१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

प्रविधिले भित्र्याएका तीजका विकृति

काठमाडौं - ‘हरे कृष्ण हरे कृष्ण’ गीत गाएर महिलाहरूको एउटा समूह रमाइलो गरिरहेको छ। कसैको हातमा धिमेबाजा छ। समूह समूहमा महिलाहरू ताली बजाउँदै नाचिरहेका छन्। कोही ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा, चिटिक्कै भाछु रे’जस्ता गीत बजाएर नाचिरहेका छन्। महिलाहरूको महान पर्व तीजका अवसरमा सोमबार पशुपति क्षेत्रमा देखिएको दृश्य हो यो।

‘हरितालिका तीजमा पशुपति क्षेत्रभित्र देखिएको यो दृश्य मलाई पटक्कै मन परेको छैन,’ पेप्सीकोलाबाट पशुपति आएकी कमला पोखरेलले भनिन्, ‘तीजमा सबै दिदीबहिनी मिलेर तीज गीत गाएर रमाइलो गरे पो तीजजस्तो हुन्छ।’ अश्लील खालका गीत बजाएर यस पवित्र ठाउँमा मनोरञ्जन लिइएको उनको भनाइ छ। प्रविधिको विकासले गर्दा अहिले तीज पर्वमा विकृति फैलिँदै गएको उनी बताउँछिन।

उनको अनुभवमा तीजको बेला मन्दिरमा दर्शन गरी व्रत बस्ने गरिन्थ्यो। महिलाहरू तीज गीत गाएर रमाइलो गर्थे। तर, अहिले ती सबै हराउँदै गएका छन्। ‘पहिलेको भन्दा अहिले तीजमा धेरै विकृति भित्रिएको छ,’ उनले भनिन्, ‘विभिन्न प्रविधिको गलत प्रयोगले यसको रौनकता घट्दै गएको छ।’
पशुपतिमा भेटिएका बूढानीलकण्ठकी देवीकुमारी शाही प्रविधिसँगै पुरुषहरूबाट पनि केही विकृति फैलिएको बताउँछिन्। ‘तीज विशेष गरी महिलाहरूका लागि हो,’ उनले भनिन्, ‘तर, तीजको नाममा पुरुष जाँडरक्सी सेवन गरी बाहिर होहल्ला गर्ने गर्छन्।’ महिलाहरू नाचिरहेका ठाउँमा पुरुषहरू पनि भित्र घुस्रिएर अनैतिक कार्य गर्ने गरेको उनले बताइन्।

‘यस्ता विकृति अन्त्य हुनुपर्छ,’ उनले भनिन्। उनका अनुसार महिलाले तीजका बेला केही नखाई शिव र पार्वतीको भक्त भएर मन्दिरमा दर्शन गर्छन्। अगाडि नै दर खाइन्छ। तीजको भोलिपल्ट भगवान्लाई पूजा गरेर मात्र अन्न खाने चलन छ। भीडका कारण आफूले पशुपति मन्दिरभित्र पूजा गर्न नपाएकोमा दुखेसोसमेत पोखिन्।

हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा हुँदा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिंगको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेका हुन्।

तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ। यो चाड भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म चार दिन मनाउने गरिन्छ। तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान र मनोरञ्जनसमेत गर्ने गरिन्छ।

तीजको बेला पशुपति क्षेत्रभित्र मगन्तेहरूले समेत समाजमा नकारात्मक सन्देश जानेखालका गीत बजाइरहेका थिए। तर, कुनै सरोकारवाला निकायले उनीहरूलाई हटाउन पहल गरेका थिएनन्। पशुपतिमा भेटिएकी नारायणटारकी रुक्मनी सञ्जेलले पनि तीजका नाममा भएका विकृति हटाउनुपर्ने बताइन्।

‘महिलाले सभ्य ढंगले नाचगान गरेर रमाइलो गर्नुपर्ने हो,’ उनले भनिन, ‘तर तीजको नाममा अश्लील गीत बजाएर यसमा रमाउनु  कदापि राम्रो होइन।’ उनले तीजका बेला पशुपति क्षेत्रमा पुरुषलाई प्रवेश निषेध गर्नुपर्ने बताइन्। तीजमा भित्रिएका विकृति हटाउन महिलाहरू नै अगाडि बढ्नुपर्ने उनको भनाइ छ। अहिले रेस्टुरेन्ट, पार्टी प्यालेस र होटलमा तीज मनाउने, गरगहना प्रदर्शन गर्ने, सांगीतिक कार्यक्रम गर्ने नाममा ध्वनि प्रदूषण गराउनेजस्ता विकृति बढेको उनले बताइन्।

प्रकाशित: १७ भाद्र २०७६ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App