बलिउड अभिनेत्री कंगना रनौतले ऐश्वर्या राय बच्चनलाई ट्रोल गर्नेहरूको कडा आलोचना गरेकी छिन्। हरेक वर्ष जस्तै यस वर्ष पनि ऐश्वर्या फ्रान्सको कान्स फिल्म फेस्टिभलको हिस्सा बनिन्, जहाँ उनका तस्बिरहरू भाइरल भए। केहीले उनको ग्लोबल स्टारडमको प्रशंसा गरिरहेका छन् भने केहीले उनको लुक्स र बढेको तौललाई लिएर ‘फ्याट आन्टी’ भन्दै ट्रोल गरिरहेका छन्।
यस विषयमा कंगनाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाताबाट ऐश्वर्याको तस्बिर सेयर गर्दै ती ट्रोलहरूलाई जवाफ दिएकी छिन्। कंगनाले लेखेकी छिन्, ‘फेसन र स्टाइल व्यक्तिको पहिचान र आफूलाई व्यक्त गर्ने तरिका हो। यो जीवन र मनोवृत्तिको आफ्नै व्याख्या हो। कसैलाई पनि खुसी पार्न वा प्रमाणित गर्न कुनै पनि महिला जिम्मेवार हुँदैनन्। ऐश निकै सुन्दर देखिएकी छिन्। जो उनलाई कुनै अन्य तरिकामा हेर्न चाहन्छन्, उनीहरूले पहिले आफैमा के विशेष छ भनेर देखाउन्।’
कंगनाले अगाडि थपेकी छिन्, ‘उनी यहाँ कसैलाई खुसी पार्न आएकी होइनन्, उनी शानदार छिन्। यदि तपाईं रेड कार्पेटमा उमेर पुगेका (वृद्ध) महिलाहरू हेर्न बानी पर्नुभएको छैन भने, अब यसको बानी पार्नुहोस्। धन्यवाद।’ यो प्रतिक्रियालाई धेरैले चासोका साथ हेरेका छन्, किनभने कंगनाले प्रायः ऐश्वर्याकी सासू जया बच्चनलाई निशाना बनाउँदै कहिले घमण्डी भन्ने त कहिले अमिताभ बच्चनकी पत्नी भएकै कारण मानिसहरूले सहने गरेको टिप्पणी गर्दै आएकी छिन्।
ऐश्वर्या यस वर्ष लोरियल पेरिसको तर्फबाट कान्स फिल्म फेस्टिभलको समापन समारोहअघि त्यहाँ पुगेकी थिइन्। आलिया भट्ट पहिले नै पुगेकाले ऐश्वर्यालाई रिप्लेस गरिएको चर्चा चले पनि उनले कान्स पुगेर ती दाबीलाई गलत साबित गरिन्। ऐश्वर्यासँगै उनकी छोरी आराध्या पनि कार्यक्रममा सहभागी भइन्।
डिजाइनर अमित अग्रवालका अनुसार ऐश्वर्याले लगाएको गाउनको नाम ‘लुमिनारा’ हो, जसलाई गतिमा प्रकाशको अवधारणामा आधारित भएर बनाइएको थियो। डिजाइनरले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘ऐश्वर्याले कान्सलाई सधैं व्यक्तिगतता र विकासको बलियो भावनाका साथ प्रस्तुत गरेकी छिन्। हामी कपडा जस्तो कम र उनको वरिपरि ऊर्जा क्षेत्र जस्तो महसुस हुने केही सिर्जना गर्न चाहन्थ्यौँ, जसले उनीभित्रको शक्ति र दशकौँदेखिको चमकलाई सम्मान गरोस्।’ पछि ऐश्वर्या गुलाबी ब्लश गाउन र सेतो प्यान्ट सूटमा पनि देखिएकी थिइन्।
कामको कुरा गर्दा ऐश्वर्यालाई अन्तिम पटक मणिरत्नमको फिल्म ‘पोन्नियिन सेल्वन २’ मा देखिएको थियो भने कंगना पछिल्लो पटक पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा फिल्म ‘इमर्जेन्सी’ मा देखा परेकी थिइन्।
प्रकाशित: ११ जेष्ठ २०८३ १२:४३ सोमबार





