२८ श्रावण २०७७ बुधबार
कला

सभ्यता चिनाउँदै कनकासुन्दरी

खस सभ्याता चिनाउन आयोजना गर्ने महोत्सव बारे जानकारी गराइँदैँ ः धनबहादुर /नागरिक

जुम्ला - जुम्लाको कनकासुन्दरी गाउँपालिका धार्मिक, सास्कृतिक हिसावले निकै अब्बल छ। यहाँको मौलिक संस्कृति र परम्परा ऐतिहासिक सिँजा राज्यसंग जोडिएको छ। त्यो हिसावले यो क्षेत्र निकै महत्वपुर्ण छ। तर उचित प्रचारप्रसारको अभावमा त्यो क्षेत्र माथि उस्कन सकेको छैन्। यहाँ ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक तथा धार्मिक दृष्टिकोणले अग्रस्थानमा छ, खस सभ्यताका जानकार तुङ्गनाथ उपाध्याय भन्छन्,‘ यो क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्दा ओझेलमा पर्यो। खस भाषाको उद्गम स्थल सिँजाका सभ्य नागरिकको पहिचान बदलिदैँ जान थालिसक्यो। यहाँको सभ्यता र संस्कृतिको संरक्षणका लागि एकजुट हुनुको विकल्प छैन्। यो स्थानीय सरकारको कार्यक्षेत्र भित्रको विषय हो।’

कनकासुन्दरी गाउँपालिकाको चौथो गाउँसभाले यहाँको इतिहास सकिँदै जान थालेको निष्कर्ष निकाल्दै सिँजा पर्यटन तथा साँस्कृतिक महोत्सवका माध्यमवाट यहाँको महत्व र गरिमा खस्कन नदिनको लागि पहल गरिरहेको छ। फलस्वरुप यहि कार्तिक ८ देखि १० गते सम्म महोत्सवको आयोजना हुदैँछ। कनकासुन्दरी गाउँपालिकाका स्थानीय हंशराज न्यौपाने यो महोत्सवमार्फत सिँजा राज्यको पहिचान दिलाउने बताउँछन्। उनले भने,‘महोत्सवमा आधुनिकता प्रवेश गर्न पाइनेछैन्,बाह्य कलाकार आएको खण्डमा स्थानीय पोशाक पहिरिएर प्रस्तुती गर्नु पर्नेछ। यो साँचिक्कै खस सभ्यताको केन्द्रविन्दु रहेछ,भन्ने सन्देश फैलाउन सकिने छ। ’महोत्सवको उद्घाटन उपराष्टपति नन्दबहादुर पुनले गर्नेछन्।

यो गाउँपालिकामा कनकासुन्दरी मन्दिर छ। त्यो सबैको आकर्षणको केन्द्र हो। त्यहाँ पुजापाठ गर्ने र अवलोकन गर्नेको बाक्लो भिडदेखिन्छ। कर्णाली प्रदेश सरकारले छनौट गरेका ४० पर्यटकीय गन्तब्यभित्र यो मन्दिर पर्छ। वाणगंगा,गरुडनुहानी,गुप्तपोखरी, देउल दत्तरा गुफा,पाण्डवगुफा, र विराट दरवार छन्। यी सबै स्थल खस राज्यकालमा राजारजौटाले प्रयोगमा ल्याएका महत्वका स्थल हुन्। लामाथाडा,लासीपाटन्,धोविघाट,सिउवाघ,गौरी नौ धारा,घाँसओढार,फुटासिला बुडुमस्टो,फुटापहडो,कालिका मन्दिर लगायतका धार्मिक तथा साँस्कृतिक स्थल भएको क्षेत्र हो कनकासुन्दरी गाउँपालिका।

यो महोत्सव सिँजा सभ्यता र सभ्यताको महत्वका बारेमा अध्ययन गर्न चाहनेका लागि राम्रो सन्दर्भ सामाग्री बन्ने अपेक्षा गरिएको स्थानीय हंसराज न्यौपाने बताउँछन्। सिँजाको मौलिक पहिरन्,परम्परागत खानपान सबैको रोजाइको बिषय हो। यहाँका सिंगारा नाच, धाँउसिला नाच,चम्फा नाच,बालोनाच,ढालनाच,मागल, झोडा,पञ्चेवाजा, बालो नचाउने जस्ता नाच यहाँको प्रख्याति हुन्।

तर नयाँ पुस्ताले पुराना संस्कृति अपनाउदैँन्, कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावत नयाँ पुस्तालाइ यहाँको सभ्यता र संस्कृतिका बिषयमा चनाखो बनाउँदै लैजाने बताउँछन्। उनले भने,‘हामी सिँजा सभ्यताको वर्णन गरेर समृद्धि हासिल गर्न सक्छौँ, तर प्रचारप्रसार हुन सकेको छैन्। स्थानीय सरकारको अबको प्राथमिकता भनेको नै यि सम्पदाको उजागार नै हो। ’

अव हाम्रो भुमि, हाम्रो संस्कार र सिँजा सभ्यता प्राण भन्दा प्यारो छ भन्ने सन्देश फैलाउने अचुक हतियार बन्नेछ, सिँजा पर्यटन तथा साँस्कृतिक महोत्सव। महोत्सवको लागि गाउँपालिकाले २० लाख रुपैयाँ बिनियोजन गरेको छ। वडा नम्वर ५ ले ३ लाख गरेर २३ लाख रुपैयाँ महोत्सवमा खर्च हुनेछ। महोत्सको पहिलो दिनमा स्थानीय संस्कृतिको बारेमा मात्र प्रस्तुतीकरण हुने छ।महोत्सव सञ्चालनका लागि बिभिन्न १० वटा समिति बनाएका छन्। गाउँपालिका भन्दा बाहिरको खर्च कर्णाली प्रदेश सरकार तथा संघीय सरकारबाट धान्ने पहल भइरहेको कर्णाली कलाकार समाजका अध्यक्ष पदमरोकाया बताउँछन्। उनका अनुसार सिँजा सभ्यता संग परिचित देशका ख्याति प्राप्त कलाकारको प्रस्तुतीरहनेछ।

पहिले तत्कालिन ११ वटा गाविसलाइ सिँजा क्षेत्र माँनिदै आएको थियो। हाल संघीयताले तीनवटा स्थानीय तहमा टुक्राएको छ। स्थानीय तहबीच खास सिँजाका बारेमा सामान्य विभेद भइरहेको छ। कनकासुन्दरी गाउँपालिका अध्यक्ष रावत भन्छन्,‘ अब पहिलेको सिँजा क्षेत्रलाइ नै समग्र सिँजाको रुपमा हेरिनुपर्छ। सबैले समानरुपमा सिँजा क्षेत्रको प्रचारप्रसार गरेर यो क्षेत्रलाइ पर्यटकमैत्री क्षेत्रका रुपमा घोषित गर्नुपर्छ। यसका लागि कनकासुन्दरी गाउँपालिका सदैव तयार छ। ’ संघीय सरकारको सयवटा पर्यटकीय गन्तव्यका रुपमा सिँजा सभ्यता पनि छनौटमा परेको छ। यो राम्रो पक्ष हो। अव केन्द्र प्रदेशसरकार वाट आउने विकास समानरुपमा यहाँको समृद्धिका लागि लगानी गर्नु पर्ने र स्थानीय सरकारले आफु अनुकुल सिँजा सभ्यातका बारेमा चिन्तन गर्नु पर्ने स्थानीय बताउँछन्।

महोत्सवमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी लगायतको टोली पनि आउनेछन। सिँजा सभ्यता जोडिदै मुगुको राराताल सम्म जोडिने नाग्म गमगडी सडक जोडिएको छ। त्यो सडक हिलाम्य र धुलाम्मे छ। हिँउदमा धुलोले यात्रा प्रभावित बनाउँछ । बर्षायाममा हिलोले। अध्यक्ष रावत भन्छन्,‘यो सडक देखाउन र पर्यटकको सास्तीका बिषयमा जानकारी लिन पनि यो महोत्सव खुराक हुनेछ। महोत्सवमा कर्णाली प्रदेशका सबैजसो स्थानीय तहलाइ निमन्त्रणा गरिएको आयोजकले जनाएको छ।

सिँजाको सभ्यता चिनाउने यो पहिलो पहल हो। यसपछि सिँजा क्षेत्र शुरु भएदेखि मुगु नजोडीदा सम्मको स्थानका बारेमा बृत्तचित्र बनाइने छ। महोत्सवमा स्थानीय रैथाने कृषिवस्तु, परम्परागत पुर्खाले लगाउने पहरन, समग्रमा यहाँको परम्परागत जीवनशैली प्रस्तुत हुनेछ। महोत्सवमा सहभागि हुनको लागि अनिवाय ढाँका टोपी र कोट अनिवार्य लगाउनु पर्नेछ। सिँजा सभ्यताको पहिले,अहिले र पछिको भविष्यका बारेमा लेखिएको ब्रसर तुङ्गानाथ योगीले तयार पार्दैछन्।यो पनि सबै महोत्सव अवलोकन कर्तालाइ उपलव्ध हुनेछ।

प्रकाशित: ७ कार्तिक २०७६ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App