१६ मंसिर २०७८ बिहीबार
कला

गन्धर्वलाई पेसा लोप हुने चिन्ता

पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ६ सरौंखोलामा सारंगी बजाउँदै रणबहादुर र ठाकुर गन्धर्व। तस्बिर: छविलाल/नागरिक

पर्वत - अर्घाखाँचीका रणबहादुर गन्धर्व उमेरले ५२ को उकालो लागिसके। घर खर्च नचलेपनि सारंगी बजाएर उनको गाउँ डुल्ने लत हटेको छैन्। हजुरबुवा र बुवाको सारंगी लिएर डुल्ने पेसालाई चार दशकदेखि अँगाल्दै आएका रणबहादुर अर्घाखाँचीदेखि पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, कास्कीलगायतका जिल्ला डुल्छन्। वर्षमा एकपटक यी जिल्लाहरू पुग्ने उनले सारंगीको तालमा गीत गाएर हालसम्म सोचेअनुरूप आम्दानी पाउन सकेका छैनन्।

‘सारंगी बजाएर मेरो घर खर्च चल्दैन्। तर हजुरबुवा, बुवाले लिएकै पेसालाई किन चटक्कै छाडौं भनेर मात्रै हो’, उनले भने। सारंगी बोकेर हिँड्दा रणबहादुर १२ वर्षका थिए। त्यो उमेरमा सारंगी बजाएर गीत गाउन थालेका उनले यो पेसा सुरु गरेको ४० वर्ष भयो। ‘सारंगी बजाएर डुल्ने मलाई नसा नै परेको छ। परम्परागत पेसालाई लोप हुन नदिने ध्येय पनि छ’, पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ६ स्थित सरौंखोलामा भेटिएका उनले भने।

उनका तीन छोरा, दुई नाति र एक बुहारी छन्। पछिल्लो समयमा उनका छोराले यो पेशा छाडिसकेका छन्। ‘सारंगी बजाउन र गीत गाउन जानेका छन्। तर यही पेशा अँगालेर हिँड्न छोराहरू मान्दैनन्’, उनले भने। रणबहादुरका तीनै छोराहरू रोजगारीका क्रममा भारतमा छन्। उनले अहिले यो पेसा बनाएर जीवन धान्न निकै कठिनाई हुने गरेको बताए। ‘दिनमा चार–पाँच सय पनि हुँदैन। त्यसैबाट खाँदा बचत हुँदैन’, उनी गुनासिए।

सारंगी बजाउन छाडेर अहिले युवापुस्ता कोही ठेकेदार बनेका छन्। कोही डकर्मी, सिकर्मी बनेका छन्। धेरैजसो युवाहरू विदेश पुगेका छन्।

पछिल्लो समयमा परिवारले सारंगी लिएर गाउँ नजान आग्रह गरेपनि उनी पुर्खाले धानेको पेसा बचाउनकै लागि हिँड्ने गरेको बताउँछन्। उनको गाउँमा ७० परिवार गन्धर्व बस्छन्। रणबहादुरको उमेर समूहका गन्धर्व यही पेसामा हिँडेपनि अहिलेको नयाँपुस्ताले सारंगी लिएर गाउँगाउँ डुल्ने काम गर्न छाडिसकेका छन्। ‘सारंगी बजाउन छाडेर अहिले युवापुस्ता कोही ठेकेदार बनेका छन्। कोही डकर्मी, सिकर्मी बनेका छन्। धेरैजसो युवाहरू विदेश पुगेका छन्’ उनले भने। 

अर्घाखाँचीकै ठाकुर गन्धर्व पनि ४९ वर्षका भए। उनले सारंगी पेसालाई अगालेको २२ वर्ष भयो। बुवाआमा, दुई छोरा र दुई छोरीका पिता उनले पनि गन्धर्व पेसाले परिवार धान्न निकै मुस्किल भएको अनुभव सुनाए। ‘हामी अहिले यो सारंगी लिएर हिँडेका छौं। किन यसरी हिँडेका होला ? भनेर कहिलेकाही हामीलाई नै आत्मग्लानी हुने गरेको छ। पुर्खाले किन यस्तो गराए होलान ? भन्ने लाग्छ। किनकी सारंगी बजाएर आएको पैसाले घर खर्च चलाउनै मुस्किल छ’, ठाकुर भन्छन्। कहिलेकाही हिँड्डुल गर्दा तुच्छ वचन पनि सुन्दा नैराश्यता आउने गरेको पनि उनले बताए। उनले गन्धर्वको पेसाको संरक्षण गर्नैपर्ने भएपनि पछिल्लो पुस्ताले छाड्दै जाँदा निकै दुःख लाग्ने गरेको बताए।

‘भोलि यो गन्धर्वको पेशा यस्तो थियो भन्ने भन्न नपरोस्। यसको संरक्षण होस्’, उनले भने। मुलुकमा तीन तहका सरकार भएपनि गन्धर्वको पेशा संरक्षण गर्ने कुनै कार्यक्रम नहुँदा उनी निराश छन्। ‘अहिले विभिन्न जातजातिको संस्कृति, संस्कार, पेसा जोगाउने कुरा सुनिरहेका हुन्छौं। तर पनि गन्धर्व जातिको पुख्र्यौली पेशाको संरक्षणमा कुनै पनि कार्यक्रम हामीले पाएका छैनौं’, ठाकुरले भने। उनले कहिलेकाही गन्धर्वलाई जम्मा गर्ने, भेला गर्ने र केही संस्थाले विदेशबाट पैसा ल्याएर खाने गरेपनि वास्तविक गन्धर्वको पेसाको संरक्षणका लागि कुनै गतिविधि नभएको गुनासो गरे। 

बढ्दो आधुनिक गीतसंगीत एवं प्रविधिको विकासका साथै गाउँ समाजले पनि हेयको दृष्टिकोणले हेर्ने भएका कारण पनि गन्धर्व पुख्र्यौली पेसामा आकर्षित हुन छाडेको उनको अनुभव छ। अहिलेका पुस्ताले गायन पेशाप्रति देखाएको उदासीनताले आफ्नो जातिको अस्तित्व नै हराउन सक्ने चिन्ता उनीमा छ। ‘समाज र जीवनका विविधतालाई शब्दमा टिपेर सारंगीमा लय भर्ने गन्धर्वहरूको कलागत पेसा जोगाउनु चुनौतीपूर्ण छ’, उनी भन्छन्।

गन्धर्वको युवापुस्तालाई पुख्र्यौली पेशाबाट आर्थिक रूपमा सक्षम बनाएमा मात्र संस्कृति र जातीय पहिचानलाई जोगाउन सकिने उनको भनाई छ। रणबहादुर र ठाकुर दुवैमा तत्काल जुनसुकै घटनालाई पनि गीतमा ढालेर सारंगी बजाउने क्षमता छ। सारंगी रेट्दै जुन गाउँ पुग्दा पनि उनीहरू सँगै हुन्छन्।

गन्धर्व जातिको पुख्र्यौली पेसाको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सरकारको भएका कारण हरेक गन्धर्व बस्तीका युवालाई पुख्र्यौली पेसा धानेर जीवन निर्वाहको व्यवस्था राज्यले गर्नुपर्ने उनीहरूको माग रहेको छ। ‘सारंगी बजाउने पेसा हाम्रो जातिको हो। तर यो राज्यको सम्पत्ति हो’, रणबहादुर भन्छन्, ‘त्यसैले सरकारले यसको संरक्षण गर्न कार्यक्रम बनाउनुपर्छ।’

प्रकाशित: ३ असार २०७६ ०८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App