१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

काव्यिक यात्रामा नेपाल–भारत

काठमाडौं - राजनीतिक सम्बन्ध मात्र नभई साहित्यिक सम्बन्धलाई पनि प्रगाढ बनाउन यतिबेला भारतीय साहित्यकारको जम्बो टोली नेपाल आइपुगेको छ। गत शनिबार साँझ नेपाली साहित्यकर्मीसँग भेटेलगत्तै भारतीय टोली नेपाली साहित्यकर्मीसँग काव्यिक यात्रामा निस्किएको छ। डा. रामचन्द्र रायको नेतृत्वमा ४० भारतीय कवि कवियत्रीको टोली नेपाल आएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपालबाट प्रकाशित हुँदै आएको हिमालिनी पत्रिकाले आयोजना गरेको ‘नेपाल–भारत काव्य सन्ध्या’मा नेपाल–भारतका कविहरूले विविध कविता वाचन गरे। दुवै देशका २० कविले पालैपालो कविताबाट फरक रस सुनाए। प्रेम, सम्बन्ध, सामाजिक समस्या, लोक संस्कृति र साहित्यका नौ रसमा बगेको काव्यिक सन्ध्या हेर्नलायक थियो। भारतकी कवि बिना बुद्धिकीले आफ्नो गृहथलो कास्मिरको पीडा कवितामा प्रस्तुत गरिन्। उनले कवितामार्फत भारत र पाकिस्तानले आफ्नो पहुँचमा राख्नका लागि कास्मिरमा बारम्बार बम, बारुद र बन्दुक बर्साउने गरेपछि स्थानीयको जीवन दयनीय बन्दै गएको उल्लेख गरेकी थिइन्। ‘मेरा घर कहिँ खो गया हे’ शीर्षकको कवितामा उनले बिहान सग्लो घर कतिबेला खरानी बनेर हराउँछ थाहा नहुने अथ्र्याएकी थिइन। बिहे गरेर गएकी छोरीले माइत फर्केर आउँदा आफूले खेलेको आँगन, पुतलीको जोडी, चोक, गाईगोठ, मन्दिरमा समेत कंकाल र खरानी भेट्दा भोगेको असह्य चोटलाई कवितामा उतारेकी थिइन्।

उनी लगत्तै नेपाली कवि किशोर पहाडीले ‘श्रीमतीजी को अस्वस्थतामा’ शीर्षक कवितामार्फत श्रीमतीलाई सम्झे। पहाडीले सँधै श्रीमतीले पकाएको खाएर हिँड्ने प्रवृत्ति भएको नेपाली र भारतीय समाजमा श्रीमती बिरामी हुँदा श्रीमानले कसरी खाना पकाउँछन् भन्ने भावलाई कवितामा पोखेका थिए। उनले कवितामार्फत ‘नुन लाग्या छैन भन्न सजिलो छ। तर मायासहितको स्वादिलो खाना बनाउन कठिन रहेको पुरुषहरूले स्विकार्नैपर्ने’ बताएका थिए।

मलयालम कवि डा.अच्युदानन्दले कविता सुनाउनु अघि स्थानीय लोकभाकाको स्वाद चखाए। लोकभापछि त्यसपछि उनले प्रेमिल भावको ‘प्रेमी हुँ मे’ कविता सुनाए। नेपालकी कवियत्री मोमिलाले ‘प्रेम, पीडा, प्यास र पानी’ शीर्षकको कवितामा महिलाको प्रेम आशक्तिको मुद्दा उठाइन्। सन्थालभाषी भारतीय कवि किरण कुमारीले सन्थाल लोकगीतमा नेपाली सुन्दरताको प्रशंसा गर्दै सन्थाल भाषामै कविता सुनाइन्।

कवि विधान आचार्य, विमला तुम्खेवा, बन्दना श्रीवास्तवलगायतका कविले नेपाल–भारतका समाज, संस्कृति र जीवनका भावलाई कवितामा सुनाएका थिए।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले राजनीतिक, आर्थिकमात्र नभई सांस्कृतिक, भाषिक र साहित्यीक रुपले सम्बन्ध बढाउन साहित्यकारको भूमिका महत्वपूर्ण रहेको बताए। ‘प्राज्ञिकस्तरबाट आपसी सम्बन्ध बढाउन प्रतिष्ठानले विविध गतिविधिलाई जोड दिएको छ। सद्भावपूर्ण काव्यिक सम्बन्धको पक्षमा नेपाली साहित्यफाँट सधैं सकारात्मक छ,’कुलपति उप्रेतीले भने।

भारतीय टोली प्रमुख रायले समान सामाजिक परिवेश रहेको नेपाल र भारतको सम्बन्ध सबै दृष्टिकोणले अटुट रहेको बताए। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयस्थित हिन्दी विभागकी पूर्व विभागीय प्रमुख स्वेता दिप्तीले साहित्यको भावको कुनै सीमा नहुने भएकाले पनि यसले आन्तरिक सम्बन्धलाई बढावा दिने बताइन्।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जगतप्रसाद उपाध्याय, हिमालिनी साहित्यिक पत्रिकाका प्रबन्ध निर्देशक सच्चिदानन्द मिश्रलगायतले नेपाल–भारतको साहित्यिक सम्बन्धको इतिहास र वर्तमानका बारेमा चर्चा गरेका थिए।

नेपाल भ्रमणमा भारतीय टोलीले यहाँको साहित्यिक गतिविधीसँग साक्षात्कार हुँदै प्रमुख धार्मिकस्थल घुम्ने योजना बनाएको छ। भारतको केदारनाथ हुँदै आएको टोलीले ‘साहित्यको विश्वव्यापीकरणमा अनुवादको भूमिका र आवश्यकता’ विषयक काव्यिक गोष्ठीमा पनि सहभागिता जनाएका थिए। भारतका विभिन्न प्रान्तका कवि टोलीमा सहभागी थिए।

प्रकाशित: ११ मंसिर २०७५ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App