१५ कार्तिक २०७७ शनिबार
कला

लैंगिक हिंसाविरुद्ध गीतमार्फत न्यायको माग

लैंगिक हिंसाविरुद्धको विषयमा आयोजित लोकगीत प्रतियोगितामा सहभागी समूह गीत प्रस्तुत गर्दै। तस्विरः सविता/नागरिक

चितवन - लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत तनहुँको देवघाट गाउँपालिकामा गीतमार्फत न्यायको माग गरिएको छ। देशमा भइहेको लैंगिक हिंसा न्यूनिकरण गर्न दोषीलाई दण्ड दिएर पीडितलाई न्याय दिन गीतमार्फत माग गरिएको हो। लैंगिक हिंसाविरुद्धको विषयमा आइतबार आयोजित लोकगीत प्रतियोगिताका सहभागीले महिलामाथि भइरहेको हिंसा, दुव्र्यवहार र विभेदलाई गीतमार्फत प्रस्तुत गरे।
चेलिबेटी सरर बेचिन्छ खुलेआम
आफ्ना छोरी सरर बेचेर लिन्छ दाम
चेली बेच्ने सरर दलाल फरर
आँशु झारी सरर रुन्छिन् है धरर
गर्नु गर्छन् सरर पुरुषले भाषण
उही पुरुषले सरर गर्छन् यौन शोषण
बलात्कारी सरर छन् किल्ला–किल्लामा
बलात्कार भो सरर यो सबै जिल्लामा
कञ्चनपुरमा सरर बालिका बलात्कार
खोजी गर्न सरर ढिला भो ए सरकार ...

देवघाट गाउँपालिको सहयोगमा गाउँपालिकाको महिला सञ्जालले आयोजना गरेको प्रतियोगितामा सिन्चाङ आमा समूह दुईघरेले माथिको गीत प्रस्तुत गरे। समूहले आफ्ना गीतमार्फत बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारबाही गर्न ढिला भएको प्रस्तुत गरेका थिए।
अब होस् हिंसाको अन्त्य
समाज होस् शान्त र सभ्य
अधिकार मिलोस् है नारीलाई
सबैमा प्रेमको भाव होस्
कसैमा भेदभाव नहोस्
समान स्त्री पुरुष दुबैलाई
अर्काकी छोरीमाथि मरिमेट्नेहरू
आफ्ना छोरी हुँदाखेरी घाँटी रेट्नेहरू
घरका देवी रुवाएर कुन देवता पुज्छौं
किन यस्तो अत्याचार नारीमाथि गर्छौ

प्रतियोगितामा देवघाटको महेश आश्रमका विद्यार्थीसमेत सहभागी भएर यो गीत प्रस्तुत गरेका थिए। विद्यार्थी समूहले गीतमार्फत महिला र पुरुषलाई समान भएको सन्देश दिँदै एक अर्कालाई सम्मान गर्नुपर्नेमा जोड दिए। प्रतियोगितामा विद्यार्थीको समूहसहित १० समूहको सहभागिता थियो। प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका संस्थापक अध्यक्ष अमरविरही गुरुङ, लोक तथा दोहोरी गायिका चन्द्रा गुरुङ र संगीतकार मधुसुदन घिमिरे निर्णायक थिए।  
कति पीडित बोक्सीको केसमा
दाईजो प्रथा हटेन देशमा
जनताको चाहना
लैंगिक हिंसाविरुद्ध लड्ने हो गरौ है कामना

बोक्सी, दाइजोजस्ता कुप्रथा र कुसंस्कारका बारेमा पनि प्रतियोगितामा सहभागी भएका समूहले आवाज उठाएका थिए। जनज्योति आमा समूहले प्रस्तुत गरको गीतमा छोरी जन्मिदा गर्भदेखि नै विभेद गर्ने प्रचलनको विरोध गरिएको थियो।

कार्यक्रममा प्रतिनिधि सभाकी सांसद शान्ता चौधरीले महिला पुरुषको समान अधिकार अहिले पनि नारामा मात्र सिमित रहेको बताईन्। ‘वर्तमान समयमा पनि महिलाका जीवनमा परिवर्तन आउन सकिरहेको छैन,’ उनले भनिन्, ‘अधिकारका निम्ती लड्दै गर्दा आफैं माथि पनि हिंसा हुने गरेपनि हिंसाविरुद्ध आवाज उठाउनुपर्छ। महिलामाथि हुने हिंसा अन्त्य गर्न संसदबाट संकल्प प्रस्ताव पारित गरिएको छ। त्यसकारण हिंसाविरुद्धको लडाइँ निरन्तर अगाडि बढाउनुपर्छ।’

प्रतियोगितामा सन्चाङ आमा समूह दुईघरे प्रथम, जनज्योति आमा समूह दोस्रो र गणेश आमा समूह तेस्रो हुँदा शान्ति आमा समुहले सान्त्वना तथा महेश सन्यास आश्रमका विद्यार्थीले प्रोत्साहन पुरस्कार पाए। प्रथम हुने समूहलाई दश हजार, द्धितिय हुन समूहलाई आठ हजार र तृतीय हुने समूहलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै सान्तवना हुनेले तीन हजार र प्रोत्साहन पुरस्कार पाउनेले दुई हजार रुपैयाँ पाए। देवघाट गाउँपालिका महिला सञ्जालकी अध्यक्ष सावित्री न्यौपानेले हिंसा न्यूनिकरणको सन्देश दिनका लागि लैंगिक हिंसाविरुद्धको विषयमा लोकगीत प्रतियोगिता आयोजना गरिएको बताइन्।

वर्तमान समयमा पनि महिलाका जीवनमा परिवर्तन आउन सकिरहेको छैन। अधिकारका निम्ती लड्दै गर्दा आफैं माथि पनि हिंसा हुने गरेपनि हिंसाविरुद्ध आवाज उठाउनुपर्छ।

प्रकाशित: २४ मंसिर २०७५ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App