१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘सयकडा दशले सन्तानलाई सदाचार बनाउन सिकाउँछ’

काठमाडौं, माघ १३ (नागरिक)– रंगमञ्चमा हास्यव्यंग्यमार्फत सामाजिक चेतना फैलाउन सक्रिय कलाकार मनोज गजुरेलले पञ्चायतकालिन समयमा ‘भ्रष्टाचार’ शब्द राम्रै सुने। उनले उसबेला जनपक्षीयले पञ्चहरूलाई र पञ्चहरूले जनपक्षीयलाई ‘भ्रष्टाचार’को आरोप लगाउँदै आक्रमण गरेको पनि थाहा पाए। पञ्चायत, प्रजातन्त्र, राजा शासन, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा मनोजका कानमा ‘भ्रष्टाचार’ शब्द सधैं गुन्जिरहे।

‘भ्रष्टाचार’ शब्द सुनेदेखि नै सदाचार अभियानमा लाग्दै आएका मनोज आफ्ना हरेक कार्यक्रममा सदाचार हुन चेतना फैलाइरहन्छन्। हास्यव्यंग्यमार्फत भ्रष्टाचार विरोधी सदाचार अभियान चलाउन सकिन्छ भनेर नै सिस्नुपानी नेपालमार्फत कार्यक्रम गरिरहेका छन्। यिनै मनोज अब दर्शकमाझ आगामी शुक्रबारबाट फिल्म ‘सयकडा दश’मार्फत सदाचारको आवाज उठाउन आउँदैछन्। ‘रियल जीवनमा सधैं भ्रष्टाचारविरोधी सामाजिक अभियन्ताको रूपमा काम गरिरहें। फिल्ममार्फत पनि दर्शकलाई भ्रष्टाचारविरुद्धको चेतना फैलाउन चाहन्थें’, गजुरेलले भने, ‘मेरो चाहनालाई अहिले सयकडा दशले पुरा गरिदिएको छ। जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै फिल्ममा पनि म भ्रष्टाचार विरोधी एक सदाचार अभियन्ताको भुमिकामा छु।’ मनोजको यो ‘डेब्यु’ फिल्म हो।

फिल्म हेरेपछि भ्रष्टाचार गतिविधिमा संलग्न व्यक्तिहरू रिसाउने वा खुसाउने भन्दा पनि उनीहरूलाई कथाले छोओस् भन्ने चाहना हो।

रंगमञ्चीय अभिनयको करियरबाट उठेका मनोजलाई यो फिल्मअघि अन्य धेरै फिल्मबाट पनि अभिनयको अफर नआएको होइन्। ‘मलाई धेरै अफर आएका थिए। तर मेरो इच्छा शक्ति थिएन। किनकी म मोटिभेसनल कमेडियन हुँ। जस्तो सुकै चरित्रमा आफुलाई फिट गराउन सक्दिनँ। यो अवस्थामा मेरै कारणले कुनै व्यावसायिक फिल्म डुब्यो भने त्यसको असर मलाई पनि पर्छ’, मनोज खुले, ‘दुवै खतरा मोल्न नचाहेपछि मैले निर्माता निर्देशकहरूलाई ‘धन्यवाद’ भन्दै बिदा गरें। तर सयकडा दश मेरा लागि उपयुक्त थियो। किनकी म जुन काममा सक्रिय भएर लागेको थिएँ। त्यही भुमिका फिल्ममा पाएँ।’

मनोज अभिनित फिल्मको लेखक तथा निर्देशक रामशरण पाठक हुन्। रामशरणसँग मनोजको चिनजान पुरानै हो। बागमती सफाई अभियान होस् या आध्यात्मिक गतिविधिमा रामशरण र मनोजको सहकार्य पुरानै छ। ‘मैले उहाँले निर्देशन गरेको पछिल्लो फिल्म ‘प्रेमगीत २’ हेरेको थिएँ। फिल्मले बर्मा र नेपालबीचको सम्बन्धलाई प्रस्तुत गरेको थियो। फिल्मबाट म प्रभावित थिएँ’, मनोजले स्मरण गरे, ‘उहाँले मेरो भुमिकासहित सयकडा दशको प्रस्ताव लिएर आउनुभयो। मेरो भुमिका पनि हास्यव्यंग्यमार्फत भ्रष्टाचार विरोध गर्ने रहेछ। मलाई अभिनयमा त कुनै समस्या थिएन। तर फिल्मको प्राविधिक पक्षबारे जानकार नहुँदा अलिक गाह्राे पर्दोरहेछ।’

मनोजको बुझाईमा घुस खानुमात्र भ्रष्टाचार होइन्। भ्रष्ट बानी व्यहोरा अर्थात् आचारण भएका मानिस भ्रष्टाचारी हुन्। यही कुरालाई नजिकबाट नियालिरहेका मनोज सिस्नुपानी नेपालमार्फत भ्रष्टाचारविहिन सदाचार मुलुकको अभियानमा सक्रिय छन्। फिल्म ‘सयकडा दश’ हेर्ने दर्शकले के सन्देश पाउलान् त ? उनलाई भेट्दा जोकोहीले सोध्ने प्रश्न पनि यही हो। ‘फिल्मले आफ्ना सन्तानलाई सदाचार बनाउन सिकाउँछ। त्यो कसरी सिक्ने भन्ने सन्देश फिल्मबाट पाइनेछ’, उनले भने, ‘यो फिल्म हेरेपछि भ्रष्टाचार गतिविधिमा संलग्न व्यक्तिहरू रिसाउने वा खुसाउने भन्दा पनि उनीहरूलाई कथाले छोओस् भन्ने चाहना हो। किनकी हामीले व्यक्तिमा होइन्। प्रवृत्तिमा व्यंग्य गरेका छौं।’
रज्जु प्रधान र उत्तम खत्रीको लगानी रहेको फिल्ममा अमृत ढुंगाना, करुणा श्रेष्ठ, रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौलाको अभिनय छ। दर्शन नेपाल क्रिएसनको व्यानरमा निर्मित फिल्ममा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य र कल्याण सिंहको संगीत छ।

प्रकाशित: १४ माघ २०७५ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App