२५ श्रावण २०७७ आइतबार
कला

‘हेरिटेज एण्ड अनेष्ट पिपूल’मा रुपकका चित्र

काठमाडौं - ओखलढुंगाका रुपक राई भिजुअल आर्टमा रुची राख्छन्। तर उनको कलाज्ञान त्यहाँमात्र सिमित छैन्। एक्रोलिक रङ हुन् वा पानी रङको तरंग सबैमा आफ्नो कुची चलाउन खप्पिस छन्। आफ्नो कला अध्ययनबाट कला प्रदर्शनको एकल यात्राको पहिलो पाइलामै उनले कला पारखीलाई आफुभित्रको विविधतायुक्त कलात्मकताको अवलोकन गराएका छन्। संयुक्त कला प्रदर्शनीमा उनका एकाध कला हेरेका पारखीले उनको कलात्मक विविधताको फरक स्वाद चाखेका छन्।

शुक्रबारदेखि पाटनस्थित क्लासिक ग्यालरीमा सुरु भएको ‘हेरिटेज एण्ड अनेष्ट पिपूल’ शीर्षकको कला प्रदर्शनीमा उनको कलात्मक विविधता झल्किएका छन्। राईजिङ स्कुल, पायोनियर स्कुल, साउथ प्वाइन्ट स्कुल, हाम्रो सनसाइन स्कुलका विद्यार्थीहरूलाई कला सिकाइरहेका उनी आफूलाई अझै पनि कलाकै सिकारू मान्छन्। कला प्रदर्शनीको उद्घाटनमा उनले आफ्नो कला जीवनकै पहिलो कला प्रदर्शनीले अझ निखारिने उर्जा मिलेको बताए।

उनले कला पारखीबाट उर्जा लिदैँ गर्दा उनका कलाले भने दर्शकलाई फरक उर्जा दिइरहेको थियो। एक्रोलिक रङमा उनको सबैभन्दा ठूलो चित्रमा जोकोहीका आँखा टक्क अडिन्छन्। शैलुङ घुमेर दोलखामा फर्कदै गर्दा बाटोमा भेटिएका पञ्चे बाजा बजाउने एक दौतरीको चित्रले नेपाली कला संस्कृतिसँगै स्थानीय परिवेश बोलेको छ। कलाकार राईले फोटो हो कि चित्र हो छुट्याउनै नसकिने चित्रको कलात्मकतासँगै आफूले उनीहरूसँग भेट्दाको अनुभव चित्रमै साटेका छन्। दौतरीले बोकेको पञ्चेबाजा नेपाली मौलिक संस्कारको परिचायक चित्र बनेको छ।

एक्रोलिक रङमा सजिएको उनको सबैभन्दा ठूलो चित्रमा जोकोहीका आँखा टक्क अडिन्छन्। शैलुङ घुमेर दोलखामा फर्कदै गर्दा बाटोमा भेटिएका पञ्चे बाजा बजाउने एक दौतरीको चित्रले नेपाली कला संस्कृतिसँगै स्थानीय परिवेश बोलेको छ।

त्यस्तै मानवीय जीवनको दैनिकी बोल्ने अर्को एक्रोलिक चित्र कैंची अस्पताल हो। जसमा एकजना व्यक्ति साइकल मेसिनबाट कैंचीमा धार लाउदै गरेका देखिन्छन्। त्यस्तै तानबुन्दै गरेकी महिला र फुटबलर मेसीको चित्रको फरकपनले समाजमा फरक रूचीको कदर चित्रकारले गरेका छन्। सारंगी बजाइरहेको चित्र कला प्रदर्शनीको विशेष आकर्षण नै बनेको छ।

पानी रङको उत्कृष्ट नमूनाका रुपमा उनले बौद्ध गुम्बालाई चित्रण गरेका छन्। आकाश र धर्तीको सबै रङ अटाएको बौद्ध गुम्बाको चित्रले हेर्नेलाई त्यही पु-याएको भान दिन्छ। मानवताको बोलीमा उनले अचेल समाजमा मानवीयता बिक्री हुँदै गएको अनुभुती चित्रमै संगालेका छन्।

फरक धारका रुपमा उनले नेपाली सांस्कृतिक धरोहरको अवस्था केही चित्रमा उजागर गरेका छन्। बुद्धको मूर्तिमा पानी पिइरहेका र रमाइरहेका परेवाको चित्र हुन् वा बुद्धको पुज्य वस्तु माने अथवा पुरातात्विक महत्वका पुराना मूर्तिकलाको बिम्ब नै किन नहोस् उनले हुबहु चित्रमा उतारेका छन्। रेखाचित्र बनाउने अनि गमहरू लगाएर उचो पार्ने उनले विधी बताए। सुक्न र आकार दिन समय अलिक बढी लाग्ने उनको भनाई छ।

अझ इचिङ कलाको उत्कृष्ट नमूनाका रूपमा उनले पस्केको राजधानीका सांस्कृतिक महत्व बोकेको मन्दिर, मूर्तिहरू र गुम्बासँगै नेपाली कलालाई यहाँसम्म पु-याउने एक यात्री लैनसिंह वाङ्देलको चित्र आकर्षक लाग्छन्।‘मेरो रूची पेन्टिङ नै हो । तर यसमा सीमा हुन्छन्’, उनी भन्छन्, ‘त्यसबाट देखाउन नसकेको कुरा इचिङमा गर्दा एउटैबाट धेरै कला निकाल्न सकिन्छ।’ पेन्टिङको आधार बलियो छ। टुटेफुटेका सम्पदा संरक्षणमा लाग्न उनको वुड ब्लक प्रिन्टले प्रेरित गर्छन्। उल्टो खोपेर बनाउँदा सुल्टो आउँने यो प्रिन्टका कारण कहिलेकाँही उनी आफै अन्यौलमा पर्छन्।  उनले महाभुकम्पपछि अलपत्र परेका त्यस्ता चित्रको संरक्षण र सम्वद्र्धनमा ध्यानाकर्षण चित्रमार्फत नै गराएका छन्।

उनको कला प्रदर्शनीको उद्घाटन एक्टिभ वुमन अफ नेपालका अध्यक्ष बाबा सरकार श्रेष्ठ र फेसन डिजाइनर आस्तिक शेरचनले गरे। शेरचनले कपडालाई अनेक भाव दिएर बनाउने डिजाइनभन्दा रुपकको कला फरक लागेको सुनाए। फरक विधाको अनुभुत कला प्रदर्शनीमा आएर गरेको श्रेष्ठको भनाई थियो।

ग्यालरीका सञ्चालक सरिता डंगोलले वर्षमा एकपटक नवकलाकारलाई यसरी नै अवसर सिर्जना गरिने खुलाइन्। ‘नयाँ हुँदाको पीडा र भोगाई हामी सबैले भोगेरै आएका हौं’, उनले सुनाइन्, ‘कम्तिमा अबको पुस्ताले त्यो भोग्नु नपरोस् भनेर यसरी अवसर दिने गर्छौ।’ विभिन्न संयुक्त कला प्रदर्शनीमा रुपकको कला हेरेपछि एकवर्षको अवधिमा उनले गरेका कला सिर्जनालाई पहिलो एकल कला प्रदर्शनीको रूपमा पारखीमाझ ल्याएको उनले बताइन्। अरुबेला हुने कला प्रदर्शनीमा प्रतिशत आधारमा र भाडा लिएर गर्ने गर्छिन्। कला प्रदर्शनीको पहिलो दिन नै चारवटा उनका चित्र बिक्रि भएपछि हौसिएका छन्। एकमहिना चल्ने कला प्रदर्शनीमा २२ वटा चित्रहरू रहेका छन्।

प्रकाशित: १२ पुस २०७५ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App