१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘बिरक्तिएर फिल्म क्षेत्र छाड्न बाध्य भएँ’

काठमाडौं - नेपाली फिल्म क्षेत्रमा २५ वर्ष बिताईसकेकी अभिनेत्री निरुता सिंह वीरगन्जमा आयोजना भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा देखिइन्। ‘डेगुंबाट रिकभर हुनेक्रममा छु। धेरै बोल्न नसक्ने हुँदा अन्तर्वाताचाँहि छोटो गरौं हौ,’ नागरिकसँग कुराकानीको सुरुवातमा उनले भनिहालिन्।

दक्षिणाु बाट फिल्म यात्रा सुरु गरेकी उनी पछिल्लो समय फाटफुट्ट नेपाली फिल्ममा देखिन थालेकी छिन्। नेपाली फिल्म क्षेत्रबाट ब्रेक लिएको उनले करिव आठ वर्षपछि 'नाई नभन्नु ल ५' फिल्मबाट कमब्याक गरिन्। त्यसलगत्तै मह सञ्चारको फिल्म ‘दालभात तरकारी’ र अभिनेताद्वय भुवन केसी र अनमोल केसीसँग ‘क्याप्टेन’ फिल्मको ‘कर्ली कर्ली कपाल’ बोलको गीत देखिएकी थिइन्।

सन् २००८ मा नेपाली फिल्मको सक्रिय करियरलाई छाडेर इन्टेरियर डिजाइनिङसम्बन्धी कोर्स गर्न मुम्बई पुगेकी उनले वास्तविकता खोलिहालिन्, ‘राम्रै नेपाली फिल्महरु पाइरहेको थिएँ। तर, हिरोइनलाई च्यापेर मजा गर्न पाइन्छ भन्ने मानसिकता लिएर फिल्म बनाउन आएका निर्माता र निर्देशकको जमात नेपाली फिल्म क्षेत्रमा हाबी भएका थिए। यो नाजुक स्थितिबाट बिरक्तिएर मैले फिल्म क्षेत्र छोड्न बाध्य भएको थिएँ। मेरो लागि नेपाली फिल्म क्षेत्र भनेको मन्दिर हो। यो क्षेत्र बदनाम हुँदै गर्दा चित्त दुखेर पढ्ने बहानामा मुम्बई पुगें।’

फिल्म क्षेत्र पहिलादेखि बदनाम छ। यो क्षेत्रमा काम गर्ने महिला फिल्मकर्मीहरु हिंसामा परेका हुनसक्छन्। गल्ती गर्नेभन्दा सहने उत्तिकै दोषी हुन्छन्। हिंसामा परेकाले बोल्ने आँट गर्नुसक्नुपर्छ।

हालसम्म कुनै प्रकारको हिंसा र दुव्र्यवहारको सिकार हुनु नपरेको दाबी उनले गरेकी छिन्। ‘मैले फिल्मका काम गरिरहँदाको माहोलमा मसँग कसैले दुव्र्यवहार गर्ने आँट गरेनन्। मैले लगातार फिल्म पाइरहेको थिएँ। मेरो नामका कारणले वितरकहरुले फिल्म किन्थ्यो,’ उनले भनिन्।

नेपाली फिल्म क्षेत्रका स्थापित अभिनेत्री उनी इन्टेरियर डिजाइनिङसम्बन्धी कोर्स गर्न मुम्बई पुगेलगत्तै प्रोडक्सन हाउसमा काम गर्न थालेकी थिइन्। ‘नेपाली फिल्ममा लामो समय बिताएको भएर मुम्बईमा टिक्न सकिरहेको छु। म वाइ स्टार भन्ने प्रोडक्सन हाउसमा सल्लाहकारको रुपमा काम गरिरहेको छु। यसले विभिन्न वेव सिरिज र सर्ट फिल्म निर्माण गर्दछ,’ उनले भनिन्।

अभिनेत्री सिंहलाई आफूले अभिनय गरेका पाँच दर्जन हाराहारीमध्ये ‘दक्षिणा’, ‘ठूलदाई’, ‘चाँदनी’, ‘दर्पण छाँया’, ‘अजम्बरी माया’, ‘आफ्नो मान्छे’ र ‘आफन्त’ फिल्म मनपर्ने बताइन्। नेपाली फिल्ममा रोनाधोना भूमिकाको निम्ति दर्शकले उनलाई रुचाएपनि उनी फरक भूमिकामा देखाइ इच्छुक थिइन्। ‘नेपाली फिल्ममा म सक्रिय हुँदा पारिवारिक खालका फिल्महरुको वर्चश्व थियो। हिरो केन्द्रित फिल्म बन्ने स्थितिमा मलाई दर्शकले रोनाधोना भूमिकामा हेर्न मनपराउँथें। एक्सन फिल्मको लागि बिरलै अफर आए होलान्। कारण, दर्शकले मलाई हाम्री चेलीको रुपमा स्वीकारे। धेरै फिल्मका स्क्रिप्टहरु मलाई भनेर लेखेका थिए।’

‘दाल भात तरकारी’ फिल्मको पोस्ट प्रोडक्सनको दौरान एक्कासी बिमारी परेकी उनले तीन महिना बेडका आराम गनुपर्दाको तितो अनुभव सुनाइन्। ‘क्याप्टेन’को प्रिमियरको दिन गम्भिर अवस्थामा उनी मुम्बई पुगेकी थिइन्। ‘डेगुंका कारण तीन महिना बेडमा आराम गर्नुपर्ने अवस्थामा पुगें। त्यो तीन महिना मेरो जीवनको सबैभन्दा पीडादायी दिन थिए। परिवारले आशा मारिसकेका रहेछन्। निको भएर नेपाल आउँदा उत्साहित छु।’ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग काम गर्ने रहरका कारण उनले ‘दाल भात तरकारी’ फिल्ममा अभिनय गरेकी थिइन्।

नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री तथा महिला फिल्मकर्मीहरु कामको दौरान हिंसाको सिकार हुनसक्ने संकेत उनले दिइन्। ‘फिल्म क्षेत्र विभिन्न कारणले पहिलादेखि बदनाम छ। यो क्षेत्रमा काम गर्ने महिला फिल्मकर्मीहरु हिंसामा परेका हुनसक्छन्। गल्ती गर्नेभन्दा सहने उत्तिकै दोषी हुन्छन्। हिंसामा परेका जसलेपनि बोल्ने आँट गर्नुसक्नुपर्छ,’ उनले भनिन्।

‘दक्षिणा’, ‘मिज्जु’, ‘रहर’, ‘लहना’, ‘दर्पण छाँया’, ‘आफ्नो मान्छे’, ‘अजम्बरी नाता’, ‘ठूलदाई’, ‘चाँदनी’, ‘फर्की आउ’, ‘सिउँदोको सिन्दुर’ र ‘नाता रगतको’ लगायत फिल्ममा देखिइसकेकी उनी नयाँ पुस्ताका फिल्ममेकरसँग काम गर्न इच्छुक छिन्। तत्काल कुनै फिल्म हातमा नभएको जानकारी गराउँदै उनले भनिन्, ‘अहिले मसँग कुनै फिल्म छैन। नयाँ पुस्ताको फिल्ममेकरसँग काम गर्न इच्छुक छु। भूमिका र कथावस्तु मनपर्यो भने पक्कै काम गर्छु। महिलालाई सशक्त रुपमा प्रस्तुत गरिएको फिल्ममा अभिनय गर्ने रहर छ। नेपाली फिल्ममा महिलालाई सशक्त रुपमा प्रस्तुत गरेर बनेका महिला केन्द्रित फिल्महरु बनिनुपर्छ।’

पछिल्लो समय नेपाली फिल्मका कलाकारहरु फिल्म मेकिङतर्फ आकर्षित भइरहँदा उनले भने आँट गर्न नसकेको प्रतिक्रिया दिइन्। ‘फिल्म मेकिङ गर्नु भनेको ठूलो जिम्मेवारी हो। म अहिलेपनि अभिनय निखार्न लागिपरेको हुँदा फिल्म मेकिङको जिम्मेवारी लिने आँट गर्न सक्दिन्। बरु अभिनय निखार्न लागिपरेकी छु,’ उनले भनिन्, ‘फिल्म मेकिङ मजाक होइन।’

प्रकाशित: २८ कार्तिक २०७६ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App