काठमाडौं – युगकवि सिद्धिचरण प्रतिष्ठानले आधा शताब्दीदेखि नेपाली वाङ्मय क्षेत्रको आख्यान विधामा योगदान दिएका आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई ‘युगकवि सिद्धिचरण पुरस्कार २०७६’ प्रदान गर्ने भएको छ। प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा गत मंगलबार बसेको बैठकले डा. गौतमलाई एक लाख रूपैंयाँ राशीको पुरस्कार दिने निर्णय गरेको हो। डा. गौतमका दुई दर्जन बढी उपन्याससहित ५० भन्दा बढी कृतिहरू प्रकाशित छन्।
त्यसैगरी यसवर्षको ‘युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार–२०७६’ आधा शताब्दी अघिदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने पत्रकार होमनाथ दाहाल (ओखलढुंगा)लाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशी एकाउन्न हजार रहेको छ।
प्रतिष्ठानका अनुसार प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा प्रा.डा. उषा ठाकुर तथा सूब सेन सदस्य रहेको पुरस्कार छनोंट उपसमितिले पुरस्कृत हुने स्रष्टाको नाम सिफारिस गरेको हो। पुरस्कार युगकवि श्रेष्ठको १ सय ८औं जन्मजयन्तीको अवसरमा यही जेठ ९ गते प्रदान गरिने कुरा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले बताए।
प्रकाशित: २३ वैशाख २०७६ ०४:३२ सोमबार