६ वैशाख २०८१ बिहीबार
कला

बल्ल उड्यो पुष्पनको ‘पन्छी’

काठमाडौं - ‘पैसा होइन पासो छ परदेशमा
बोलाउँदै छन् आफन्तले स्वदेशमा
पन्छी फर्केर स्वदेश आऊ
शान्तिको गुँड सानो देशमै बनाऊ....’

एक महिनाअघि ‘नेपाल आइडल’को मञ्चमा प्रतिष्पर्धी अमित बरालले ‘पन्छी’ बोलको यो गीत गाउँदा उपस्थित अधिकांशका आँखा रसाएका थिए। निर्णायकको कुर्सीमा बसेकी इन्दिरा जोशी त ग्वाँग्वाँ रोएकी नै थिइन्। उनले आँखाभरी आँसु पार्दै गीतले विदेशमा रहेको आफ्नो कान्छो भाइलाई सम्झाएको बताएकी थिइन्।  

खासमा यो गीतले त्यतिबेला मञ्चमात्रै रुवाएको थिएन, रियालिटी सो हेरिरहेका दर्शक पनि रुवाएको थियो। सामाजिक सञ्जालभर अमितको प्रस्तुतिको चर्चा भएको थियो। तर त्योभन्दा पनि बढी चर्चा गीतका वास्तविक गायक पुष्पन प्रधानकोे भयो।

‘पन्छी’ गीत उनले आम नेपालीको प्रतिनिधित्व गरेर लेखेका थिएनन् । प्रिय गायकहरू राजु लामा, कर्ण दास, फिरोज स्याङ्देन धमाधम विदेश जान थालेपछि विदेशमा यताको जस्तो माया र सम्मान उता मिल्दैन होला, फर्केर आए हुन्थ्यो भन्ने सम्झेर गाएका थिए । 

उड्न त पुष्पनको ‘पन्छी’ पाँच वर्ष अघि नै उडेको थियो। तर विश्वभर फरफराउन सकेको थिएन। ठूलो संख्यामाझ पुग्न सकेको थिएन। जब नेपाल आइडलको स्टेजमा अमितले यो गीत गाए, पुष्पन एकाएक विश्वभर छाए। पुष्पन हरेकका मोबाइल, ल्यापटप र कम्प्युटरमा खोजिन थाले।

आफू चिनिने लक्ष्य बोकेर रियालिटी सो पुगेका एक प्रतिष्पर्धी अमितका कारण छायाँमा रहेका पुष्पन अहिले संसारभर नेपाली संगीतका पारखीको नजरमा परेका छन्। उनको घर भारतको पश्चिम बंगालस्थित डुवर्सको गाउँमा छ। तर उनमा नेपाली कला, भाषा र संस्कृतिप्रति अथाह प्रेम छ। भन्छन्, ‘जहाँ रहे पनि आखिर हुँ त म नेपाली।’

१९ वर्षदेखि नेपाली संगीतमा संघर्षरत पुष्पनलाई गाउँमा उनका स्वर मनपराउनेहरूले पहिल्यैदेखि सुझाउँथे– तिमी पनि रियालिटी सोमा भिड्न जाऊ, पपुलर हुन्छौँ। कतिले त उनलाई नेपाल आइडलमै भिड्न पनि सुझाएका थिए। तर उनले कहिल्यै मानेनन्।

बिहीबार उनी एकाएक नेपाल आइडलको स्टेजमा देखापरे। तर प्रतिष्पर्धीका रुपमा होइन, प्रतिष्पर्धीका आइडलका रुपमा। ‘पन्छी’ गाउने अमितसँगै उनी अमितकै आइडलका रुपमा स्टेजमा उत्रिए र गाए अर्को प्रिय गीत :

‘बाबुको जुँगो बन्धकी राखेको
आमाले गुन्यू चोलो साटेको
तिमीले त बिर्सेछौँ...’

सन्तानप्रति आमाबुबाको प्रेम झल्काउने र उनीहरू वृद्धवृद्धा भएपछि छोराछोरीले गर्ने व्यवहारलाई प्रहार गर्ने यो गीतले फेरि एकपल्ट मञ्च रुवायो। मञ्चमात्रै होइन संसारभरका दर्शकलाई भावुक बनायो।

‘अचम्म लागिरा’छ यो चर्चा देखेर,’ शनिबार काठमाडौं, अनामनगरिस्थत एक क्याफेमा गफिँदै पुष्पनले भने, ‘संसारभरबाट भ्याइनभ्याइ फोन र म्यासेज आइरहेको छ। तपाईको गीतले रुवायो भन्दै प्रतिक्रिया दिइरहेका छन्। म निःशब्द छु। त्यतिबेला मेरा गीतहरु किन चलेनन् भनेर दुःख लाग्थ्यो। सायद अहिले यसरी चल्नु लेखेको रैछ।’

रियालिटी सोमा प्रतिष्पर्धी बनेर नजाने संकल्प गरेका उनी अहिले प्रतिष्पर्धीको आइडल बनेर पुग्दा दंग छन्। अमित बराल आफ्नो जीवनमा विधाता बनेर आएको बताइरहेका छन्। तर धेरैले थाहा छैन, उनले गाएको ‘पन्छी’ गीत १२ वर्षअघि नै लेखिएको हो।

त्यतिबेला उनले यो गीत आम नेपालीको प्रतिनिधित्व गरेर लेखेका थिएनन्। उनका केही प्रिय गायकहरू राजु लामा, कर्ण दास, फिरोज स्याङ्देन धमाधम विदेश जान थालेपछि उनको मन भित्रभित्रै पोल्यो – ‘ला...अब हाम्ले यस्तो गीत सुन्न पाउँदैनौ होला। विदेशमा यताको जस्तो माया र सम्मान उता उहाँहरूलाई अब मिल्दैन होला।’

‘मलाई साधारण मान्छेको कथा त थाहा थिएन तर मैले असाध्यै प्रेम गरेका ति कलाकारको कथाले मलाई भित्रभित्रै पोलेको थियो,’ भावुक हुँदै पुष्पनले सम्झिए, ‘तर हामीसँग उहाँहरूलाई दिनलाई प्रेमबाहेक अरु के नै थियो र ! त्यसैले उनीहरुलाई स्वदेश फर्कन अनुरोध गर्दै मैले गाएँ– पन्छी फर्केर आऊ।’

विडम्बना उनले त्यतिबेला सिर्जना गरेको ‘पन्छी’ बल्ल विश्वभर उड्दैछ। लामो समयदेखि भुईँ टेकिरहेका पुष्पनलाई त्यही ‘पन्छी’ ले बल्ल संगीतको दुनियाँमा उडाउँदैछ। अनि दर्शकमाझ उनका गीतहरु फिजिदैछन्। अहिले पुष्पनलाई लाग्दैछ, ‘पन्छी त कलाकारको मात्रै होइन सारा नेपालीको कथाव्यथा रहेछ।’

पुष्पनको पढाउने चाहना

अहिले सर्वत्र पुष्पन र उनका गीतको चर्चा छ। देशविदेशबाट उनलाई स्टेज कार्यक्रमको प्रस्ताव बढ्दो छ। यि सब कुरामा पुष्पन खुशी छन् तर फुर्किएका छैनन्। अहिले उनलाई विदेशका स्टेज चढ्नुभन्दा बढी हतारो आफ्नो गाउँमा झर्नु छ। कारण– उनी मिस गरिरहेछन् आफ्ना ससाना विद्यार्थी। गाउँको प्राथमिक सरकारी विद्यालयमा उनी स्थायी शिक्षक हुन्। ‘म ति नानीहरूलाई खुब सम्झिरहेछु। तिनीहरूलाई भेट्न गाउँ हेर्न हतार भइरहेको छ। कम सहयोग गरेका छैनन् उनीहरूले मलाई ’उनले भावुक हुँदै सुनाए।  

काठमाडौं आउनुअघि उनले ति नानीहरूका लागि गितार र ढोलक बोकेर गाउँगाउँमा देउसी खेलेका रहेछन्। सुनाए, ‘यो चर्चा  मसँग सधैँ हुँदैन। तर मेरो गाउँ, ति नानी , आफन्त, साथी र यादहरू मसँग सधैँ रहिरहेनछन्।’

आफै सिक्दै, आफै गाउँदै

होस भएदेखि नै पुष्पन संगीतका पारखी थिए।  स्कुलमा पनि टेबल ठटाएर गीत गाउँथे। तर स्टेजमा भने चढ्न लजाउने। एकदिन स्कुलका साथीहरूले जर्बजस्ती घोक्राएर स्टेज चढाए र गाउन लगाए। ‘यसरी विस्तारै गल्ती गर्दैगर्दै यहाँसम्म आइपुगेँ,’ उनले बताए , ‘तर मैले कतै गएर संगीतका राग सिकेका छैन। मेरो मन नै मेरो गुरु हो। ’

पुष्पनका अधिकांश गीतहरू समाजको प्रतिबिम्बजस्तो लाग्छ। हरेक गीतमार्फत उनी केही न केही कथा भन्न खोजिरहेजस्तो लाग्छ। ‘पन्छी’ र ‘बाबुको जुँगो’ त उदाहरणमात्रै हुन्। उनका मुटु छुने अरु गीतहरू पनि छन् जहाँ देश र समाजको चिन्ता पाइन्छ, विकृति विसगंतिमाथि व्यंग्य र प्रहार पाइन्छ।  ‘ठूल्दाजु’, ‘ए सरकार’, ‘तुइन’, ‘डम्पिङ ग्राउन्ड’, ‘पूर्व गए पूवै’ आदि उदाहरण हुन्।

केही अपवादबाहेक बजारमा अहिले जस्ता गायक र गीतहरु चलिरहेका छन् , पुष्पन ठिक त्यसको उल्टो हिडिरहेजस्तो लाग्छ। त्यही कारण उनी १९ वर्षपछि बल्ल दर्शक÷श्रोतामाझ चिनिँदैछन्। ‘मलाई पनि बजार अनुसार चल्न मन नलागेको होइन तर गर्दाखरी शान्ती भएन। ‘समर लभ’ फिल्ममा मैले गीत गाएको छु तर त्यो कमर्सियल हो। फिल्मको म्युजिकमा आर्दश कमै हुन्छ। कमर्सियल भएपनि स्ट्यान्डर्ड मेन्टेन गर्न खोजेको छु।’

‘ठूल्दाजु’को आशा 

यतिबेला आफ्ना पुराना दुई गीतले चर्चा पाइरहेका बेला पुष्पनलाई अर्को पूरानो गीतबाट पनि आशा छ– ‘ठूल्दाजु’ । वाणी ब्यान्डका भोकलिष्ट समेत रहेका उनी भन्दै थिए, ‘अब दर्शकले सुन्नुपर्ने अर्को गीत हो यो । हामी खासमा पुँजिपतिले, घुस खानेहरुले, ठग्नेहरुले देश बनाएको हुन्छ भन्ने ठान्छौ तर यथार्थमा जो इमानले बाचेको हुन्छ, जसले ठग्न जानेको हुँदैन , जसले छक्कापञ्जा गर्न जान्दैन उसैले देश बनाएको हुन्छ । गीतले यही भाव बोल्न खोजेको छ ।’ 
देशमा इमान हराइरहेका बेला समाजलाई ‘ठूल्दाजु’ भनेर सम्बोधन गरिएको यो गीतले फेरि इमानकै खोजी गरेजस्तो लाग्छ : 

‘आठ बजे जान्छ, पाँच बजे फर्किन्छ
रिस उठे आफैसित झर्किन्छ
चिसोपानी पिउँछ, जुस खाँदैन
भातरोटी खान्छ, घुस खाँदैन
कसरी भन्नु ठूल्दाजु
उसले देश बनाउँदैन ?... ’ 

००००

प्रकाशित: १० मंसिर २०७५ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App