coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कलामार्फत सांस्कृतिक धरोहरको संरक्षण

काठमाडौं – नेपालको पौराणिक धरोहर मठमन्दिर, गुम्बा र पाटी–पौवा लगायतले सांस्कृतिक रूपमा महत्वपूर्ण मानिन्छ। यहाँको रहनसहन र संस्कृति लोप हुँदै गएको अवस्थामा सांस्कृतिक महत्व बोकेका धरोहर संरक्षण गर्न आवश्यक रहेको छ। राजधानीको सिद्धार्थ आर्ट ग्यालरीमा पौराणिक धरोहर मानिने मठमन्दिर, गुम्बा र पाटी–पौवा लगायतका चित्रकलाहरू प्रदर्शनीमा राखिएको छ।

आइतबारदेखि सुरु भएको ‘कन्टेम्प्रोरी प्रिन्ट’ नामक सामूहिक कला प्रदर्शनीमा सांस्कृतिक धरोहर, रहनसहन र मानिसको जीवनचक्रलगायत समावेश गरिएका छन्। धार्मिक र सांस्कृतिक सम्पदा लोप हुँदै गएको सन्दर्भलाई कालो र सेतो रङमार्फत प्रस्तुत गरिएको छ।

प्रिन्ट मेकिङ नेपालले आयोजना गरेको प्रदर्शनीमा कन्टेम्प्रोरी कला झल्काउने सयभन्दा बढी चित्रकला, लिथोग्राफी, उडकट र इच्चिङलगायत राखिएका छन्। परापूर्वकालदेखि प्रचलनमा आएको प्रिन्ट मेकिङ प्रविधि छापा चित्रबाट विकास भएको मानिन्छ। डिजिटल प्रेस आएसँगै यसको प्रयोग घट्दो रहेपनि कलामा भने जीवित छ।

प्रदर्शनीमा अमन महर्जन, अमिर महत, विपना महर्जन, वीरेन्द्र प्रताप सिंह, उमाशंकर शाह, सुर्दशन विक्रम राणा, सुनिता राणा, सम्झना राजभण्डारी, अनिता भट्टराई, भिसान राजभण्डारी, विद्यामान तामाङ, दिपक मेहता, दिपक आउजी, दुर्गा सुनुवार, सिमा शाह, हितेश वैद्य, जगदिश लामा, जेनी घले, कविराज लामा, कृष्ण राउत, मनिषा मानन्धर, मेनुका शाही, नविना सुनुवार, संगिता घिमिरे, सन्तोष सिग्देल, सुष्मा राजभण्डारी र सोनी राईलगायत कलाकारहरूका विभिन्न कन्टेम्प्रोरी कलाहरू प्रदर्शनीमा राखिएका छन्। प्रिन्ट मेकिङ नेपालका सञ्चालक उमाशंकर शाहले नेपालमा लोप हुँदै गएका सांस्कृतिक महत्व र मान्यताहरूलाई प्रवद्र्धन गर्न प्रदर्शनी आयोजना गरेको जानकारी गराए। सांस्कृतिक सम्पदाले भरिएको नेपालका पौराणिक धरोहर मठमन्दिर, गुम्बा र पाटी–पौवा लगायतको संरक्षण गर्नुपर्ने तर्क उनले गरेका थिए। ‘नेपालमा रहेका सांस्कृतिक सम्पदा लोप हुँदै गए भने हाम्रो अस्तित्व हराएर जान्छ। आर्थिक सशक्तीकरणसँगै नेपालको संस्कृतिलाई संरक्षण गरिनुपर्छ,’ उनले भने, ‘जीवनलाई सकारात्मक तर्फ केन्द्रित गर्ने हुँदा संस्कृतिको महत्वलाई कलामार्फत प्रस्तुत गरेको छु। संस्कृतिले अवसर पाउन नसकेसम्म समाज र राष्ट्रले अपेक्षा गरेबमोजिम उपलब्धि हासिल गर्न सक्दैन्।’

सिद्धार्थ आर्ट ग्यालरीकी क्युरेटर संगिता थापाले नेपालका सांस्कृतिक धरोहरहरू संरक्षण गर्न आवश्यक रहेको बताइन्। ‘नेपाली संस्कृति अनुसार विभिन्न मन्दिरमा गएर शुभ कार्य गरिन्छ। यसमा धार्मिक र सांस्कृतिक सम्पदाको भूमिका महŒवपूर्ण मानिन्छन्। नेपाललाई चिनाउने सम्पदाहरूको संरक्षणको लागि जनचेतना फैलाउन प्रदर्शनीको आयोजना गरिएको हो,’ उनले भनिन्। प्रदर्शनी आगामी वैशाख १ सम्म चल्नेछ।

प्रकाशित: ४ चैत्र २०७६ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App