coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

पाठकको रोजाइमा उपन्यास

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा आयोजना भइरहेको पुस्तक प्रदर्शनीमा नेपाली तथा विदेशी लेखकहरूद्वारा लिखित उपन्यासहरू बिक्री भइरहेका छन्। गत पुस २९ देखि सुरु भएको प्रदर्शनीमा भेटिएका विद्यार्थी सफल अधिकार लेखक बुद्धिसागरद्वारा लिखित ‘फिरफिरे’ उपन्यास खोजिरहेका थिए। ‘विज्ञानको विद्यार्थी भएपनि मलाई उपन्यासहरू पढ्न रुचि लाग्छ। मेरो प्राथमिकतामा नेपाली लेखकहरूका उपन्यास पर्ने गरेका छन्। लेखक बुद्धिसागरको फिरफिरे किन्नको लागि प्रदर्शनीसम्म आइपुगेको हुँ,’ उनले भने।

प्रदर्शनीमा विभिन्न प्रकाशन गृहको स्टलमा पुगेर उपन्यासहरू किन्न लागिपरेकी श्रेया गुरुङले नेपाली तथा विदेशी लेखकहरूद्वारा लिखित आधा दर्जन उपन्यास छनोट गरेकी थिइन्। भारतीय लेखक चेतन भगतदेखि अमर न्यौपानेसम्मको पुस्तक छानिरहेकी उनलाई लभ स्टोरी र फिल्मी शैलीमा लेखिएका पुस्तक मनपर्ने बताईन्।

प्रदर्शनीमा इतिहास, उपन्यास, कथा, जीवनी र कवितालगायतका नेपाली तथा अंग्रेजी माध्यमका पुस्तकहरू राखिएका छन्। शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले प्रदर्शनी सबै खालका पुस्तक पाइने बताए। उनका अनुसार पाठकहरूको रोजाइमा यसपटक उपन्यास अधिक परेको छ। उनले दैनिक पाँच हजार पाठकले प्रदर्शनी अवलोकन गरिरहेको दाबी गरे।

सांग्रिला बुक्सका बजार विभाग प्रमुख मनोज खड्काका अनुसार प्रदर्शनीमा प्रेरणादायी पुस्तक र उपन्यास खोज्न आउने सर्वसाधारणको संख्या धेरै रहेको छ। ‘युवालाई प्रोत्साहन गर्ने प्रेरणादायी पुस्तक र विभिन्न लेखकका उपन्यास खोज्न पाठक धेरै भेटिए। केही पाठक धार्मिक, इतिहास तथा संस्कृतिसँग सम्बन्धित पुस्तकहरू समेत किन्न आइरहेका छन्,’ उनले भने। प्रदर्शनीमा दैनिक ५० हजारभन्दा बढीको पुस्तक बिक्री भइरहेको जानकारी उनले गराए।

प्रदर्शनीमा फाइन प्रिन्ट, बुक हिल, मञ्जरी, लिपि, फोनिक्स, शिखा, इन्डिगो इन्क, कथालय, नेपालय र रत्न पुस्तक भण्डारलगायत प्रकाशन गृहका पुस्तकहरु राखिएका छन्। प्रदर्शनी आगामी माघ १६ सम्म चल्नेछ।

प्रकाशित: १४ माघ २०७६ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App