इलाम – ‘नेपाली फिल्म करोड क्लबमा छि-यो भन्नु अफवाह मात्रै हो। फिल्मको प्रचारको लागि करोड क्लबको हल्ला हुने गर्दछ। कतिपयलाई जे गरेपनि राम्रो फिल्म बन्छ भन्ने लाग्छ, ’अभिनेता दयाहाङ राई भन्दै थिए। इलाम सात्यि महोत्सवअन्तर्गत शनिबार आयोजना भएको ‘करोड क्लब र अफवाह’ शीर्षकको अन्तरक्रियामा नेपाली फिल्मको विभिन्न पक्षमाथि छलफल भएको थियो।
छलफलमा बोल्दै उनले फिल्म राम्रो बन्न समाजकै कथा टिप्नुपर्ने र यथार्थ झल्किनुपर्ने बताए। ‘हामीले लुट र कबड्डी आफ्नै लागि, स्वतन्त्र सोचले बनाएका फिल्म हुन्। दुवै सफल पनि छन्,’ उनले भने, ‘फिल्म कुन समयमा बनेको हो भन्ने क्लियर हुनुपर्छ। तर, निश्चित समयका लागिमात्र होइन, सय वर्षपछि पनि सान्दर्भिक कथा हुनुपर्छ।’
सदरमुकाममा शुक्रबारदेखि शनिबारसम्म चलेको ‘इलाम साहित्य महोत्सव’ मा कला, साहित्यदेखि राजनीतिसम्मका विषयमा छलफल चलेको थियो। महोत्सवको उद्घाटनलगत्तै ‘आलोचनात्मक चेत र लोकतन्त्र’ विषयमा बोल्दै सञ्जीव उप्रेतीले भने, ‘जे अगाडि छ त्यो नै अन्तिम सत्य नहुनसक्छ। त्यसलाई प्रश्न र आलोचनाका माध्यमबाट पूर्णता दिनुपर्छ।’
साहित्य क्षेत्रका सर्जकको कित्ता स्पष्ट गर्ने प्रयासस्वरूप ‘कवि र कविता : सत्ता कि प्रतिपक्ष’ शीर्षकमा अझ पेचिलो बहस चल्यो। गीतकार श्रवण मुकारुङले भने, ‘कवि वा साहित्यकारले सरकारको राम्रो पनि लेख्नुपर्छ, सुधार गर्नुपर्ने पनि लेख्नुपर्छ तर लेखक प्रतिपक्षकै कित्तामा हुन्छ। उनको विचारमा साहित्यकारद्वय मनु मञ्जिल र मोमिलाले सहमति जनाए। ‘दुःखी, सर्वसाधारण नागरिक नै साहित्यको पक्ष बन्नुपर्छ,’ मनुले भने, ‘सत्ताको फाइदा लिनेहरूले पनि सर्वसाधारण र सबाल्टर्नको कथा लेख्नुपर्छ।’
‘मानकमाथि प्रश्न’मा मदन पुस्कार विजेता राजन मुकारुङले कडा प्रश्न उठाए। ‘हामीलाई कसैले यही नै मानक हो भने कुनै विषय थोपरेका भरमा हामी चल्नुपरेको छ,’ उनले कछुवा र खरायोको दौडबारे उदाहरण दिँदै भने, ‘हामीले साना कक्षामा पढेको कछुवा र खरायोको दौड कथामा कछुवाले खरायोलाई जितेको मानक बनाइएको छ, के कछुवाले खरायोलाई दौडमा जित्नसक्छ ? त्यही नै सत्य हो ?’ उनले यस्ता अनगिन्ती विषयमा मानकले मानिसका पीडा ओकल्न अवरोध गरिरहेको जनाए। राजनसँगै वक्ताका रूपमा रहेका उज्वल प्रसाईं र मिश्र वैजयन्तीले मानक धेरै मानिसमा स्थापित हुने बताए। ‘अहिले विभिन्न क्षेत्रमा पञ्चायतकालीन मानक हाबी भइरहेका छन्,’ उज्वलले भने, ‘मानकलाई सिर्जनाले परास्त गर्न सकिन्छ।’
त्यसपछि आयो विकास–निर्माण र समृद्धिको विषय। शीर्षक थियो–‘अ’मा अल्झेको इलाम। ‘इलाम अलैंची, अदुवा, ओलन, अकबरे, आलु, अर्थाेडक्सलगायत कृषिजन्य वस्तुका लागि चर्चामा छ तर यो अले इलामलाई साँच्चीकै अघि बढाएको छ कि अल्झाएको छ ?’ पत्रकार केदार शर्माको प्रश्नमा महेन्द्ररत्न बहुमुखी क्याम्पसका उपप्राध्यापक बरालले जवाफ दिए– अल्झाएको छ। ‘अहिले जति पनि कृषिजन्य वस्तु इलाममा उत्पादन हुन्छन्, तिनीहरूको व्यावसायिकता खोइ ?, उत्पादनमा आधुनिकीकरण, बजारीकरण र तिनको पहिचान खोइ ?’ बरालले आफ्नो प्रतिक्रिया पुष्टि गर्न खोजे, ‘कृषि उत्पादनमा नामले मात्रै हुँदैन, त्यसले किसान सन्तुष्ट हुनेगरीको प्रतिफल पनि दिनुपर्छ।’
तर, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत बरालको तर्कमा सहमत भएनन्। उनले भने, ‘अले अल्झेको होइन, अले सम्भावना खोजिरहेको ठाउँ हो इलाम,’ बस्नेतले भने, ‘हो, सम्भावना भएजति उपलब्धि हुन बाँकी छ र त्यसका लागि प्रयास भइरहेको छ।’ मरब क्याम्पसका पूर्वप्रमुख युद्धप्रसाद वैद्यले इलामको आलु, अलैंची र अदुवाजस्ता नगदेबालीले जिल्लामा समृद्धिको ढोका खोल्नसक्ने बताए।
महोत्सवमा फिल्म क्षेत्रमा ‘करोड क्लब र अफवाह’, साहित्यमा ‘किन बिक्न छोड्यो ?’ ‘मानकमाथि प्रश्न’, ‘अधिकारको पेवा, ‘पछिल्ला साहित्यिक आन्दोलन’, ‘गीतको दुःख’, ‘पर्यटनको आयाम’, ‘नेपाली साहित्यमा मुन्धुम’, ‘सिनेमाको सन्देश’ र ‘निर्माणको जिम्मा’लगायत विषयमा बहस चल्यो। इलामको पर्यटन प्रवद्र्धनका लागि इलाम साहित्य समाजले आयोजना गरेको साहित्य महोत्सवमा साहित्यकार, कलाकार र राजनीतिक दलका नेतालगायत बहसमा सहभागी भएका थिए।
इलाम पर्यटकीय गन्तव्य भएकाले यहाँको सौन्दर्यमा निमग्न भएर सर्जकले सयौं विधाको साहित्य रचना गर्न सजिलो होस् भनेर पनि महोत्सव आयोजना गरेको समाज अध्यक्ष प्रकाश थाम्सुहाङले बताए। ‘देश र विदेशका साहित्यकार, लेखक, पत्रकार, राजनीतिज्ञसँग पाठकले प्रत्यक्ष अन्तत्र्रिmया गर्न पाए,’ अध्यक्ष थाम्सुहाङले भने, ‘विषयगत ज्ञानको दायरा फराकिलो पार्न र वैचारिक मत बनाउन यसले सघाएको छ।’ महोत्सवमा नेपाल र भारतका दार्जिलिङ र सिक्किमबाट साहित्यकार सहभागी भएको आयोजकले जनाएको थियो।
प्रकाशित: ६ आश्विन २०७६ ०३:२९ सोमबार