१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

आफ्नो गाउँको बारेमा निबन्ध लेख्नेलाई पुरस्कार

कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा लेखेर पुरस्कार जित्ने अबसर आएको छ । त्यसका लागि पर्यटनकर्मी तन्नेरीहरूको संस्था ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ ।  

प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो गाउँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध लेखेर इमेल मार्फत पठाउनु पर्नेछ । साथमा गाउँको प्रकृति, संस्कृति र जीवनशैली झल्कने कम्तिमा ३ वटा तस्बिर हुनु पर्नेछ ।    

जेठ २० गतेसम्म प्राप्त हुने निबन्धबाट छानेर उत्कृष्ट तीन निबन्धलाई ७ हजार रुपैयाँका दरले पुरस्कृत गरिने मञ्चले जनाएको छ । उसले जेठ २५ गते उत्कृष्ट निबन्धको घोषणा गर्नेछ ।    

मञ्चका संयोजक लिलाराम खड्काका अनुसार पर्यटकीय संभावना भएर पनि ओझेल परेका गाउँहरूको संभावना उजागर गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

‘लकडाउनपछि हामीले मुलुकको समृद्धिका लागि पहल गर्नुपर्छ । राम्रोसँग विकास गरेमा पर्यटन नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ’, संयोजक खड्काले भने, ‘हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय संभावना भएका थुप्रै ठाउँ छन् । त्यसैले ओझेलमा परेका ठाउँहरूलाई चर्चामा ल्याउन हामीले प्रतियोगिता गरेका हौं ।’

पर्यटनमा विगत एक दशकदेखि समर्पित तन्नेरीहरूको संस्था मञ्चले प्रतियोगिताबाट उजागर भएका गाउँहरूको पर्यटन विकासमा पनि हातेमालो गर्ने जनाएको छ ।  

प्रकाशित: ८ जेष्ठ २०७७ ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App