बनेपा - काठमाडौं उपत्यकापछि नेवारी समुदायको बाहुल्य रहेको प्राचीन सहरका रुपमा पनौतीलाई चिनिन्छ। पनौती एउटै ढुंगामा बसेको सहरका रुपमा पनि उत्तिकै परिचित छ। प्रत्येक १२ वर्षमा मकर मेला लाग्ने मध्यकालीन वास्तुकलाले भरिएको एवं विश्व सम्पदा सूचीमा प्रस्तावित सहर पनौती पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको रोजाईमा पर्दै आएको छ।
पनौती सहरलाई दुईतिरबाट घेरेर बगेका रोशी र पुण्यमाता खोलामा बगेका पानी झैं सहरमा पनि धेरै परिवर्तनहरू आएका छन्। पाका मानिसहरू ‘आजको पनौती हिजोजस्तो पटक्कै छैन’ भन्ने गर्छन्। बुढापाकाको भनाईले हिजोको पनौती कस्तो थियो भन्नेमा सबैको चासो छ।
यही जिज्ञासा र चासो मेटाउन पनौतीका फोटोग्राफर प्रशान्त श्रेष्ठले तिहारको समयमा तीन दिने फोटो प्रदर्शनीको संयोजन गरेका छन्। फोटोग्राफीलाई नै मूल कर्म बनाएर दुई दशक बिताएका उनीसँग त्यसअघिका फोटोहरू त थिएनन् नै।
‘सन् १९७० को दशकमा पनौती आएर यहाँको मध्यकालीन वास्तुकलाको अध्ययनमा लामो समय बिताएका फ्रान्सेली मानवशास्त्री जेरार्ड टफिन, फ्रान्सकै मूर्तिकार भिन्सेन्ट बेरे र आर्किटेक्ट प्याट्रिक बर्गर र लरेन्स फेभिले त्यसबखत खिचेका फोटोहरू मगाएँ। उहाँहरूको फोटोहरूले त्यसबेलाको पनौतीको वास्तविक चित्रण गरेको छ’, श्रेष्ठले भने।
फ्रान्सेलीबाट फोटो उपलब्ध भएसँगै उनले नेपालका पुराना फोटाग्राफरहरूसँग रहेका पुराना फोटोहरू संग्रह गर्न थाले। ५० भन्दा बढी फोटोहरू संकलन भएलगत्तै पनौतीलाई चिनाउने काममा ३४ वर्षदेखि क्रियाशील पीक्यू राम समूहसँग मिलेर श्रेष्ठले ‘पनौतीमा परिवर्तन’ विषयक फोटो प्रदर्शनी आयोजना गरेका हुन्।
नेपालका लागि फ्रान्सेली राजदूत फ्रंसोआ जाविये लेजे र पनौतीका नगर प्रमुख भीम न्यौपानेले संयुक्त रुपमा फोटो प्रदर्शनीको शुभारम्भ गरे। ‘राजदूत भएर आउनु अघि नै फ्रान्स सरकारको सहयोगमा पनौतीका मठमन्दिरको जीर्णोद्वार भएको र पनौती सहरलाई पुरानै शैलीमा विकास गरिएको जानकारी पाइसकेको थिएँ। यसबाट मलाई पनौती आउन प्रेरित गरेको हो। आगामी दिनमा के–कसरी पनौतीलाई सहयोग गर्न सकिन्छ भन्ने बारेमा सल्लाह गर्न सकिन्छ’, लेजेले भने।
उपत्यका नजिकैको प्राचीन सहर भएकाले विगतदेखि नै आन्तरिक तथा बाह्य पर्यटकहरू बाह«ै महिना पनौतीको भ्रमणमा आउने तथ्य उल्लेख गर्दै नगर प्रमुख न्यौपानेले स्थायी रुपमै फोटोलगायत अन्य प्रदर्शनीको व्यवस्था गरेर पनौतीको प्रवद्र्धन गर्ने बताए। ‘पनौतीमा रहेका मध्यकालीन वास्तुकलालाई अझै प्रचारप्रसारको खाँचो छ। यी कलाहरूको प्रवद्र्धनका लागि स्थायी प्रदर्शनस्थलको व्यवस्थासहित संरक्षण तथा संवद्र्धनमा नयाँ पुस्तालाई सहभागी गराउने नगरपालिकाको योजना रहेको छ’, उनले भने।
प्रदर्शनीमा फ्रान्सेली मानवशास्त्री जेरार्ड टफिन, फ्रान्सकै मूर्तिकार भिन्सेन्ट बेरे, आर्किटेक्ट प्याट्रिक बर्गर र लरेन्स फेभिलेले ७० को दशकमा खिचेका फोटोहरू रहेका छन्। यस्तै, आर्टिस्ट र हुलाक टिकट डिजाइनर केके कर्माचार्य, वरिष्ठ फोटोग्राफर मणि लामा र बर्ड वाचर सुदर्शन कार्कीका फोटोहरू पनि प्रदर्शित छन्। यिनै सर्जकहरूबाट तयार ४० देखि ५० वर्ष अघिका फोटो तथा हालैका फोटोहरूमा समेत स्थानीयले अभिरुचिपूर्वक अवलोकन गरेका थिए। ‘उहिलेको पोखरा’ फोटो म्यूजियमका संस्थापक सुनिल उलक प्रदर्शनीमा सहभागी हुनका लागि पनौती आइपुगेका थिए।
सन् १९९६ मै सरकारले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)समक्ष पनौतीको मध्यकालीन वास्तुकला क्षेत्रलाई विश्व सम्पदामा सूचीकरणका लागि प्रस्तावित गरेको हो। तर सम्पदाक्षेत्रमा रहेका ७२ वटा जोखिमयुक्त घरहरूका कारण अझैसम्म सूचीकृत हुन सकेको छैन। स्थानीयहरू नै पनौतीको संरक्षणमा उदासीन देखिन थालेपछि भक्तपुरका सम्पदा संरक्षणकर्मी रविन्द्र पुरी पनौतीलाई परम्परागत शैलीका घरहरू मात्रै भएको सहर बनाउने २० वर्षे अभियान (मिसन पनौती)मा जुटेका छन्। उनले तीनवटा घरहरू किनेर त्यसलाई परम्परागत स्वरुपमै पुनर्निर्माण गरेका छन्। तीनवटा घरलाई परम्परागत स्वरुपमै पुनर्निर्माण गर्न समुदायलाई मद्दत गरेका छन्।
परम्परागत नेपाली संस्कृति र पहिचान झल्कने घरहरूको संरक्षण र प्रवद्र्धन गर्न रविन्द्र पुरी फाउन्डेसनले जर्मनी र बेल्जियमका संस्थाहरूको सहयोगमा पनौतीमै नेपाल भोकेस्नल एकेडेमीको निर्माण गरी परम्परागत शैलीका घर निर्माणका लागि आवश्यक काष्ठकला, धातुकला र लौहकलामा स्थानीय युवाहरूलाई ज्ञान र सीप प्रदान गर्दै आएको छ।
प्रकाशित: २५ कार्तिक २०७५ ०५:३३ आइतबार