लस एन्जल्स – कोरोना भाइरसका संक्रमण बढेसँगै ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ फिल्मको रिलिज मिति सारिएको छ। कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएपछि निर्माता बारबरा ब्रोकोली र माइकल जी विल्सनले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज सात महिना पछाडि सारिएको जानकारी गराएका थिए।
आगामी अप्रिलको पहिलो साता रिलिज हुने भनिएको ‘जेम्स बोन्ड’ को २५ औं फिल्म ‘नो टाइम टु डाई’ नोभेम्बरमा रिलिज हुने तय भएको छ। ‘कोरोना भाइरस संक्रमण बढेसँगै निर्माताद्वय बारबरा ब्रोकोली र माइकल जी विल्सनले नो टाइम टु डाई फिल्मलाई आगामी नोभेम्बरमा रिलिज गर्ने भएका छन्,’ जेम्स बोन्डको आधिकारिक ट्वीटरमा ट्वीट गरिएको छ।
कोरोना भाइरसका कारण यसअघि चीनको बेइजिङमा आयोजना हुने भनिएको ‘नो टाइम टु डाई’ फिल्मको प्रिमियर रद्द गरिएको थियो। अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्स–अफिस बजार मानिने चीन कोरोना भाइरसका कारण प्रभावित भएको छ। सन् २०१५ मा रिलिज भएको जेम्स बोन्डको ‘स्पेक्टर’ फिल्मले चीनको बक्स–अफिसमा सर्वाधिक ८३ दशमलव ५१ मिलियन अमेरिकी डलर कमाई गरेको थियो।
कोरोना भाइरसको संक्रमण संसारभर फैलिरहेको अवस्थामा ‘नो टाइम टु डाई’ फिल्मन रोकेको थियो। अभिनेता डेनियल क्रेगको ‘जेम्स बोन्ड’ संस्करणको यो पाँचौं र अन्तिम फिल्म हो। क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाई’ मा अभिनेता डेनियलबाहेक अना दे अर्मस र रामी मालेकलगायत कलाकारले अभिनय गरेका छन्। कोरोना भाइरसका संक्रमण बढेसँगै फ्यानहरूले ‘नो टाइम टु डाई’ फिल्मको रिलिज मिति सार्न आग्रह गरेका थिए। केही दिनअघि कोरोनाका कारण पारामाउन्ट पिक्चरर्सले इटालीमा भइरहेको ‘मिसन इम्पोसिबल ७’ फिल्मको सुटिङ रोकेको थियो।
प्रकाशित: २३ फाल्गुन २०७६ ०१:४५ शुक्रबार