किराँत जनजीवनको ताजा बास्ना समेटेर कविता लेख्ने कवि विमला तुम्खेवाको विशिष्टता नै जातीय पहिचान हो । उनी पहिचानलाई जीवन भोगाईमा अर्थ्याउँछिन्। शुक्रबार उनको नयाँ कविता संग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे' विमोचन भएको छ । त्यहीँ कविता संग्रहबाट साभार उनका तीन कविताः
१. जलजला पहाड
जति भाग्न चाहन्छु ....
त्यति नै स्मृतिहरुले घुमाउँदै घुमाउँदै ल्याई पुर्याउँछ
मलाई तिम्रो सम्झनासम्म
यसो हुनु कति नमिठोगरि दुख्नु हो
तिमी कल्पना गर्न सक्छौं ।
बादल भन्दा छिटो छिटो हिड्दै
चरानमा बाख्राका बथानहरु धपाउदै हामीले साटेका आात्मीयता
म भित्र अझै पनि ढुकढुक गरिरहेछ
यो ,
पापी राज्य सत्ताको बिरुद्व यहींबाट युद्व सुरु गरिएको हो
आज पनि रंगिरहेको छ यो पहाड वीर सहिदहरुको रगतले
क्रान्तिको रातो रगतले बेहुलीझै सिङ्गारिएको छ
तिम्रो मायामा मैले यो विशाल चट्टानमा मीठो गीत लेखेको छु ।
साँच्चै ,
हामी त्यसदिन कति खुशी थियौं ?
आकासमा गज्रेको चट्टानले हामी कति नजिक थियौं
शीर शीर चलेको सिरेटोले टाडासम्म स्पर्श छोडेको थियो
युद्धको त्यो कठिन घडीमा पनि हामीमा कत्रो जोश थियो ।
त्यस दिन युद्वको मोर्चामा
कसम खाएर गएको तिमी फेरि कहिल्यै फर्किएर आएनौं
तर,
जही त्यही छौं निराकार
सधै मलाई किन यस्तो लाग्छ
एक्लै बसेर उदास आवाज निकाल्ने वनचरीहरु
सायाद तिम्रो सम्झनामा रुदैछन्
तिमीलाई सम्झदै रोपेको यो हलुवाको बोट फल्न सुरु भैसकेको छ ।
खुशीको कुरा
यहाँका मानिसहरुले युद्ध बिर्सीसकेका छन्
उनिहरुको अनुहारमा मुस्कान देखिन थालेको छ
आँगनभरि केटाकेटीले नाच्दै ऊफ्रिएको दुश्य कति सुन्दर छ
पहिला जस्तै फेरि यी मानिसहरुको अनुहारमा खुशी देखिनु धेरै ठूलो कुरा हो ।
तर,
तिमी छैनौ आज मसँग
जीवनभर तिमी नहुनुको पीडा लिएर बाच्नु छ
यो दुख कि मलाई थाहा छ
की थाहा छ त्यो जलजला पहाडलाई ।
तिमीले टेकेको पाईलाको डोब बर्खे झरीले बगाएर कहाँ पुर्याईसकेछ
कहिलेकाही लाग्छ त्यसैगरि जानू नि तिम्रो सम्झना मेरो हृदयबाट
तर,
उदास उदास एक्लै यो पहाडमा चरानमा बाख्राहरु चराउदै बाचीरहेछु
तिमीसगको मीठो स्मृतिहरुमा हराउँदै ।
२. बुकी फुल
कुनै कुनै कुराको तुकबन्दी थाहा पाउन
कपाल फुल्नुपर्दो रहेछ
छोरी स्कुल जान नमाने पछि
मैले सम्झीए आफ्नो स्कुलका दिनहरु
बिष्ट सरले बोलेको पर्वते शब्दहरु मैले किन बुझीन
खासमा म
आफ्नै भाषा , शभ्यता धर्म , र सस्कृति भएको
जनजाती मान्छे रहेछु
माथी लेकमा फुलीरहेको बुकी फुल जस्तै ।
३. म, भूतपूर्व ब्रिटिस गोर्खा सिपाही खड्गबहादुर लिम्बू
युद्धपछि खाली हात फर्काइएको
म भूतपूर्व ब्रिटिस गोर्खा सिपाही खड्गबहादुर लिम्बू
आर्मी नम्बर- २११५०३१७ ।
एलिजावेथ,
तिम्रो समृद्धिमा मैले हात गुमाए
मैले मेरो खुट्टा गुमाएँ
र,
तिम्रो निम्ति बनाएँ दरबार ।
बोर्नियोको युद्धमा
यो छातीको दाहिनेपट्टि लागेको गोलीको चोट अझै छ
त्यो भन्दा चर्को छ मेरो कष्टपुर्ण जिन्दगी ।
लडेँ म तिम्रो देशको निम्ति
भएँ आफ्नो देशमा शरणार्थी
योद्धा
राइफलमेन
भिसी
विजेता
भएँ म तिम्रो दरबारमा सजिन लायक बहादुर सिपाही ।
मेरै रगतले पोतिएर बन्यो
तिम्रो दरबारमा अब्स्ट्रयाक्ट आर्ट
मेरै खुन, पसिना र बलिदानले उभिएको छ
तिम्रो बकिङ्घम प्यालेस ।
फर्किएँ खाली हात
प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा पाएका
यी बहादुरीका तक्माहरू
खिया परेको देख्दा खिन्न हुन्छु
मलेसियाको जंगलमा
महिनौं भोकभोकै युद्ध गर्दा पनि यति खिन्न थिइनँ ।
युद्धले खाइसकेको जीर्ण शरीर छ आफ्नो भन्नु
जो घरीघरी बल्झिइबस्छ
मलेसियाको जंगलमा
महिनौं भोकभोकै युद्ध गर्दा पनि यति आक्रोश थिएन
आफ्नै नियति देखेर हैरान छु ।
एलिजावेथ,
यति त म पनि बुझ्ने भएको छु
तिमीले दरबारबाट मुस्कुराउँदै
तिम्रा प्रजालाई हल्लाएका हातहरू
तिमीलाई पटक्कै सुहाएन ।
साँच्चै,
एउटा कुरा सोधौँ-
मैले जस्तै तिमीले पनि
डरलाग्दो सपना देख्छौ कि देख्दैनौ ?
ऐंठन हुन्छ के तिमीलाई पनि मलाई जस्तै ?
प्रकाशित: ९ चैत्र २०७५ ०८:१३ शनिबार