६ वैशाख २०८१ बिहीबार
कला

ललितकला र संगीत नाट्य प्रतिष्ठानको नियुक्ति अन्यौलमा

काठमाडौं - भाषा साहित्य वाङ्मयको विकासका लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठानले पूर्णता पाएको छ। कला, संस्कृति र नेपाली भाषा साहित्यका लागि गठन भएका तीन प्रज्ञा प्रतिष्ठानमध्ये नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद र प्राज्ञहरूको नियुक्ति भएसँगै यसले पूर्णता पाएको हो। 

संस्कृति मन्त्री रविन्द्र अधिकारीको संयोजकत्वमा प्राडा मोहन लोहनी र कैलाशनाथ प्याकुरेल सदस्य रहेको समितिले दिएको सिफारिस अनुसार पद बहाली भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

मन्त्री अधिकारीका निजी सचिव दीपक थापाले प्रज्ञा प्रतिष्ठानले पूर्णता पाएको जानकारी दिँदै नवनियुक्त प्राज्ञहरूले सोमबार नै सपथ लिएको बताए। कुलपति गंगाप्रसाद उप्रेती र सदस्य–सचिव जगतप्रसाद उपाध्याय यसअघि नै प्रधानमन्त्रीको ठाडो आदेशमा नियुक्त भएका हुन् भने बाँकीको टुंगो प्रधानमन्त्री र मन्त्री संयोजकत्वको समितिको सल्लाहमा भएको हो।

नयाँ नियुक्तिमा पर्नेमा उपकुलपति डा.जगमान गुरुङ र प्राज्ञ परिषद सदस्यहरू प्रा.दिनेशराज पन्त, प्राडा योगेन्द्रप्रसाद यादव, डा.हेमनाथ पौडेल, प्राडा उषा ठाकुर, साहित्यकार माया ठकुरी, प्राडा गोपिन्द्र पौडेल र साहित्यकार लक्ष्मी माली छन्।


ललितकला र नेपाल प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा निर्णय भयो भन्नेसम्म सुनेको हो। हिजो नेपाल प्रज्ञा प्रतिष्ठानमा आठ–दसजनाले सपथ खाए भन्ने पनि सुनें। तर प्रशासनमा हुने चिठीपत्रका विषयमा जानकारी आएको छैन।

त्यस्तै २४ सदस्यीय प्राज्ञ सभामा शशी लुमुम्बू, हरिप्रसाद तिमिल्सिना, राम विनय, प्राडा खेम कोइराला ‘बन्धु’, आरडी प्रभास चटौत, डा. गीता त्रिपाठी, विवश पोखरेल, ध्रुव मधिकर्मी, रमा शर्मा, रामबाबु सुवेदी, डा. रजनी ढकाल, लक्ष्मी उप्रेती, डा. विणा सिन्हा, महेश्वर राय, हरिशचन्द्र लावती, गोविन्द आचार्य, सुभद्रा भट्टराई, डा. हरिदत्त पाण्डे, डा. विजयकुमार दत्त, सूर्य खड्का विखर्ची, प्राडा कपिल लामिछाने, प्राडा गोपालप्रसाद पोखरेल, प्रा. केशव सुवेदी र नन्दुप्रसाद उप्रेती छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो हस्तक्षेपमा प्राज्ञको नियुक्ति भएकाले पनि संस्कृति मन्त्रालयमा समेत यसको आधिकारिक जानकारी ढिला मात्रै पुग्ने गरेकाले नियुक्तिका बारेमा मन्त्रालयका सह–सचिव तथा कर्मचारीहरू अनविज्ञ छन्। 

मन्त्रालयका सह–प्रवक्ता प्रकाश शर्मा ढकालले नियुक्तिका बारेमा आधिकारिक पत्र नआएको बताए।  ‘ललितकला र नेपाल प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा निर्णय भयो भन्नेसम्म सुनेको हो’, उनले नागरिकसँग भने, ‘हिजो नेपाल प्रज्ञा प्रतिष्ठानमा आठ–दसजनाले सपथ खाए भन्ने पनि सुनें। तर प्रशासनमा हुने चिठीपत्रका विषयमा जानकारी आएको छैन।’ उनका अनुसार प्रतिष्ठानको संरक्षक प्रधानमन्त्री हुने भए पनि प्रधानमन्त्रीको ठाडो आदेशमा नियुक्त भएकाले त्यसको कागजपत्र मन्त्रालयमा आएको छैन। 

‘यसअघि संस्कृति मन्त्रालयमा जो नियुक्ति हुने गर्दथ्यो। उसको नियुक्तिपत्रको दर्ता चलानी लगायतका कागजपत्र बन्ने गथ्र्यो। तर यसपटक ति सबै काम प्रधानमन्त्री कार्यालय आफैंले गरेको छ’,उनले भने, ‘दर्ता चलानीसम्मको काम त आएन आएन। तर आउनुपर्ने बोधार्थ चिठी पनि आएको छैन।’

दुई प्रतिष्ठानको नियुक्ति अन्यौलमा
प्रज्ञा प्रतिष्ठानबाहेक दुई प्रतिष्ठानको नियुक्ति भने अझै अन्यौलमै रहेको छ। मन्त्रीका निजी सचिव थापाले नेपाल प्रज्ञाको बारेमा मात्र फाइल आएको भन्दै अन्यको कुनै फाइल नआइपुगेको खुलाए। ललितकलाको नियुक्तिको सूची फाइनल भइसकेपनि बाहिर सार्वजनिक भने नगरिएको मन्त्रालय स्रोत बताउँछ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको भने नियुक्तिको सूची भने तयार भइनसकेको मन्त्रालयले जनाएको छ।

कला समिक्षक मुकेश मल्ल नियुक्ति भएको र नियुक्ति हुन बाँकी प्रज्ञा प्रतिष्ठानको नियुक्तिको मोडल नै नमिलेको दाबी गर्छन्। उनका अनुसार सबै प्रतिष्ठान एकै ठाउँमा हुँदा पहिले कुलपति छानिन्थ्यो र कुलपतिसँग बसेर बाँकी उसको सल्लाहमा छानिन्थ्यो। त्यसपछि २४ जना प्राज्ञ छानेर त्यसैबाट सबै पदका लागि छान्ने मोडल आयो। 

२०२२ सालमा गठन भएको ललितकला प्रज्ञा प्रतिष्ठान २०३४ सालमा तत्कालिन राजकीय प्रज्ञा प्रतिष्ठानमा  गाभिएको थियो। त्यो समयमा कलाकारलाई कोटा चाहिने भएपछि कलाकार लैनसिंह वाङ्देल, अमर चित्रकारलगायत प्रतिष्ठानमा परेका थिए। २०५४ सालको मोडेलमा पाँचजना सभासद् कलाबाट छान्ने र दुईजना परिषदमा राख्ने भनेर नयाँ मोडेल आयो। लोकतान्त्रिक सरकार आएपछि छनौट समिति गठन गर्ने र उसकै सिफारिसमा छान्ने मोडल आयो। त्यसमा राजनीतिक प्रभाव परेपनि कम्तिमा समितिको केही हैसियत थियो।

ललितकलातर्फ त्यस्तो समितिमा दुईजना कलाकार हुनुपर्ने, कार्यकारी पदमा दुई महिला राख्नुपर्ने, जनजाति, महिला, मधेसी र दलित सबै मिलाएर गठन गर्नुपर्ने मोडल आयो। अन्यलाई त्यति ध्यान नदिएपनि महिलाको उपस्थिती केही परेको मल्ल बताउँछन्। तर यसपालाको मोडल अन्यौलको मोडेल बनेको सुनाए। ‘नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति छानियो। सचिव छानियो। बीचमा चुप लागेर बसियो,’ उनले भने, ‘समिति छ छैन औपचारिक रुपमा कतै देखिएन। जथाभावी मोडलमा नियुक्ति गयो।’

मल्लले ललितकला र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नियुक्ति प्रक्रिया धेरै नै ढिला भइसकेको बताए। कलाकारहरू पनि दबाब दिनुको साटो ‘आफ्नो नाम परे भैगो नि’ भन्नेतिर लागेकाले मत विभाजन भएको मल्लको दाबी छ।

नियुक्तिको ढिलाईले कलाकर्मीहरूमा निराशा छाउन थालेको छ। यसपटक योग्य र विवादरहित प्रतिष्ठान बनोस् भन्ने अपेक्षा राखेका बहुसंख्यक कलाकार नियुक्ति कसरी होला भन्ने अन्यौल व्यक्त गर्छन्। विगतको दुई कार्यकाल विवाद र मुद्धैमुद्धाको बीच बित्दा कलाजगतमा हुनुपर्ने सकारात्मक पहल हुन नसकेको गुनासो उनीहरूको छ।

 

प्रकाशित: ५ पुस २०७५ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App