१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

राजेशको सम्मानमा गीत र नृत्य

काठमाडौं – अभिनेता राजेश हमालको सम्मानमा राजधानीमा गीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ। साधना कला केन्द्रले हमालको सम्मानमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ नामक कार्यक्रम गरी हमालको योगदानको कदर गर्न लागेको हो। 

केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी होस् भनेर जमर्को गरेको बताए। ‘कलाकारको सम्मानमा विदेशमा ट्रिब्युट गर्ने चलन छ। तर यहाँ यस्तो चलन छैन। त्यसैले पनि यसको थालनी गर्ने निर्णय लिएका हौं’, उनले भने, ‘राजेश हमालको कलाकारिताको कुरा नै गर्नैपर्दैन्। किनकी उहाँको अभिनयको क्षमताबारे सबै जानकार नै छन्। उहाँले यस क्षेत्रको लागि खर्चेको समय साच्चै तारिफयोग्य छ। उहाँलाई ट्रिब्युट गर्न पाउनु ठुलो अवसर हो।’

अभिनेता हमालले आफ्नो सम्मानबाट कार्यक्रम सुरु गर्न लागेको थाहा पाउँदा आफु छक्क परेको खुलाए। ‘एउटा राम्रो कार्यको थालनी मबाट हुन्छ भने किन नगर्ने भनेर सहमत भएको हु। यसले एउटा परम्पराको थालनी गरेको छ’, हमालले भने, ‘यसपछिका दिनमा पनि यसैगरि सर्जकलाई सम्मान गर्न सक्नुहोस्। फिल्मी यात्राले दिलाउने सम्मान र दर्शकको माया नै हाम्रो उर्जा हो।’

संगीतकार शम्भुजित बासकोटाले राजेश ‘ट्रिब्युट’को हकदार भएको जनाए। ‘किनकी उसले आफ्नो जीवनको सुरुवाती पलदेखि नै फिल्मनगरीमा आफुलाई समर्पित गरेको छ। ‘युगदेखि युग’सम्म मार्फत सुरु भएको यात्रामा उसले आफुलाई निरन्तर कर्मक्षेत्रमै ब्यस्त बनाएको छ’, उनले भने, ‘राजेश एक यस्ता कलाकार हुन्। जसको नामनै पहिचान हो। समय मिलाएर मैले राजेशको लागि गरेको संगीत र गीतलाई ट्रिब्युटमा प्रस्तुत गर्नेछु।’ आगामी वर्षको जेठ महिनामा हुने कार्यक्रमको लागि गते तोकिएको छैन।  

 

प्रकाशित: ५ चैत्र २०७५ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App