१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

कविता विजेतालाई पुरस्कार

काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा गत वर्ष आयोजित ‘राष्ट्रिय कविता महोत्सव’का विजेता कविहरू पुरस्कृत भएका छन्। पुरस्कृतलाई राष्ट्रपति निवास शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी हुन्।

महोत्सवमा प्रथम भएका काभ्रेका कवि फूलमान बललाई राष्ट्रपति भण्डारीले स्वर्ण पदकसहित ३० हजार रुपैयाँ, दोस्रो हुने धादिङकी सुनिता खनाललाई कास्य पदकसहित २५ हजार रुपैयाँ र तृतीय हुने मोरङकी मेनुका चापागाईं र तेह«थुमकी एलिना दुलाललाई जनही २० हजार रुपैयाँ र रजत पदक प्रदान गरिन्। तेस्रो हुने रामेछापका कवि जीवन खत्री देशबाहिर भएका कारण उपस्थित हुन सकेनन्।

कार्यक्रममा २०७२ को महोत्सवमा पुरस्कार दिन बाँकी प्रथम कवि सिन्धुलीका प्रोल्लास सिन्धुलीय र द्वितीय पाँचथरकी सरस्वती दुमी राईलाई पनि राष्ट्रपति भण्डारीले पुरस्कार हस्तान्तरण गरिन्। राष्ट्रपति भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गर्दै मुलुकको सामाजिक रूपान्तरणमा विशिष्ट योगदान दिँदै आएको बताइन्। उनले पुरस्कृत कविका कविताहरूबाट सिंगो राष्ट्र नै लाभान्वित भएको बताउँदै राष्ट्रको पर्यटन प्रवद्र्धनमा स्रष्टाका सिर्जनाहरूको महत्वपूर्ण भूमिका रहने हुँदा यसतर्फ स्रष्टाहरूले कलम चलाउनु पर्नेमा जोड दिइन्।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नयाँ पुस्ताका कवि प्रतिभाहरूलाई सिर्जनाकर्ममा उत्प्रेरित गर्ने उद्देश्यले वि.सं २०२२ देखि नै कविता महोत्सव गरिँदै आएको बताए। कुलपतिले नेपालको समग्र सांस्कृतिक पहिचान झल्काउने महाग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशन गर्ने अभियानमा प्रज्ञा–प्रतिष्ठान लागेको खुलाए।

उपकुलपति डा. जगमान गुरुङले पुस्ता र दक्षताको हस्तान्तरण गर्दै लैजानु नै कविता महोत्सवको उद्देश्य भएको बताए। सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले आगामी दिनमा कविता महोत्सवलाई अझ प्रभावकारी बनाउँदै लगिने जनाए।

कविता महोत्सवका संयोजक एवम् काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कवि प्रतिभाको विकास र कविता विधाको उन्नयनमा कविता महोत्सवले विशेष भूमिका खेल्दै आएको उल्लेख गर्दै यस वर्षदेखि कविता वाचन कलालाई पनि मूल्यांकनको आधार बनाइने बताए। कार्यक्रममा पुरस्कृत कविहरूले आ–आफ्ना कविता सुनाएका थिए।

प्रकाशित: ५ असार २०७६ ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App