७ वैशाख २०८१ शुक्रबार
कला

‘म आफैं कास्टिङ काउचमा परें’

काठमाडौं -  अभिनेत्री लक्ष्मी बर्देवाले आफू कुनै समय ‘कास्टिङ काउच’ मा परेको खुलासा गरेकी छिन्। पत्रकार डिबी खड्काद्वारा लिखित रंग क्षेत्रबारेको पुस्तक ‘नियत’ विमोचन कार्यक्रममा उनले सो घटनापछि आफूले कहाँ जाने, कहाँ नजाने भन्ने सिकेको खुलाइन्।

उनले कास्टिङ काउचमा परे पनि फिल्म क्षेत्र नै त्यागेर पलायन हुनुपर्ने अवस्थामा आफू नपुगेको उल्लेख गर्दै भनिन् ‘म कुनैबेला कास्टिङ काउचको सिकार भएकी थिएँ। त्यो घटनापछि कहाँ जाँदा हुन्छ, कहाँ जानुहुन्न भन्ने जानकारी भयो। तर पुस्तकका केही पात्रले झैं फिल्म क्षेत्र नै छाडेर हिँड्नु भने परेन। मैले राम्रा मान्छेहरू पनि भेटें। म हराइनँ। फ्रस्टेड भइनँ।’

पुस्तक विमोचनमा सहभागी अभिनेत्री रेखा थापाले फिल्मी क्षेत्रलाई बाहिरबाट हेर्दा चमकधमक देखिए पनि भित्रको अवस्था त्यस्तो नभएको स्विकारिन्। नेपाली फिल्म क्षेत्रमा आफैं निर्मातासमेत रहेकी उनले नेपाली फिल्म क्षेत्रको अवस्थालाई नक्कली फूलसँग तुलना गरिन्। ‘नेपाली फिल्म क्षेत्रको अवस्था नक्कली फूलजस्तै हो,’ उनले भनिन्, ‘जसरी टाढाबाट हेर्दा नक्कली फूल पनि राम्रो र बास्नादार देखिन्छ। तर नजिक आएपछि न बास्ना र सौन्दर्य।’ उनले नेपाली फिल्म क्षेत्रमा संलग्न पुरुषहरूको पनि दर्दनाक कथा रहेको तर त्यसलाई कसैले सार्वजनिक नगरेकोमा असन्तोष व्यक्त गर्दै भनिन्, ‘नेपाली कला क्षेत्रमा सक्रिय पुरुषहरू पनि पीडित छन्। मलाई उनीहरूको कथा पनि पढ्न मन छ। यो क्षेत्रमा नेतृत्वमा पुग्नुभएका सफल महिलाहरू पनि हुनुहुन्छ। यो पुस्तकमार्फत फिल्म क्षेत्रको कुरूप पाटो आउनु फिल्म क्षेत्रकै लागि राम्रो हो।’

अर्की वक्ता अभिनेत्री स्वस्तिमा खड्काले आफू हिंसामा नपरे पनि गलत नियतका साथ म्यासेज भने आउने गरेको खुलाइन्। ‘म आफू त पीडित भइनँ। म्युजिक भिडियोमा काम गर्दा गलत नियतका म्यासेजहरू आउँथे। म त्यस्तालाई सिधै ब्लक गरिदिन्थें,’ उनले भनिन्।

कुनै समय रंग पत्रकारितामा आबद्ध लेखक खड्काले नेपाली मनोरञ्जन क्षेत्रको कालो पाटो समेट्दै पुस्तक निकालेका हुन्। रिपोर्टिङको क्रममा भेटेका पात्रहरूको कथा आख्यान शैलीमा उतारिएको पुस्तकमा फिल्म क्षेत्रमा संलग्न ३५ जनाको कथा समेटिएको लेखक खड्काले बताए।

सञ्चारकर्मी नारायण अमृतले फिल्मी क्षेत्रमा मात्र नभई हरेक क्षेत्रका महिला पीडित हुने गरेको बताए। महिलालाई नेतृत्वदेखि हरेक तहमा शंका गर्ने गरिएको उल्लेख गर्दै उनले भने, ‘अहिले उपसभामुखलाई सभामुखका लागि विश्वास नगर्नुले पनि महिलाको अवस्था देखाउँछ नै।’ विमोचन समारोहमा लेखक खड्काले फिल्मी क्षेत्रमा शोषण र दमनजस्ता हिंसा मात्रै नभए पनि आफूले भने असफल पात्रहरूको कथा मात्र समेटेको बताए।

प्रकाशित: २९ पुस २०७६ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App