२० श्रावण २०७७ मंगलबार
कला

गीतले फेरिरि दर्शक नचाउँदै महेश

काठमाडौं – असारे महिना सिमसिमे पानी परिरहेकै छ नि
तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी
हावा चल्यो सिरिरी आँतै जिरिरी
म बजाउँछु मुरली तिरिरि तिमी नाच फिरिरी

असार–साउनको महिनामा सिन्धुली घरको झ्यालमा बसेर यो गीत लेखिरहँदा गीतका संगीतकार तथा गायक महेश काफ्लेले गीत श्रोता र दर्शकको मुखमा झुण्डिएला भन्ने सोचेका थिएनन् । गीतको बीचमा गायिका मेलिना राईले गाएको ‘आँखा ती दुई आँखा तिम्रै लागि हो मेरो यो भाका’ महिला सेलिब्रिटीले ‘म्युजिकल्ली’मा प्रयोग गर्छन् भन्ने पनि महेशलाई हेक्का थिएन् । तर भइदियो , यस्तै नसोचेको । गीत गाउने रहर मार्न नसकेर गायक बनेका महेश अहिले ‘हिट’ भएका छन्। 

‘अचम्मै तरिकाले गीत चल्यो । असारको बेला घरको झ्यालबाट बाहिर पानी परिरहेको हेर्दै यो गीत लेखेको थिएँ,’हालैको भेटमा नागरिकसँग महेशले भने ,‘गीत यति धेरै चल्छ भन्ने लागेको थिएन । तर नसोचको भयो।’

महेशले यो गीत साढे दुई वर्ष अघि नै तयार पारेका थिए । त्यो समयमा नै साथीहरूले गीत रेकर्ड गराउन दिएको सुझाव मान्दै उनले रेकर्ड पनि गराएका थिए तर बिना भिडियो गीतको खास बजार थिएन ।  ,‘अहिलेको समयमा गीतको सारथीका रुपमा भिडियो नभइ हुन्न । यतिबेला भिडियो गर्ने मौका जुरेपछि बल्लगीतले बजार देख्न पाएको हो’ महेशले भने। 

यो गीत लेख्दाताका नै २३ वर्षे महेशलाई यसको भिडियोमा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्कालाई अभिनय गराउने ठूलो इच्छा थियो । त्यो पनि पत्रकार साथी आकाश खड्को सहयोगले पूरा भयो । आकाशले महेशको गीत आशिफ शाहको कानसम्म मात्र पुर्याइदिएनन्, निश्चल स्वस्तिमा खेलाउने महेशको रहर पनि बताइदिए । पछि आसिफले निश्चल र स्वस्तिमालाई एउटै भिडियोमा अभिनय गर्न राजी गराए। 

नेपाली संगीतका लागि महेश नवगायक होइनन् । घरमा बुवा भोजराज काफ्ले र दाजु दिनेश काफ्ले पनि गायक भएकाले उनलाई गायन क्षेत्रमा आउन ठूलो उमेर कुर्नुपरेन । उनले बाल्यवस्थामा नै ‘सानीमा मारिदेऊ बरु’, ‘सौताको छोरो’, ‘जुवातास’जस्ता चलेका गीतसहित झण्डै आठ वटा गीत गाए । बालगायकका रुपमा गीत गाइरहँदा महेशले बीचको समयावधिमा ‘ग्याप’ लिए । ‘बीचको समयावधिमा मेरो स्वरमा परिपक्कता आउन थाल्यो । अलिक उपयुक्र्त समयमा मात्र गीत गाउन सक्षम हुन्छु भन्ने लागेपछि म गायन छोडेर कम्पोजिसनमा लागें ’ उनले भने । महेशले फिल्म ‘धर्तीपूत्र’मा बाल कलाकारका रुपमा अभिनयसमेत गरेका छन्।

उनका दाजु दिनेशले गाएको ‘आमा रातो किन नलाएको’को गीत एकताका सर्वाधिक चलेको गीत थियो । दाजुको गीतले बजार तताइरहँदा उनी ६ वर्षका थिए । त्यो समयमा उनलाई यो गीत बजेको केही हल्कामात्र सम्झना छ । दिनेशले अहिले आफ्नै प्रोडक्सन हाउस खोलेर बसेका छन्। 

दाजु दिनेशलाई बुवा भोजराजले घरमै संगीत र गायनका सिकाउँदा महेश पनि दाजुकै छेउमा बसेर सुनिरहन्थे । त्यो सुनाइले पनि उनलाई संगीत क्षेत्रमा लाग्ने शक्ति दियो । बुवाले महेशको गायनमा चासो नदेखाए पनि उनकी आमाले भने महेशको गायकीलाई बुझेकी थिइन्।

‘असारे महिना’ गीत बजारमा चलेपछि उनलाई स्वदेशदेखि विदेशका विभिन्न कार्यक्रमका लागि अफर आइरहेका छन् । ‘केही ठाउँमा कुराहरु भइरहेका छन् । तर फाइनल हुन बाँकी छ,’महेशले हाँस्दै भने,‘यो गीतले गर्दा मेरो व्यस्तता चाहिँ बढ्ला जस्तो भइसक्यो ।’ गायनका अलावा महेशसँग पत्रकारिताको पनि अनुभव छ । उनी केही समय अघिसम्म इमेज च्यानलमा खेल पत्रकारका रुपमा पनि कार्यरत थिए। 

नेपाल कमर्स क्याम्पस मिनभवनबाट व्यवस्थापनमा स्नातक गरेका महेश अब स्नातकोत्तरको तयारीमा छन् । पढाई भन्दा फरक विधामा हात हालेका महेश संगीतबाट सन्तुष्ट छन् । ‘अन्य पेशा व्यवसाय छोडौंला । संगीत चाहिँ छोड्दिन,’संवाद बिट मार्दै महेशले भने ,‘मेरो शत प्रतिशत सपना संगीत नै हो । म सधैंभरी गीत लेख्न, संगीत भर्न र गीतमा स्वर भर्न चाहन्छु । किनिक मेरो जीवन नै संगीत हो।’

 

प्रकाशित: १७ आश्विन २०७५ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App