coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कलामा महिलाका असीमित रहर

काठमाडौं - असीमित रहरलाई तिलाञ्जली दिएर महिलाहरू सामाजिक जिम्मेवारी र परिवारको हेरचाह गर्न बाध्य छन्। उनीहरूलाई स्वतन्त्र भएर आफ्ना असीमित रहर पूरा गर्न प्रोत्साहित गर्दै राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा विभिन्न कलाहरू प्रर्दशनमा राखिएका छन्। आइतबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको ‘इन्फिनिटी थट्स’ नामक कला प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला कलाकारहरूले बनाएका कलाहरू राखिएका छन्।

प्रदर्शनीमा स्वतन्त्र महिलाको विभिन्न आकृतिहरू झुन्डाइएका छन्। नेवारी भेषभूषामा सजिएकी एक महिला स्वतन्त्र रूपमा बाँसुरी बजाइरहेको चित्रले उनको असीमित रहरको प्रतिनिधित्व गरेको छ। नेपाली समाजमा व्याप्त हुँदै गएको बालिका बलत्कारको घटनाजस्तो अपराधमा मौन बसिरहेका मानिसहरूलाई उनीहरूको चित्कार सुन्न आग्रह गरिरहेझैं देखिने एक चित्रकलाले गम्भीर परिस्थितिको व्याख्या गरेको छ। अपराधलाई प्राथमिकता दिने समाज र व्यक्तिलाई गिद्दमार्फत प्रस्तुत गरिएको छ।

क्यासिक ग्यालरीले आयोजना गरेको प्रदर्शनीको उद्घाटन आइतबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केक कर्माचार्यले गरेका थिए। ‘महिलामाथि हुने विभेदविरुद्ध तयार भएका कलाहरूले उनीहरूको आवाजलाई बुलन्द बनाउन सहयोग गरेको छ। प्रदर्शनीले कलाकारको कलालाई मात्रै नदेखाएर संसारभर हुने महिला हिंसाको चित्रण गरेको छ। नेपाली समाजलाई व्यंग्य गर्दै तयार भएको चित्रहरूले उनीहरूलाई प्रोत्साहित गर्न खोजेको महसुस गरेको छु,’ उनले भने। महिलामाथि हुने घरेलु हिंसा न्यूनिकरणको लागि प्रदर्शनीले महŒवपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए।

महिला हिंसादेखि स्वतन्त्रताको विभिन्न पाटोमाथि कलाकारहरूले कला तयार गरेका छन्। क्यासिक ग्यालरीकी संस्थापक सरिता डंगोलले महिलामाथि हुने हिंसाविरुद्ध आवाज बुलन्द बनाउन प्रदर्शनीको आयोजना गरिएको जानकारी गराइन्।
‘महिलामाथि भएको लैंगिक हिंसाविरुद्ध समाजलाई सचेत गराउँदै प्रदर्शनीको आयोजना गरेका हौं। महिलाहरूको असीमित रहर पूरा गर्न प्रोत्साहित गरेर विभिन्न कलाहरू राखिएका छन्। महिलाको जिम्मेवारीलाई समाजले अवहेलना गरेको छ। महिला र पुरुष समान हुन भन्ने भावलाई स्मरण गर्न खोजेका छौं,’ उनले भनिन्।

संविधानमा महिला हक अधिकारसम्बन्धी कानुन उल्लेख भएपनि व्यवहारमा कार्यान्वयन हुन सकिरहेको छैन। कार्यक्रममा बोल्दै ललितकला केन्द्रीय विभागकी सहप्राध्यापक सिमा शर्मा शाहले सामाजिक आर्थिक रूपमा महिला तल्लो दर्जामा दाँजिनु पीडादायी भएको बताइन्। प्रदर्शनीमा राखिएका कलाले महिलामाथि हुने विभेदलाई अन्त्य गर्न झक्झकाएको तर्क उनले गरिन्। ‘राज्यले महिलाको श्रम, जिम्मेवारी र सम्मान गर्न सकेको छैन। नेपाल सरकारले महिलाको लागि ३३ प्रतिशत हक अधिकार प्रत्याभूत गरेपनि लागू गर्न नसक्नु लज्जास्पद कुरा हो। संविधानले महिला र पुरुषलाई समानुपातिक सहभागिताको हक दिएको छ,’ उनले भनिन्।

कलाकार मदन चित्रकारले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित प्रदर्शनीले ऐतिहासिक कालखण्डको स्मरण गराएको बताए। प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, अमेरिका, स्पेन, ताइवान, मेसोडोनिया, टर्की र हंगेरीलगायत देशका ५० जना कलाकारहरूले तयार गरेका चित्रकला, मूर्तिकला, प्रतिस्थापन कला र प्रिन्ट मेकिङलगायत राखिएका छन्। क्लासिक ग्यालरीले पहिलो पटक अन्तर्राष्ट्रिय कलाकारहरूलाई सहभागी गराएर प्रदर्शनको आयोजना गरेको हो। प्रदर्शनी आगामी फागुन ३० सम्म चल्नेछ।

 

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App