्त्याएर छिमेकीसँग सम्बन्धको क्षयीकरण गर्न मन पटक्कै मान्दैन । पढाइमा अब्बल भएर, सरकारी जागिर खाने अनि टलक्क टल्किने कोट लगाउने त्यो व्यक्तित्वभित्र चुरोटको ठुटो समेत व्यवस्थापन गर्न नसक्ने घटिया विवेक देख्दा समाजकै कुरूप अनुहारको दर्जा मनमनै दिन्छु र चित्त बुझाउँछु । पालैपालो ती ठुटाहरू बटल्छु र डस्टबिनमा हाल्छु । यो मेरो नियमित दैनिकी जस्तै बनेको छ । कसैले खाएका जुठा चुरोटका ठुटाहरू टिपेर व्यवस्थापन गर्नु । कहिलेकाहीँ त रिसले ती ठुटा तिनकै आँगनतिर पनि मिल्काएर शान्त बन्छु । कुकुरले टोक्यो भनेर म कुकुरलाई टोक्न जान हुन्न भनेर सोचेर फेरि शान्त बन्छु ।  

अफिस, मिटिङ, बिजी शब्द मानौँ यी पुरुषका श्रीमती कवचहरू हुन्, जुन कवचले घर गृहस्थीको साँचोलाई दरो गरेर नियन्त्रण गर्न सजिलो भइरहन्छ । हस्याङफस्याङ गर्दै गरेको घरको सारा धन्दा केही काम ठहर्दैन । कहीँ कतैबाट भनाइ सुन्न नपरोस् भनेर घन्टालाई मिनेटमा, मिनेटलाई सेकेन्डमा र सेकेन्डलाई पलमा रूपान्तरण गरी गरेको घरको सारा धन्दा केही काम ठहर्दैन ।

हरेक चिज पसलमा निर्भर रहनुपर्ने सहरिया परजीवी जीवनसँग साक्षात्कार गर्न म आँगन बढारेपछि पसलतिर निस्कन्छु । बाटोको एक छेउमा खाली जग्गा रहेको छ । वर्षौंदेखि त्यहाँ हरेक बिहान थुप्रै्र पुरुष महोदयहरूको ब्याडमिन्टन व्यायाम चलिरहेको हुन्छ । लकडाउनको दुई महिना बितिसक्दा पनि उनीहरूको खेललाई लकडाउनले पटक्कै असर गरेको छैन । उन्मुक्त खेल चलिरहेको छ, प्रत्येक बिहान । बन्दाबन्दीको अवज्ञा मात्र होइन, खिल्ली नै उडाएझैँ लाग्छ ।  

त्यहाँ कहिल्यै कुनै दिन पनि महिला आएर खेलेको देखेकी छैन । मानौँ त्यहाँ महिला पुरुषसँग खेल्न निषेध छ । खेलमा उनीहरूको मगनमस्तता पनि विचित्रैको देखिन्छ । पसलबाट मगाएर चियाको चुस्की पनि चलिरहेको हुन्छ । भौतिक दूरी कायम राख्नुपर्छ भन्ने उनीहरूलाई लागू भएको देखिएन । सोच्दा हुन्, हामी सुगर र प्रेसरका बिरामी हौँ । स्वस्थ रहन नियमित व्यायाम गर्नैपर्छ, पसिना निकाल्नैपर्छ ।सुगर र प्रेसरका बिरामी महिला पनि होलान् । त्यही चीज महिलामा लागू हुन सकेको देखिँदैन ।  

वर्षौैंदेखि पुरुषकै मात्र वर्चस्व रहन्छ यो ठाउँ । कमसेकम बन्दाबन्दीको मान राखेर यो बेला घरभित्रकै सरसफाइको काममा मात्रै सरिक भए पनि घर टल्किन्थ्यो होला । महिलाले पनि केही हदसम्म राहत महसुस गर्थे होलान्, तर त्यस्तो हुन पाएन । बरु, घरको छतमा घन्टौँसम्म फोनमा झुन्डिरहे । चाहिँदो नचाहिँदो विषयमा गलफत्तीमा रमाए । ओहो ! कति स्वतन्त्रता जीवनको । कि अबेलासम्म सुत्नु कि शारीरिक अभ्यासको नाममा बिहानभर घरबाट हराइदिने पुरुषार्थप्रति पनि उत्तिकै कुरूप अनुहारको तस्बिर देख्छु । घरमा श्रीमतीलाई कुनै पनि दिन एक कप चिया पकाएर सायदै दिएका होलान् यिनले ? हातमा कुचो लिएर बढारकुढार गर्नमा कहिल्यै मन गयो, होला यिनको ? कुनै दिन आज भात पकाउने पालो मेरो, तिमीलाई जे इच्छा लाग्छ त्यही गर भनेर श्रीमतीलाई स्वतन्त्र छोडिएको कुनै बिहान होला ? अहँ कुनै हालतले पनि यस्तो स्वतन्त्रता श्रीमतीलाई स्वतस्पूर्mत रूपमा दिइएको छैन भन्ने छिमेकी दिदीबहिनीको गुनासोबाट बेलाबखत सुनिरहन्छु ।

कुनै दिन एकछिन मात्र खाना पाक्न ढिला भए आज खाना नखाई अफिस जानुपर्ने भयो । कति हतार छ मलाई, मिटिङ छ आदि घुर्कीका भाषा सुनिरहन्छन् बेलाबेला । अफिस, मिटिङ, बिजी शब्द मानौँ यी पुरुषका श्रीमती कवचहरू हुन्, जुन कवचले घर गृहस्थीको साँचोलाई दरो गरेर नियन्त्रण गर्न सजिलो भइरहन्छ । हस्याङफस्याङ गर्दै गरेको घरको सारा धन्दा केही काम ठहर्दैन । कहीँ कतैबाट भनाइ सुन्न नपरोस् भनेर घन्टालाई मिनेटमा, मिनेटलाई सेकेन्डमा र सेकेन्डलाई पलमा रूपान्तरण गरी गरेको घरको सारा धन्दा केही काम ठहर्दैन ।  

ओहो ! म त पसलमा दूध लिन पो आएकी । सोचाइको तरंगबाट ब्युँझिन्छु ।  पसलका साहुजी हातमा दूधका प्याकेट दिँदै सलले नढाकिएको मेरो छातीमाथि गिद्धे दृष्टि सोझ्याउँछन् । पहिला पहिला पनि यसो गरेको महसुस नगरेकी त होइन । सलले सधैँ छाती ढाकेर जान्थेँ । तर आज हतारमा बिर्सिएछु । उनको वासनाले दिगमिगाएको घीनलाग्दो दृष्टिवाण सहजै बुझ्न सक्छु । समाजको अर्को कुरूप पात्रका रूपमा उनी मेरो मनको रजिस्टरमा दर्ता हुन्छन् । फर्केर आउँदा बाटोमा जेन्डर स्टडिजका प्रोफेसरसँग भेट हुन्छ । मेरो श्रीमान्सँग उनको राम्रो सम्बन्ध छ । बाटैमा उभिएर पनि उनीहरू दुवैजना गफिएको देखेकी छु । म श्रद्धापूर्वक उनलाई नमस्कार टक्र्याउँछु तर अचम्म उनले कहिल्यै नचिनेको जस्तो गरेर अन्तै हेरेर नमस्ते नमस्ते भन्दै हिँड्छन् । कतै मलाई चिनेनन् कि उनले भन्ने ठान्छु तर कहाँ त्यस्तो हुन्छ र उनी र म टोलसुधार समितिको कार्यसमितिमा सँगै छौँ ।  

टोल सुधार समितिको मिटिङ एक–दुई महिनामा प्रायः बिहानमा बस्छ । धेरैपटक मिटिङ बसिसकेपछि थाहा पाउँछु । मलाई खबरसम्म गरिँदैन । एकपटक यिनै प्रोफेसरसँग उनी सचिव भएको नाताले किन त केही खबर पनि आएन मलाई भनेर सोधेँ । ए बिहानमा तपाईं भान्छामा व्यस्त हुनुहुन्छ भनेर हामीले बोलाएनौ । ३३ प्रतिशत महिला राख्नैपर्ने भएर तपाईंको नाम राखेको नि ! हामी बसेर छलफल गरिहाल्छौँ । बरु तपाईंको सही गर्न बाँकी छ है माइन्युटमा । जेन्डरका प्रोफेसरले दिएको उत्तर सुनेर आफैँ विलखबन्दमा पर्छु । मेरो घरको भान्छाको समस्याबारे तिनलाई त्यत्रो चासो तर टोल सुधारका बारेमा गरिएका छलफलप्रति हामी महिलाले चासो लिनैनपर्ने ? कस्तो अचम्म ।  

दिउँसो एउटी साथीले फोन गरेर मनको पीडा पोख्छु है, तिमीलाई भनेर सासै नफेरी फोनमा बोल्न थालिन् । ‘हेर न मैले राष्ट्रिय स्तरका पत्रपत्रिकामा लगातार रचनाहरू छपाएँ भनेर साथीहरूले उडाएर उधुम छ ।’  

‘त्यस्ता इष्र्याको खेती गर्नेले उडाए भनेर तिमी किन उड्छयौँ त ? त्यस्ताका भ्रमहरूलाई चिरेर अक्षरको खेती मजाले गर ।’ म उनको बोलीमाथि सान्त्वनाको मलम लगाइदिन्छु ।

‘कहाँ नि हेर न, त्यो रचना छाप्न कि चिनेको नजिकको मानिस हुनुपर्छ रे, कि त्यो लेख तेरो कुनै दाइ वा बूढाले लेख्न सहयोग गरेको हुनुपर्छ रे । तँ त यस्तो लेख लेख्ने जस्ती देखिन्नस् रे । अनुहार हेरेर मान्छेको बौद्धिकता नाप्ने मेसिन कहाँ रहेछ तँलाई थाहा छ कि ?’ ऊ हरेस खाएझैँ गरी मसँग बिलौना गर्छे ।

‘तँजस्ती बोल्ड नारीले पनि समाजका यस्ता कुरूप अनुहारसँग सामना गर्न सक्दिनस् ?’ म उसलाई झपारेजस्तो गर्छु । कस्तो अचम्म यो जमानामा आएर पनि महिलाहरूको बौद्धिकतामाथि शंका गर्ने कस्तो संकीर्ण मानसिकता । कति दरिद्र सोचाइ । ऊ मलाई पीडा पोख्न पाएकोमा अलिकति हलुका महसुस गर्छे र फोन राख्छे ।  

यति बेला मलाई मेरै एउटा घटनाको याद आयो । एक दिन मेरो श्रीमान्ले मैले लेखेको किताब पढ्दै हुनुहुन्थ्यो । त्यति बेला उहाँका एकजना सहकर्मी मित्र आए । म उनका लागि चिया पकाउन भान्छामा गएँ ।  

‘के पढ्नु भएको तपाईंले, कसको किताब हो नि ?’ उनले सोधेँ । ‘मेरी श्रीमतीले लेखेको किताब हो यो ।’ उहाँले भन्नुभएछ । ती मित्रले उक्त किताब हातमा लिएर यसो पल्टाउँदै भनेछन् ।  

‘तपाईंले लेख्नुभएको त होला नि, नाम मात्र भाउजूको राख्नुभएको होला है ?’

पुरुषहरूको महिलाप्रति हेर्ने सामान्य नजर यस्तै हुन्छ भनेर आकलन गर्न गाह्रो थिएन । महिलाको क्षमताको अवमूल्यन गर्ने यो आमपुरुष मानसिकता हुँदै हो । बरु उनको विवेकप्रति दया लाग्यो । यस्ता कुरा सुन्ने बानी परेकाले पनि होला मलाई आश्चर्य भने लागेन । यस्ता पात्रलाई पनि मैले समाजका कुरूप अनुहारको लिस्टमा राखिरहेँ ।  

यतिकैमा मलाई अर्की साथीले भनेको कुरा झल्झली याद आयो । प्रेम र रतिरागात्मक विषयवस्तुमा उनले रचना लेखिरहन्थिन् । उसो त यस्ता विषयमा थुप्रै पुरुष स्रष्टाले पनि लेखिरहेकै छन् । तर यहाँ एउटी महिलाले यसलाई विषय बनाउनु कति मसलादार विषय बन्दो रहेछ । एक दिन उनको सामु एउटा पुरुष पात्र सरासर आएर उनी सामु उभिँदै खुलेआम घीनलाग्दो प्रस्ताव राखे रे । साहित्य लेखेकै भरमा उनको चरित्रको आकलन गरी खुला रूपमा अश्लील प्रस्ताव राख्न सक्ने त्यो पात्रको मुखुन्डो उनले उतार्न बाँकी नै छ भन्थिन् । कुनै दिन त्यस्तो दिन पनि आउँला जुन दिन त्यो कुरूप अनुहारको नामै किटेर उनले लेख्ने दुस्साहस गर्लिन् ।  

त्यस्तैमा अर्की छिमेकी साथी हरियो, तरकारीको एक झोला कोसेली बोकेर मकहाँ आइन् । अर्थशास्त्रमा स्नातकोत्तर उनी निजामती सेवामा कार्यरत सहसचिव श्रीमान्की श्रीमती समेत हुन् । घरमा अल्जाइमर्सले थला परेकी सासुलाई स्याहार्नु उनको अर्को दैनिकी पनि हो । श्रीमान्, सासु र छोराछोरीको व्यवस्थापनसँगै उनले आफ्नो कौसीमा अर्गानिक तरकारी समेत फलाएकी छन्् । यति रहर लाग्ने गरेर उनले मौसमी तरकारी फलाउँछिन्, उनको मिहिनेत देखेर कतिपय कार्यक्रममा सफलताको कथा भन्न समेत आमन्त्रण गर्छन् उनलाई । त्यति हुँदाहँुदै पनि तपाईं मात्र गृहिणी हो ? त्यत्रो पढेर पनि तपाईं हाउस वाइफ मात्रै ? भनेर उनलाई चोट पु¥याउनेसँग उनको नमीठो गुनासो छ भन्थिन् । यस्ता कुरूप अनुहार देख्दा तीसँग कहिले बोली नमिसाऊ जस्तो लाग्छ रे उनलाई । तर पनि समाज यस्तै विविधताले भरिएको छ । यसले हाम्रो समाजको प्रतिनिधित्व गरेको छ । यसले हामी कहाँ छौँ, हाम्रो बुझाइको स्तर कस्तो छ, छर्लङ्ग पार्छ ।  

जीवन जिउने क्रममा महिला भएकै नाताले भोग्नुपरेको पीडा र अपमानको लामो शृंखला छ, त्यसलाई यो सानो लेखमा समेट्न सकिन्न । समाजका कुरूप अनुहारहरू कति छन् कति ! महिलालाई साधन मात्रै सम्झिरहने, छोरा पाउने नाममा, वंश धान्ने नाममा बहुविवाह गर्ने, वृद्घ बुबाआमालाई घरबाट निकाल्ने, दाइजो नल्याएको नाममा महिलालाई जिउँदै जलाउन पछि नपर्ने, यौनजन्य हिंसा गर्ने, मार्ने लगायत कैयौँ कुकृत्य छन् । विश्वका समृद्घ मानिएका मुलुकमा पनि यस्ता कथा–व्यथा आज पनि विद्यमान छन् । अनुपातमा कम र बेसी मात्र हुन् ।  

महिला भएकै नाताले आज पनि स्वछन्द रूपमा रातबिरात घर बाहिर हिँड्ने अवस्था छैन । महिला जहाँको भए पनि उस्तै खाले तीतो यथार्थ भोग्न बाध्य छन् । मन त दुखेको छ । चोट बेस्सरी लागेको पनि छ । आफ्नो भूमिका खोज्दाखोज्दै जीवन बित्ला कि भन्ने डर छ । यो डर घरदेखि सरकार चलाउनेसम्ममा विद्यमान छ । कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ, सधैँ दोषी चस्माले पनि हेर्न भएन । अज्ञानी र अविवेकी पनि बन्नुभएन । प्रतीक्षामै कैयौँ वर्ष गुज्रिसके । तर यथार्थ सोचेजस्तो छैन । आफ्नो मन दुख्यो भनेर सबैसँग पाखुरा सुर्कदै हिँड्न थालियो भने, जवाफ फर्काउँदै हिँड्न थालियो पनि समाजको सौन्दर्य कहाँ रहला भन्ने हुने । सहनशीलता देखाउँदा पनि यस्ता कुरूप अनुहारको बढोत्तरी भइरहने । कतिसम्म सहने ? एउटा भारी मन बोकेर आधा आकाशको उपमा कहिलेसम्म लिइरहने ?

प्रकाशित: १७ जेष्ठ २०७७ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App