१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

जनताले भने झैं भा'को छैन है ...(भिडियो)

काठमाडौं- जनआन्दोलनको समयमा हामी कलाकारमात्र होइन बुद्धिजिवी, किसान, मजदुर, किसान, डाक्टर, पाइलट, शिक्षकलगायत हरेक पेशा र क्षेत्रका मानिसहरु आन्दोलनको मैदानमा थियौँ। मलाई त्यतिवेलाका धेरै घटनाहरु अहिले पनि याद छन्। यद्यपि सबै घटनाहरु भनिरहन सायद समयले साथ दिदैन।

राष्ट्रिय लोकतन्त्र दोहोरी गीत प्रतिष्ठान नेपालको तर्फबाट तत्कालिन अध्यक्ष दुर्गा रायमाझी, म, सिर्जनादेवी थापा, भगवान भण्डारी लगायतका धेरै कलाकारहरुले नयाँ बानेश्वरमा एउटा सांस्कतिक कार्यक्रम राख्यौं। त्यहाँ गएर हामीले तत्कालीन राज्य व्यवस्थाका विरुद्ध गीत गाउँदै थियौ, गणतन्त्रका पक्षमा गाउँदै थियौं, त्यतिबेला प्रहरी आयो र हामीलाई समाएर लग्यो। त्यतिखेर सबैलाई रंगशालामा लगियो। विहान खाजा पानी समेत नखाइ लोकतन्त्रको लागि कालाकारहरु आन्दोलनको मैदानमा पुगेका थियौं। कलाकारलाई देखेपछि आन्दोलनको माहोल पनि चर्किन्थ्यो। हामीलाई प्रहरी समाउला भन्ने थिएन, हामीले त्यस्ता चर्का गीत पनि गाएका थिएनौ, चर्को नारा पनि हाम्रो थिएन जति अहिले सरकारको विरुद्ध गाउने या बोल्ने गरिन्छ। तर पनि हामीलाई पक्राउ गरियो र लगेर रंगशालामा दिनभरी भोकै राखियो। त्यहाँ शौचालय थिएन, दुर्गन्ध थियो, धेरै आन्दोलनकारीहरुलाई त्यहाँ थुनिएको थियो। पक्राउ परेपछि आन्दोलनमा लाग्न अझै प्रेरणा मिल्यो।  साच्चीकै यो आन्दोलन र क्रान्तीलाई सफल पार्नै पर्छ भन्ने भयो। त्यस पछि कालाकारहरु झन् आन्दोलनमा देखिन थाले। म पनि साथमा साथ हातमा हात मिलाउँदै हिँड्न थाले।

घोषणा त भएको छ तर, गणतन्त्र शब्दमा होइन व्यवाहारमा आउनुपर्छ। गणतन्त्र गरिब जनताको जीवनमा परिवर्तन ल्याउने गरि आउनुपर्छ। जनताले अनुभुति गर्ने गरी आउनु पर्छ।

जनआन्दोलनको समयमा १९ दिन नै म सडकमा थिएँ। धेरै जसो गोगंबुमा रहे, कलंकी, त्यस्तै कहिले काहीँ हिडेर कीर्तिपुर पनि पुगिन्थ्यो, कहिलेकाहीँ चावाहिल तिर पनि पुगिन्थ्यो। गोगंबुमा चाहीँ हामीले प्राय गाउने गरेको गीत ‘शान्ती ल्याउँछ जनताकै बोलीले, विचार मार्न सक्दैन गोलीले...’ भन्ने थियो। आन्दोलनकारीहरु यही गीतमा नाच्दै स्वरमा स्वर मिलाउँथे। गीत संगीतले माहोल नै फरक बनाउँथ्यो।

अझ एक चोटी त के भएको थियो भने चक्रपथ बाहिरको आन्दोलनकारी र चक्रपथ बाहिरका आन्दोलनकारी मिलेर प्रहरीको हाते साङलो तोडेर एकैठाउँमा जम्मा हुने कार्यक्रम थियो। तर, प्रहरीले एकदम बलियो हातेसाङलो बनाएर हामीलाई जान दिइरहेको थिएन। अनि मैले छैवैमा गएर ‘हे तलब बढ्छ लोकतन्त्र आएमा, गल्ती हुन्छ दमन मै लागेमा...’ भन्ने गीत गाएको थिएँ। गीतमै भुलेर होला वहाँहरुले हाते साङलो कस्न भुल्नु भएछ। त्यही मौकामा हामी वारपार पनि भयौं। एकजना प्रहरीले मसँग हात पनि मिलाउनु भयो त्यतीबेला,ती प्रहरीलाई कार्वाही भयो रे भन्ने हल्ला चलेको थियो पछि, अब के भयो त्यो म जान्दिन।

एउटा खुशीको कुरा चाहीँ के थियो भने कलाकारहरुलाई धेरै ठाउँमा सजिलो हुन्थ्यो। आन्दोलनमा पनि भीडन्त हुँदा प्रहरीले छानीछानी लाठीले हान्थ्यो, तर मलाई चाहीँ कहिले पनि त्यसरी हानेन। धकेल्ने ठेलमठेल भएपनि लाठी चाही हानेन।

त्रिशुलीको किनारमा बालुवा चाल्नेहरु... गीतको सन्दर्भ

यो गीत गणतन्त्र आइसके पछिको लेखिएको हो। गणतन्त्र आइसकेपछि पनि नेताहरुमा कुर्सीको मोह, सत्तामोह, मनमुटाउ उस्तै देखियो। राष्ट्रिय हित, राष्ट्रिय स्वार्थमा पनि नेतृत्वमा एक ढिक्का हुने लक्षण देखिएको थिएन। त्यसबेला म परिवार सहित रमेशबाबु श्रेष्ठको गाडीमा पोखराबाट काठमाडौं फर्कदै थियौं । आउँदै गर्दा त्रिशुलीको किनारमा गिटी कुट्दै गरेको, वालुवा चाल्दै गरेको मजदुरहरु देखे। पाँच मिनेटको अन्तरमा मलाई के लाग्यो भने गणतन्त्र त आयो तर हिजो जो चिल्ला कारमा हुँइकिन्थे, जो शहरका महलमा सुखसयलसँग बसेका थिए। उनीहरुलाई अझ सजिलो भयो, तर, हिजोका मजदुर, किसानहरुले अझै पसिना बगाइरहेकै छन्। यिनिहरुलाई त गणतन्त्र आएको छैन। मलाई लाग्यो गरिब, दलित, पीडितका लागि गणतन्त्र आएको छैन, मात्र घोषणा भएको छ। र मैले तत्काल गीत बनाएँ :

‘अझै नि लोकतनत्र आको छैन है...’

पछि यो गीतमा शब्दहरु थप्दैथप्दै गएँ। गिट्टी कुट्नेका कुराहरु, फलाम कुट्नेका कुराहरु, भारी बोक्नेका कुराहरु, त्यति मात्र होइन मैले त्यहाँ भुटानी शरणार्थीहरुको पनि कुरा उठाएको छु। तथापी, अझै पनि अवस्था भने उस्तै छ। काठमाडौं आउँदासम्म मैले त्यो गीत तयार गरेँ, भोलीपल्ट रेकर्ड गरेँ र केही दिनमा गीत बजारमा आयो। गीतले आम नागरिकको मन पनि छोयो।

सत्तामा बस्नेलाई राम्रो नलाग्न सक्ला यो पंगिनीले खाली गणतन्त्र आएको छैन की छैन मात्र भन्छ भनेर। यस्तो प्रश्नहरु पनि मलाई आइरहन्छन्। मञ्चमा मलाई आयो बद्री जी गणतन्त्र पनि पनि त्यही गीत मात्र गाउनुहुन्छ भनेर भन्नुहुन्छ तर म मान्नेवाला छैन। जबसम्म हिजोका धनीहरु अझ  धनी हुँदै जाने, गरिवहरु अझ गरिब हुँदैजाने, धनी र गरिब बीचको खाडल जबसम्म बढेर जान्छ, गरिब र किसान र मजदुरले अधिकार पाउँदैन, तिनका छोराछोरीलाई गाँसबास र कपासको व्यवस्था हुँदैन, शिक्षा स्वास्थ्यको ग्यारेन्टी हुँदैन, तबसम्म हामी गणतन्त्र आएको मान्नेवाला छैनौ। घोषणा त भएको छ तर, गणतन्त्र शब्दमा होइन व्यवाहारमा आउनुपर्छ। गणतन्त्र गरिब जनताको जीवनमा परिवर्तन ल्याउने गरि आउनुपर्छ। जनताले अनुभुति गर्ने गरी आउनु पर्छ।

जबसम्म जनताले अनुभुति गर्ने गरि, जनताले हो साँच्चै गणतन्त्र आयो भन्ने गरी, गरिव जनताको जीवनमा परिवर्तन आउँदैन, उनीहरु एकछाक खाने गरी एक सरो लाउनका लागि पसिना बगाएर सहज हुँदैन तबसम्म म यो गीत गाइरहन्छु।

(विष्णु लामिछाने र मुकुन्द घिमिरेसँगको कुराकानीमा आधारित)

प्रकाशित: १४ जेष्ठ २०७६ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App