८ वैशाख २०८१ शनिबार
कला

आर्ट ग्यालरीमा निरन्तर प्रदर्शनी

काठमाडौं – संसारभर फैलिएको कोरोना भाइरस संक्रमणको रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा समारोहमा सहभागी नहुन आग्रह गरेपछि आर्ट ग्यालरीहरूमा आयोजना हुने प्रदर्शनीहरूले निरन्तरता पाइरहेका छन्।

कोरोना भाइरस संक्रमणको त्रासले दर्शकको उपस्थिति पातलिँदै गएपनि प्रदर्शनीहरू यथावत् रहने जानकारी आर्ट ग्यालरी सञ्चालकहरूले दिए। राजधानी आसपासका आर्ट काउन्सिल, सिद्धार्थ आर्ट ग्यालरी, तारागाउँ म्युजियम र एमक्युब ग्यालरीलगायतमा नियमित कला प्रदर्शनी र अन्तक्र्रियात्मक कार्यक्रमहरू यथावत् सञ्चालन भइरहेका छन्। बबरमहलस्थित आर्ट काउन्सिलमा विभिन्न कलाकारहरूको प्रदर्शनीहरू चलिरहेको छ। ‘संसारभर फैलिएको कोरोना भाइरसको त्रासले तुलनात्मक रूपमा दर्शकहरूको उपस्थिति घटेपनि प्रदर्शनीहरू यथावत् सञ्चालन भइरहेका छन्। हामीले प्रदर्शनी अवलोकन गर्न आइरहेका दर्शकलाई सावधानी अपनाउन आग्रह गरिरहेका छौं,’ आर्ट काउन्सिलका हरि खड्काले भने, ‘सरकारले तत्काल सञ्चालन भइरहेका ग्यालरीहरू बन्द गर्नुपर्ने अवस्था नरहेको जानकारी गराएका हुँदा नियमित प्रदर्शनी भइरहेका छन्।’

कोरोना भाइरस संक्रमण रोकथामको लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर प्रदर्शनीहरूलाई प्रभावकारी बनाइरहेको जानकारी तारागाउँ म्युजियमका क्युरेटर रोशन मिश्रले गराए। ‘संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रासका कारण प्रदर्शनी अवलोकन गर्ने दर्शकहरूको उपस्थिति घटेको महसुस गरें। कला प्रदर्शनीमा दर्शकको उपस्थिति घटेसँगै व्यापार समेत घटेको छ। हामीले दिन बिराएर दर्शकहरूलाई प्रदर्शनी अवलोकन गर्न आग्रह गरिरहेका छौं। व्यापारभन्दा दर्शकको स्वास्थ्य महत्वपूर्ण हो,’ उनले भने, ‘तत्काल सञ्चालन भइरहेका आर्ट ग्यालरीहरू बन्द गर्नुपर्ने अवस्था भएकाले सतर्कता अपनाउनु जरुरी छ।’

राजधानीको लैनचौरस्थित अरुपण आर्ट ग्यालरीमा कला प्रदर्शनी यथावत् रहेको जानकारी सञ्चालक रमेश खनालले दिए। ‘प्रदर्शनी अवलोकन गर्न आउने दर्शकहरूको उपस्थिति कम भएको महसुस गरेको छु। तर प्रदर्शनी रोकिएको छैन्,’ उनले भने, ‘संक्रमण रोकथामका लागि सतर्कता अपनाइरहेका छौं। दर्शकहरूलाई मास्क लगाउन प्रोत्साहित गरिरहेका छौं।’

ललितपुरको एमक्युब ग्यालरीमा नियमित गतिविधिहरू यथावत् रूपमा सञ्चालन गरिरहेको जानकारी क्युरेटर मनिषलाल श्रेष्ठले गराए। त्यस्तै विभिन्न कलाहरू बिक्री गरिरहेका ठमेल वरपरका ग्यालरी सञ्चालकहरूले व्यापार ह्वात्तै घटेको अनुभव सुनाएका छन्।

प्रकाशित: २७ फाल्गुन २०७६ ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App