काठमाडौं – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आयोजित ‘सुन्दर नेपाल खुसी नेपाली’ प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको पाल्पामा दशैंका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको फोटो उत्कृष्ट घोषित भएका छन्।
त्यस्तै प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको फोटोे दोस्रो र दयासागर केसीको पाटन दरबार क्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुद्दै गरेको फोटो तेस्रो भएको थियो। फोटो पत्रकार स्कन्द गौतमको कुहिरोभित्र देखिएको गुम्बाकोे फोटोले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले कला फोटोग्राफीको विशिष्टीकरणका लागि सो फोटो प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा देशभरबाट दुई सय २१ फोटोग्राफरले खिचेका एक हजार हाराहारीका फोटोहरु प्राप्त भएका थिए।
फोटोग्राफर मणि लामाको अध्यक्षतामा कलाकार सुजन चित्रकार र फोटोग्राफर अशेष राजवंशको निर्णायक टोलीले उत्कृष्ट ७० वटा फोटोहरु छनोट गरेका थिए। प्रतियोगिताका विजेता, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ४०, २५ र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सान्त्वना पुरस्कार स्वरूप १० हजार रुपैयाँ प्रदान गरिनेछ।
‘देशभरबाट प्राप्त फोटोहरुले नेपालको कला संस्कृति, प्राकृतिक स्रोत, सम्पदा, समृद्धि, खुसी र सुख झल्काएका छन्। थिमअनुसार राम्रा फोटाहरु आएका छन्। तर, हामीले जे छानेका छौं। यसबाट म पूर्ण सन्तुष्ट छु, ’ निर्णायक टोलीका अध्यक्ष फोटोग्राफर मणि लामाले भने।
प्रतियोगिताबाट छानिएका उत्कृष्ट ७० फोटोहरुको प्रदर्शनी आगामी पुस ११ देखि नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ। सो अवसरमा प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण गरिनेछ। प्रदर्शनी आगामी पुस १७ सम्म चल्नेछ।
प्रकाशित: ८ पुस २०७६ ०३:४८ मंगलबार