२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

‘फिल्म नचल्दा इज्जत घट्छ’

तस्बिर सौजन्यः योगप्रसाद बिमली

काठमाडौं – हाँस्य अभिनेता हरिवंश आचार्य सानै छँदा उनका बुबाआमा बिते। उनी दुई दिदीको पालनपोषणमा हुर्किए। बाबुबाजेको सम्पत्ति एक व्यक्तिले हडपेपछि हरिवंश परिवार घरबारविहिन हुन पुग्यो।

घरबारविहिन भएपछि उनी दिदीहरूसँग बाबुबाजेले जोडिदिएको काभ्रेपलान्चोकको संखुमा पुगे। त्यहाँ उब्जेको अन्नबाली उठाएर ल्याए पनि त्यो अन्नबालीले पुग्दैन थियो। हरिवंशका अनुसार त्यो बेला जीवन धान्न काम गर्नुपर्ने बाध्यता नै थियो। ‘मेरो दिदीले स्कुलमा काम गरेर एकसय ७५ रुपैंयाँ तलब ल्याउनुहुन्थ्यो। मैले पनि वानेश्वरमा रत्नराज्य स्कुलमा काम गरेर महिनाको एक सय ३५ रुपैंयाँ तलब खान्थें।

३५ रुपैंयाँ आफुले पकेट खर्च राखेर बाँकी रकम दिदीलाई नै दिन्थें’, आफ्नो व्यानर मह सञ्चारले निर्माण गरेको फिल्म ‘दाल भात तरकारी’मो उपत्यकाबाहिरको प्रोमोसन यात्रा सकेर काठमाडौं आइपुगेका हरिवंश हालैको भेटमा भन्दैथिए, ‘पछि म राष्ट्रिय नाँचघरमा कन्ट्रयाक्ट कलाकारको रूपमा काम गर्न थालें। त्यहाँ तलब १ सय ७५ रुपैंयाँ थियो। जहाँ मेरो किरण केसीसँग पहिलो पटक भेट भएको थियो। हामीलाई जितेन्द्र महत ‘अभिलाषी’ र हरिप्रसाद रिमालले नाटक सिकाउनुहुन्थ्यो।’

आफु १४, १५ वर्षको उमेरमा काठमाडौंको टोल टोलमा गएर नाँच देखाउने गीत देखाउने गरेको स्मरण गर्छन्। उसबेला काठमाडौंमा केही स्थानमा मात्र मम खाने चलन भए पनि ब्राम्हण परिवारको भएकाले हरिवंश जयनेपाल हल छेउमा पुगेर लुकीलुकी मम खान्थे। ‘त्यो बेला अहिलेको जस्तो सहज यातायात थिएन। जहाँ जाँदा पनि हिँडेर गइन्थ्यो। जति खाए पनि पच्थ्यो। पहिला म चाहिँ धेरै दुब्लो थिएँ’, हरिवंशले पुराना दिन सम्झिए, ‘मलाई असाध्यै मोटाउने रहर हुन्थ्यो। सबैले ‘दुब्ले’ र ‘च्याखे बाहुन’ भनेर जिस्काउँथे। मोटाउनकै लागि चाहिने भन्दा अलिक बढी खान्थें। त्यही कारण त्यो बेलामा लागेको भुँडी अहिलेसम्म लागेको लागेकै छ।’

वर्तमान समाजमा देखिएको विषयलाई पारिवारिक ढंगबाट बनाएको फिल्म हो। फिल्ममा केही हसाउने दृश्य छ। तर पूर्ण रूपमा कमेडी जनरा चाहिँ छैन।

फिल्म ‘दाल भात तरकारी’मा कथा, पटकथा र संवाद हरिवंशकै छ। ‘फिल्मले देशमै श्रम गरेर दालभात तरकारी खाउँ भन्ने सन्देश दिन्छ’, हरिवंश खुले, ‘नेपालीको प्रमुख खाना भनेको दाल भात तरकारी हो। धेरै नेपालीले बिहान बेलुकै दाल भात तरकारी नै खान्छन्। फिल्मले देशमा रोजगारी पाएर मानिस सम्पन्न भए पनि विदेशिने मोह घटेको छैन भन्ने कथामा पनि फिल्ममा छ। ’

यसअघि फिल्म ‘शत्रु गते’मा देखिएका हरिवंश फिल्म ‘दाल भात तरकारी’लाई कमेडी फिल्म बन्न रुचाउँदैनन्। ‘दाल भात तरकारी कमेडी फिल्म होइन। यो पारिवारिक फिल्म हो’, उनी भन्छन्, ‘यो वर्तमान समाजमा देखिएको विषयलाई पारिवारिक ढंगबाट बनाएको फिल्म हो। फिल्ममा केही हसाउने दृश्य छ। तर पूर्ण रूपमा कमेडी जनरा चाहिँ छैन।’
हरिवंश व्यावसायिक फिल्ममा काम गर्दैमा ‘मह’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको इज्जत नजाने दाबी गर्छन्।

‘भारतमा पनि त अमिताभ बच्चन, दिलिप कुमार जस्ता हामी भन्दा ठुलो स्टाटस भएका कलाकारले व्यावसायिक फिल्म खेल्नुहुन्छ। उहाँहरूको इज्जत अहिलेसम्म गएको छैन’, हरिवंश भन्छन्, ‘हामीले प्रयोगवादी फिल्म मात्र नभई व्यावसायिक फिल्म पनि गर्नुपर्छ सोच बनाएका हौं। किनभने हामीलाई हेर्न आउने दर्शकहरू फिल्म हेर्ने मानसिकतामा आउनुुहुन्छ। व्यावसायिक फिल्म खेल्यो भन्दैमा मह जोडीले कम इज्जतको काम ग¥यो भन्ने म चाहिँ सोच्दिन। बरु फिल्म नचल्दा इज्जत घट्छ।’

भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘दाल भात तरकारी’मा निरुता सिंह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, आँचल शर्मा, पुष्पल खड्का, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुसाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय छ। सुदन केसीको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा किरण केसी प्रस्तुतकर्ता, नरेन्द्र कंसाकर, शिवहरि पौडेल, यमन श्रेष्ठ र रमिला आचार्य निर्माता छन्।

प्रकाशित: १९ वैशाख २०७६ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App