१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

समयको फेर

बधाईको ओइरो ।

तर मेरो मन ढुकढुक भइरहेको छ । यति तीव्रसँग कि मैले आफूलाई ऐना अगाडि उभिएर हेर्न समेत सकिरहेकी छैन । जसै नियालेँ आफूलाई, एक्कासि आत्मबल कमजोर भएको आभास भइरहेको छ । मनमा धेरै कुराहरु खेलिरहेका छन् । के मेरो रुप देख्दा मानिस मेरोअगाडि उभिन सक्लान् ? राम्रो दृष्टिले त हेर्छन् ? कि मलाई कठै भन्छन् ? 

म हिजोआज कतिसम्म विद्रोही भएकी छु भने कठै भन्ने शब्द नै किन बन्यो भन्ने लाग्न थालेको छ । कहिलेकाहीँ त यो शब्दलाई शब्दकोशबाट नै हटाइदिऊँ झैँ लाग्छ । 

यस्ता कयौँ भावनाहरु तीव्रतम् गतिमा आइरहेका छन् र पनि आफूलाई कमजोर अनुभव गरिरहेकी छु । 

आज मैले सम्मान पाउँदैछु र पृष्ठभूमिमा आवाज सुनिरहेकी छु– एउटी नारीले पाएको यो सबैभन्दा ठूलो सम्मान हो । 

देशकै ठूलाे सम्मानकाे कार्यक्रममा मेराे उपिस्थती, म आफूलाई नै सपनाझैं लागिरहेकाे कार्यक्रम, मेराे सम्मानमा बजेका तालीका गडगडाहट ! म  आफैंलाई म आफू  हुँ कि हाेइन भन्ने लागिरहेकाे थियाे।

यी शब्द कानमा ठोक्किँदै जाँदा मेरो स्मृतिपटलमा एकै साथ निजी समस्या, अप्ठेरा, भोकप्यास, साथको खोजीजस्ता कुरा आइरहेका छन् । लड्दै, सम्हालिँदै अनि उठ्दै कयौँ अवस्था पार गरेका कुरा स्मृतिमा आइरहेका छन् । अनि कयौँ दिनको भोक र प्यासलाई जीवनको नियति ठानेर काटेकी छु । 

संसारमा मानिस सबै कुरासँग लड्न सक्छ तर आफ्नै परिवारसँग लड्न सक्तैन । झन् आफूले सबैभन्दा बढी माया र सम्मान गर्ने व्यक्तिबाट पाएको हेपाई र उपेक्षाको त कुरै भएन ! यसले त हृदय नै छियाछिया पार्ने रहेछ अनि जीवनप्रति नै मोह भंग गराइदिँदोरहेछ । 

जीवन त आखिर सङ्घर्ष नै रहेछ । मैले हार मानिनँ, आफैँसँग सम्झौता गरिन् । मैले जीवन रोजेँ । जब मानिसले जीवन रोज्छ र सङ्घर्षलाई अँगालो हाल्छ, अघि बढ्न आधाउधि साहस त्यसैले दिँदोरहेछ । 

यस्तै कुरा मनमा खेलिरहेका बेला मेरा अघिल्तिर एउटी स्वयंसेविका मुस्कुराउँदै उभिई । म अलमलमा परेँ । उसले मुस्कुराहट रत्तिभर कम नगर्दै भनी, ‘म्याम, केही क्षण हजूर यहाँ बस्दा हुन्छ । जब हजूरको पालो आउँछ, हामीले स्कर्टिङ गर्नेछौँ । जस्ट रिल्याक्स फर अ ह्वाइल, बि कम्फर्टेबल !’

भिडभाडयुक्त कोठा भए पनि वातानुकूलित थियो, शितल तर तीव्रतर सोचाई र अन्य कारणले मलाई प्यास लागिरहेको थियो । सायद यो कुरा स्वयंसेविकाले बुझिन् । केही क्षणमै पानी भरिएको एउटा सेतो सिसाको ग्लास अघिल्तिर आइपुग्यो । झट्ट टिपेँ र धन्यवाद नभनी घटघटी पिएँ । बल्ल सास फर्किएजस्तो महसुस भयो । उनीतिर हेर्दै भनेँ, ‘थ्याङ्क्यु ।’ 

देशकै ठूलो सम्मानको कार्यक्रममा मेरो उपस्थिति, म आफूलाई नै सपनाझैँ लागिरहेको कार्यक्रम, मेरो सम्मानमा बजेका तालीका गडगडाहट ! म आफैँलाई म आफू हुँ कि होइन भन्ने लागिरहेको थियो । 

०००

‘जिन्दगीमा असल बन्नुपर्छ, सबथोक पाइन्छ,’ आमाले भन्नुहुन्थ्यो । गरिबको झुपडीमा सबै सँगै खाने बेलामा एउटा न एउटा प्रेरक कुरा आमाबाट भाइ, बहिनी र मैले पाइरहेका हुन्थ्यौँ । बाबा प्रायः सरकारी जागिरको क्रममा विभिन्न ठाउँमा गइरहनुहुन्थ्यो र फर्कंदा हाम्रालागि दशैँ आएको हुन्थ्यो ।

बाबाको सानो जागिर, आउने सानो पैसा, पैसाको जतनसाथ प्रयोग ! मेरी आमाका कयौँ राम्रा गुणहरु अहिले म झल्झली सम्झन्छु । आमाले सोध्नुहुन्थ्यो, ‘आज स्कुलमा तिमीहरुले के राम्रो काम ग-यौ ?’ 

हामी अलमलमा पथ्र्यौं । के राम्रो काम गर्नु ? कसरी गर्नु ? ‘राम्रो काम के हो थाहा छ ?’ आमाले सोध्नुहुन्थ्यो । हामीले टाउको हल्लाउँथ्यौँ । उहाँले थप्नुहुन्थ्यो, ‘जब राम्रो काम गर्ने मौका आउँछ नि, त्यो मौका हातबाट नगुमाउनु । हामीले कसैलाई पैसाले सहयोग गर्न सक्तैनौँ होला तर पैसाबाहेक जेजस्ता कुराले सहयोग गर्न सक्छौँ, त्यसमा चुक्नु हुँदैन ।’

अनि, हामी तीन जना दिदी, बहिनी र भाइमा ‘राम्रो काम’ गर्ने होडबाजी चल्थ्यो । हराएका कुरा खोजिदिने, बूढाबूढीलाई बाटो देखाइदिने, परसम्म बाटो काटिदिने । दिनभरि भोगेका तीतामीठा कुरा सुनाउने र गल्ती भए सच्याउने कुरा आमाले सिकाउनु हुन्थ्यो ।

आमा भन्नुहुन्थ्यो, ‘असल मान्छे बन, राम्रो काम गर, समयको महत्व बुझ, यसलाई खेर नफाल । ठूला सपना देख, त्यसका लागि ठूलै मिहिनेत गर । सपना साकार पार्न कहिल्यै पछि नहट ।’

त्यो बेला ती शब्दका कुरा हामीलाई थाहा थिएन । बारम्बार उहाँले यी सबै कुरा सुनाउँदा हाम्रो अवचेतन मस्तिष्कमा जमेर कुन बेला बस्यो हामीलाई नै थाहा थिएन । त्यसैले पनि कसैको बिझाइँ गर्न हामीलाई आएन ।

मान्छेहरु हामीलाई उदाहरण दिन्थे, छोराछोरी त फलानाका जस्ता हुनुपर्छ भन्थे । पढाइको अब्बलता र सधैँ छात्रवृत्तिको पढाइका कारण कतिपय साथीहरु ईष्र्या गर्थे । हामीजस्तो पढ्न नसकेकामा होइन, पढ्नका लागि पनि होइन । हाम्रा कारणले जब उनीहरुले घरमा गाली खान्थे, उनीहरु हामीप्रति अनुदार हुन्थे ।

हामी तीन जनाको उमेरमा त्यत्ति धेरै फरक थिएन । त्यसैले लगभग उही स्कुल र उही कलेजको एकदुई कक्षा मात्र फरक हुन्थ्यो । स्कुल पढ्दा नै मैले ट्युसन पढाउन थालिसकेकी थिएँ । मैले आफू र भाइबहिनीका लागि चाहिने सामग्रीका लागि आमासँग पैसाको गनगन गर्नु पर्दैनथ्यो । बाबा पनि मेरो इलममा खुसी हुनुहुन्थ्यो ।

एक दिन शनिबार, हाम्रो घरअगाडि एउटा कार रोकियो । घरमा केही मानिसहरु आए र तीमध्ये मेरो साथी कमलाको दाइलाई मात्र चिनेँ, अरुलाई चिन्न सकिनँ ।

ती पाहुनालाई मैले पानी, चियाको बन्दोबस्त गरेँ । घरिघरि बाबाको कुरा मात्र मैले सुनिरहेकी थिएँ । उहाँको अस्पष्ट आवाज आइरहेको थियो, ‘...यशोधरालाई नसोधी म केही जवाफ दिन सक्तिनँ । छोराछोरीको इच्छा नै हाम्रो इच्छा हो । उनीहरुको भविष्यबारे सोच्ने अधिकार उनीहरुलाई नै छ ।’

बुबाले किन मेरो नाम लिनु भएको ? अनि अकस्मात याद आयो, घरकी त म ठूली छोरी । बिहेको कुरा आएको होला ! यसपछि अचानक मलाई लज्जाबोध भयो । गएर ऐना हेरेँ । पहिलो पटक मलाई आफू सबैभन्दा सुन्दर स्त्री लाग्यो ।

यसपछि क्रमशः केही कुराहरु स्मृतिमा आए... रविनले मलाई निलुँलाझैँ किन हेथ्र्यो ! बखतेले किन सिठ्ठी फुक्थ्यो !

साँझ खाना खाने बेला सबै भेला भयौँ तर हरकोही मौन थियो । खानापछि बाबाले मलाई छेउमा बोलाउनुभयो र धाप हान्दै गह्रुँगो स्वरमा भन्नुभयो, ‘आजसम्म हामी पाँच जना जीवनभर सँगै हुन्छौँ भन्ने थियो तर अचानक बिहेको प्रस्ताव आएपछि म झल्याँस्स भएँ । छोरीको बिहेको उमेर पनि भइसकेछ । राम्रै घरबाट प्रस्ताव आएको छ । तिमी के भन्छ्यौ ?’

मेरो बक फुटेन ।

बाबाले थप्नुभयो, ‘केटो राम्रै परिवारको रहेछ । पढेलेखेको । तिम्रो साथीको दाइले चिनेको । दाइजोमा छोरी मात्र भए पुग्छ भनेका छन् । अहिलेको जमानामा यस्तो भन्ने मान्छे कहाँ पाउनु ?’

म रातोपीरो अनुहार लगाएर निहुरिइरहेँ ।

ब्याचलरको पढाइ सकिन लागेको थियो । मास्टर्स त बिहेपछि पनि पढ्न सकिइहालिन्छ नि ! बाबाले आँट दिनुभयो । मलाई पनि लाग्यो– यशोधरा, तेरो सपनाको राजकुमार पनि त यस्तै त थियो !

०००

मलाई अशोकका धेरै कुरा मन पर्थे । जब उसले मलाई ‘यशो’ भनेर हस्की स्वरमा बोलाउँथ्यो, म हुरुक्क हुन्थेँ । मलाई घरिघरि लाग्थ्यो, मलाई ऊसित प्रेम भयो कि स्वरसित खुट्याउन सक्तिनँ । दिनहरु राम्रैसँग बितिरहेका थिए । अशोक र उसको परिवारले धेरै माया गर्ने हुनाले मैले कुनै अभाव महसुस गरेकी थिइनँ । मलाई घरिघरि डर लाग्थ्यो, मेरो सुखको स्वर्ग यस्तै हो भने कतै भ्रममा त छैन ! यत्तिको स्नेह, माया र प्रेम त मैले माइतीमा पनि पाएकी थिएँ तर एउटी स्त्री पूर्ण हुनका लागि घर पनि जोडिनु पर्दोरहेछ !

एक दिन अशोक ढिला गरी घर आइपुग्यो । अबेर भएकाले मलाई भान्सामा सघाउने दिदीलाई उठाउन मन लागेन । फेरि अशोकसँग भान्से रोमान्सका दुई चार पलको रौनक पनि त अर्कै हुन्छ !

रुमानी कल्पनामा जसै मैले ग्याँस बालेँ, ग्याँसको आगोसँगै सबै कुरा सल्केला भन्ने मैले कहिले पो सोचेकी थिएँ र ! ह्वारह्वारी मेरो गाउन बल्न थाल्यो । आत्तिदै अशोकछेउ पुग्दा ऊ पनि होशमा थिएन । केही क्षणपछि उसले ब्लाङ्केटले अँगालो हाल्यो ।

मेरो होश आउँदा म आइसीयुको बेडमा नेटले छोपिएको अवस्थामा थिएँ । सबै कुरा सुन्छु तर बोल्न सक्तिनँ । दिमाग चल्छ तर हातखुट्टा चल्दैन । मेरो गुप्ताङ्ग र छातीबाहेक जिउ केही पनि सद्दे छैन । परिवारलाई हेर्न अझै दिएको रहनेछ भन्ने मैले डाक्टरको हाउभाउबाट बुझेँ । 

मनमा धेरै प्रश्न, छटपटी, उकुसमुकुस थिए । मेरो जीवनले यो कुन मोड र रुप लियो, कल्पना नै गर्न सकिरहेकी थिइनँ । मेरो मुटुको धड्कन इसिजीबाट हेरिरहेका छन् । मेरो आँखाको भाका कसैले बुझेका छैनन् । मेरो आँखाबाट आँशु निरन्तर बगिरहेको छ । अशोकलाई धेरै कुरा सुनाउनु थियो । उसले कत्रो खतरा मोलेर ह्वारह्वार्री बलेको आगोको बाबजुद मलाई अँगालो हालेको थियो । उसलाई कृतज्ञता दिनु थियो । एकचोटि उसको अनुहार हेर्न मन थियो र उसको दुःखलाई कम गरुँ लागेको थियो । उफ्, ऊ कति दुःखी होला ! कति छटपटिएको होला ! 

मेरो आँखा खुल्दा नौ महिना बितिसकेको रहेछ भन्ने थाहा पाउँदा म छक्क परेकी थिएँ । नौ महिनापछि आँखा खोलेको देख्दा ‘मिराकल’ भएको रट लगाउँदै थिए, डाक्टर र नर्सहरु । नयाँ मासु पलाउँदैछ रे मेरो ! धन्न गुप्ताङ्ग र छाति बर्न हुनबाट जोगियो नत्र त ठाउँको ठाउँ मेरो मृत्यु हुन सक्थ्यो रे !

‘मिराकल’ त भयो तर अधुरो !

मैले अशोकलाई हेर्न पाइनँ । मैले उसलाई धन्यवाद दिन पाइनँ । सायद उसले मेरो माया मारिसकेर नआएको हो कि !

ऊ छेउमा भए मलाई यसरी ‘रेप्टाइल’ भएर सुत्नु पनि गाह्रो हुने थिएन तर ऊबिना यसरी सुत्नुभन्दा त... ! धत् के के मात्र यो मनले कल्पदैन !

एक दिन मलाई सफा सुग्घर गरेर पातलो ओढ्ने ओढ्याएर राखियो । मेरो अनुहार मात्र खुला थियो । पर मैले अशोककै आकृतिजस्तो देखेँ । हो, ऊ मलाई भेट्न आयो तर दस सेकेन्ड पनि ऊ मेरो अगाडि उभिन सकेन । ऊसँग केहीबेर बस्ने मेरो इच्छा अधुरै रह्यो । 

एक महिना बित्यो, दुई महिना बित्यो, तीन महिना बित्यो तर ऊ आएन । ऊ त आएन नै, उसको परिवार पनि देखापरेन । मेरो स्वर्ग अचानक ध्वस्त भएको देखेर कयौँ दिन धाराप्रवाह रुपमा आँशु झरिरहे ।

अन्तिममा म निष्कर्षमा पुगेँ, उसले मसँग होइन मेरो रुपसँग बिहे गरेको रहेछ । उसले मेरो गुण र असलपना होइन, आवरणलाई रुचाउँदोरहेछ । मेरा सारा शिक्षा पनि उसका लागि महत्वहीन रहेछ ।

धन्न, उसले एउटा काम भने गरिरह्यो, मेरो उपचारका लागि उसले कुनै कमी राखेन । उपचार जारी रह्यो । 

यत्तिकैमा एक दिन एउटा चिठ्ठी आयो । अशोकको रहेछ । सिस्टरले खुसी हुँदै चिठ्ठी दिएकी थिइन् । मैले सकी नसकी मेरो जीवनको पहिलो प्रेमपत्र पल्टाउने प्रयास गरेँ । कम्तीमा अशोक भेट्न नआए पनि आखिर उसले पत्र त पठायो ! मनमा यस्तै कुरा खेलिरह्यो ।

उसले लेखेको थियो, ‘केही दिनमा पारपाचुकेको डकुमेन्ट आउँदैछ, कृपया कुनै नाटक नगरी हस्ताक्षर गरिदेऊ । तिम्रो व्यवस्थापनका लागि म कुनै कमी राख्ने छैन ।’

स्पष्ट थियो, ऊ मेरो कुरुप अनुहार हेरेर जीवन कटाउन सक्तैन । यो मानवीय स्वभाव नै हो । यसमा पनि मेरो कुनै गुनासो रहेन ।

केही दिनमा म अस्पतालबाट निस्केँ तर कहाँ जाउँ ? म माइत पनि जान चाहन्न थिएँ । मलाई थाहा थियो, माइतले म जे छु, त्यही रुपमा स्वीकार्छ तर कहिलेसम्म ? सबैको आ–आफ्नो समस्या हुन्छन् । म किन समस्या बढाउन जाऊँ ?

अशोकको व्यवहारले मलाई केही गरेर देखाउने जाँगर दिएको थियो । त्यो जाँगरलाई मैले सदुपयोग गर्ने निधो गरेँ । मसँग केही गहना थिए । त्यही गहनाको केही पैसाले एउटा कोठा भाडामा लिएँ । आमाले घरमा विभिन्न सरसामग्री बुन्नु भएको मैले देखेकी थिएँ । म पनि तिनै सामग्री बुन्ने कामलाई बृहत् बनाउन चाहन्थेँ । यसका लागि एउटा गार्मेन्ट कम्पनीमा लुगा सिलाउन थालेँ । त्यसपछि बचेको समयमा तालिम पनि लिएँ । मेरा डिजाइनहरु राम्रा मानिन थालियो । विदेशमा माग बढ्न थाल्यो ।

एक दिन कम्पनी सञ्चालिका रमिला दिदी आउनुभयो र भन्नुभयो, ‘यशोधरा, आज तिम्रा कारणले यो कम्पनीको राम्रो नाम छ । म थोरै दिनको मात्र पाहुना हुँ । मेरो शेषपछि तिमीले यत्तिकै मिहिनेतपछि चलाउनु ।’

नभन्दै ती दिदीको निधनपछि मैले थाहा पाएँ, कम्पनी कुनै ट्रस्टमा दर्ता रहेछ । सबै थोकको जिम्मेवारी र हेरचाह मैले गर्नुपर्ने भएन । मेरो भागमा अब अरु कसैको सपनालाई पुनः साकार पार्नु थियो । मेरो जीवनको अघिल्तिर अर्को ठूलो उद्देश्य थियो । त्यहाँ मजस्तै अन्य दुखियाहरु थिए । तिनीहरुको ममाथिको विश्वास थियो । म अब पछाडि हट्ने ठाउँ थिएन ।

समयक्रमले मलाई एउटा समाजसेवी र उद्यमशील महिलाको परिचय गह्रुँगो गरी बोकाइदियो ।

०००

आजको यो सम्मानको क्षण, यो गौरवपूर्ण अवस्था तिनै निराशापूर्ण क्षणमा लिइएको अठोटको परिणाम थियो । स्टेजबाट मेरो नाम लिइँदैथियो । म स्टेजमा चढ्ने तर्खरमा उठेँ ।

मैले सम्मान पाएपछि दुई शब्द बोल्नुपर्ने भयो । मेरो लागि दुई शब्द बडो कठिन भइरहेको थियो, उच्चारण गर्न । अशोकको धोकालाई म धन्यवाद भनूँ कि रमिला दिदीको विश्वासलाई धन्यवाद दिऊँ, म दोधारमा परेँ । यो पक्का हो, जीवनको सबैभन्दा अँध्यारो दिनले नै मानिसलाई उज्यालोको बाटो देखाउँछ । 

मैले अनुहार छोपेको सारीको सप्को हटाएँ । मैले सिधा दर्शकदीर्घामा हेरेँ । सबैको अनुहारको भाव अमिलो थियो । उनीहरुले मेरो साहसको कदर त गरिरहेका थिए तर अनुहारमा दिगमिग पनि अनुभव गरिरहेकी थिएँ । 

मैले माइकलाई फुकेँ र भनेँ, ‘धेरैलाई लाग्दो हो, मेरो सफलताको पछाडि केको हात छ ? मेरो कुरुप अनुहार । हरेक दिन जब म ऐनामा उभिन्थेँ, मैले आफू जे छु, जस्तो छु, त्यसैलाई स्वीकार्न र आफूप्रति इमान्दार हुन बल पाउँथेँ । त्यो नैतिक बलले मलाई आज देशकै सर्वोच्च सम्मानसम्म पु-याएको छ ।’

मैले जसै धन्यवाद भनेर मञ्च छाडेँ, सबैले उठेर गटट् ताली बजाएको आवाज गुञ्जायमान भइरह्यो । जति ठूलो गडगडाहट, उति मोटा मेरा आँशु आँखाबाट गुँडुल्किरह्यो । मनले सोचिरह्यो, मेरो पहिलो प्रेम अशोक यतै कतै छ कि छैन, हँ ?

प्रकाशित: २३ चैत्र २०७५ ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App