१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

१७ वर्षपछि ‘खसिया आखर’ शब्दकोष प्रकाशित

जुम्लाको चन्दननाथ नगरपालिका–१ आचार्यवाडाका ७९ वर्षीय रमानन्द आचार्यद्वारा लिखित ‘खसिया आखर’ नामक खस शब्दकोश प्रकाशित भएको छ। झण्डै १७ वर्षको अध्ययन, अनुसन्धान र लेखनपछि प्रकाशित खस शब्दकोषको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले लोकार्पण गरेका छन्।

कहिले दाताको खोजीमा त कहिले खस शब्दको खोजीमा रोकिएको आचार्यको यो कृति सामाजिक विकास मन्त्रालयले प्रकाशन गरिदिएको हो। जिल्ला समन्वय समितिको परिसरमा उनले खसिया आखर नामको बोर्ड झुण्ड्याएर रातदिन शब्द लेखनमा लागेका थिए। आचार्यले भने, ‘नेपाली भाषाको जननी जुम्लाको खस भाषा हो। बल्ल मेरो सपना पूरा भएको छ।’ उनको लेखनले खस शब्दकोष सँगै १७ वर्षको मेहनतको फल पनि निस्किएको छ। १३ सय पृष्ठको किताबमा ४० हजार शब्द अटाएको उक्त शब्दकोषमा खस भाषाका उपज शब्दहरु मात्रै राखिएका छन्। 

उक्त शब्दकोषमा आधुनिक शब्दहरू छैनन्। शब्दकोष प्रकाशन गर्ने दाता खोज्न उनलाई लामो समय लागेको थियो। ‘संकलित पाण्डुलिपी दराजमै थन्काएर अस्ताउँछु कि भन्ने लागेको थियो,’ उनले भने, ‘जे होस मर्नुअघि नै प्रकाशन गर्ने धोको पूरा भयो। खस भाषा र सभ्यता जीवित राख्ने प्रयास पूरा भएको छ। अब भावी पुस्ताले यसलाई दस्तावेजका रूपमा अध्ययन अनुसन्धान गर्नेछन्। उनले धेरै निकाय, संघ संस्था, व्यक्ति सबैसँग शब्दकोष निर्माणको लागि पहल गरेका थिए। आर्थिक लाभ नदेखेपछि सबै पन्छिए तर शब्दकोषको अभिभावक कर्णाली प्रदेश बनेसँगै उक्त पुस्तक प्रकाशनमा आएको छ।

सामाजिक विकास मन्त्रालयले एक हजार प्रति शब्दकोष प्रकाशन गर्न पुग्ने रकम दिएको थियो। खस शब्दकोष लोकार्पण गर्दै सामाजिक विकासमन्त्री भण्डारीले खस भाषाको जगेर्ना र पुस्तान्तरणमा यसले ठूलो योगदान दिने बताएका छन्। ‘खस भाषा र संस्कृतिको संरक्षणको लागि सरकार प्रतिबद्ध छ,’ मन्त्री भण्डारीले भने, ‘केही स्थानीय तहमा खस भाषाको पाठ्यक्रम निर्माण गरि पठनपाठन भइरहेको छ। जसमा यो शब्दकोषले सुनमा सुगन्ध थप्नेछ।’

भाषाशास्त्री तथा विद्वान प्राध्यापक डा. माधवप्रसाद शास्त्रीले शब्दकोष प्रकाशनले कर्णालीको भूगोल र शीर उच्च राख्ने बताए। ‘कर्णालीको छाती चौडा भएको छ। भूगोलको एक चुचुरो थपिएको छ,’ उनले थपे, ‘शब्दकोष लेख्ने कार्य सजिलो थिएन। यो जटिल कार्य गर्ने साहस गर्नुभएकोमा लेखक आचार्यप्रति खुसी छौं।’

‘खसिया आखर’ शब्दकोषले कर्णालीको खस भाषा बुझ्न र अध्ययन गर्न सहज बनेको छ । २०६५ साल बैशाख ११ गते बसेको जिल्ला परिषद्ले खस भाषाको संरक्षणको लागि शब्दकोष प्रकाशन गर्ने निर्णय गरेको थियो। आचार्यलाई शब्द संकलन र सम्पादनको जिम्मा दिइएको थियो। उनी कर्णालीका हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लाका ग्रामिण बस्ती सम्म पुगेर अध्ययन अनुसन्धान गरी शब्दकोष निमार्ण गरेका हुन्।  

तत्कालीन जिल्ला विकास समितिले पहिलो वर्ष २ लाख रुपैयाँ छुट्याएर शब्दकोष लेखनको सुरुवात गरेको थियो। खस भाषा बोलिने क्षेत्रहरूमा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोष नै निर्माण गरिएको आचार्यको भनाइ छ।    

शब्दकोषलाई चार उपभाषिकामा विभाजन गरिएको छ। पहिलो ८० दराली भाषिकामा ८० दरा, पाँच सय दरा र सिञ्जा दराका शब्दहरू राखिएको छ। दोस्रो त्रिविकोटी भाषिकामा चौधबीस दरा र डोल्पामा बोलिने शब्दहरू, तेस्रो रासकोटी भाषिकामा कालीकोटमा बोलिने शब्द र चौथो मुहु भाषिकामा मुगु र हुम्लामा बोलिने शब्द समावेश गरिएको छ। शब्द संकलन तथा लेखनका लागि पाँच सदस्यीय समिति नै गठन गरिएको थियो। तर पछि न समिति सक्रिय भयो, न त आर्थिक सहयोग नै जुट्यो उनी एक्लैले शब्दहरू संकलन तथा लेखनको काम गरेका थिए।

‘यो शब्दकोषले १८४६ पूर्वको खस राज्यको पहिचान लोप हुन नदिने र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जीवन्त राख्ने अपेक्षा गरिएको छ। अहिले गाउँबस्तीमा विदेशी भाषाको हालीमुहाली छ। युवा पुस्तालाई खसभाषाको अध्ययन अनुसन्धानको लागि यो शब्दकोष कोसेढुंगा साबित हुन्छ,’ आचार्यले भने ।  

प्रकाशित: ३ कार्तिक २०८२ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App